प्रहरीले जेठ २ मा सप्तरीको पटेरवा–१ स्थित दिहुल खोला किनारबाट आरुल मियाँ र पाण्डव पासवानको टाउको र हात काटी हत्या गरेर गाडिएको अवस्थाको शव बरामद गर्यो । आरुलका दाइ कलामुदिनको जाहेरीअनुसार प्रहरीले ०६८ मंसिर ४ सकिललाई पक्राउ गर्योक र सरकारी वकिल कार्यालयमा अभियोजनपत्र (मिसिल) पेस गर्यो । केही दिन थुना बसेका सकिल ०६९ जेठ २ मा तारेखमा छुटे।
जिल्ला अदालतको ०६९ चैतको आदेशअनुसार 'प्रहरी अनुसन्धान मिसिलमा जुटाइएका कागजातको आसय बाझिएको' फाइदा सकिललाई पुग्यो। उनले सफाइ पाए। प्रहरीले बरामद गरेको कंकाल आरुल मियाँको हो भन्ने प्रमाणित नभएकाले उनको मृत्यु पुष्टि नभएको अदालतको आदेशपत्रमा उल्लेख छ।
शंृखलाबद्ध हत्या अनुसन्धान क्रममा आठ वर्षअघिको आरुल हत्याकाण्डका मुख्य अभियुक्त सकिलले तत्कालीन प्रहरीको फितलो अनुसन्धान र कमजोर मिसिलका कारण उन्मुक्ति पाएको सप्तरी प्रहरीले ठहर गरेको छ। 'सफल अनुसन्धान गरी मिसिल तयार पारिएको भए सकिलमा सिरियल किलर बन्ने आँट पलाउँदैनथ्यो,' डिएसपी नारायण चिमरियाले भने। प्रहरीले त्यतिबेर आरुल हत्याकाण्डमा तयार पारेको मिसिल अध्ययन गरेका इन्स्पेक्टर लालध्वज सुवेदीले त्यस घटनामा सफल अनुसन्धान गरी मिसिल पेस भएको नदेखिएको बताए। शव सनाखत नगराएको देखिएको उनको भनाइ छ। 'शव पहिचान गर्न अप्ठयारो भए डिएनए परीक्षण गराइनुपर्थ्यो तर त्यसो गरेको देखिएन,' उनले भने। त्यतिबेला आरुलको शव पोस्टमार्टमसमेत नगराएको र शव सडेगलेको मिसिलमा उल्लेख भएको उनले बताए।
सकिलले तारेखमा छुटेको चार महिना (असोज १० मा) सप्तरी पटेर्वा–१ का ससुरा–बुहारी सहबुद मियाँ (४८) र सगिरा खातनु (२७)को हत्या गरेको प्रहरीले जनाएको छ। सकिल थुनामा रहेका बेला सहबुदका छोरा मोहम्मद आलम पनि थुनामा थिए। सकिल छुट्न लागेको थाहा पाएपछि आलमले उनलाई भनेका थिए, 'मेरा लागि पनि प्रयास गरिदिनुहोला।' सप्तरी कनचिराका सहदेव साहको हत्या अभियोगमा थुनामा परेका आलमको भनाइअनुसार सकिलले सहबुद र आलमपत्नी सगिरालाई उनलाई छुटाउन रकम खर्चन भने। दुवैले सकिललाई नाइँ भन्न सकेनन्। सकिलले भनेअनुसार चार लाख रुपैयाँ दिन उनीहरु राजी भए र दिए पनि।
रकम दिए पनि आलम नछुटेपछि सकिलमाथि सहबुद र सगिराको दबाब बढ्यो। सकिलले दुवैलाई 'मुद्दा मिलाउन काठमाडौं जानुपर्छ' भनेर ०६९ असोज १० मा कुसहा चोक बोलाए। दुवैलाई लिएर सकिल कल्याणपुर– ८ स्थित आफ्नो कुखुरा फार्म आए। सहयोगीसमेतको संलग्नतामा ससुरा–बुहारीको हत्या त्यहीं गरियो। हत्यापछि सकिल केही दिन फरार भएर असोज १७ मा कुसहा चोकमा देखिए।
उनीसँगै काठमाडौं गएका सहबुद र सगिरालाई खोज्न कोइली खातुनले कडरबोना प्रहरीमा निवेदन दिइन्। प्रहरीले सकिललाई बोलाएर सोधपुछ गरेर छाडिदिए। निवेदनमा सुनवाइ नभएपछि कोइलीले ०६९ कात्तिक ३० मा सकिललाई विपक्षी बनाइ अपहरण तथा शरीर बन्धक मुद्दा कल्याणपुर प्रहरीमा दर्ता गराइन्। ०६९ मंसिर १० मा प्रहरीले सकिललाई पक्राउ गरी जिल्ला प्रहरीमा पठायो। अनुसन्धानक्रममा प्रहरीलाई सप्तरी जन्डौल–८ कि दुलारीदेवी साहको निवेदनले अन्योलमा पार्यो । त्यसमा लेखिएको थियो, '०६९ कात्तिक ७ मा सगिरा र सहबुद मेरो घरमा भाडामा बसेका बेला नगद र धनमाल चोरी गरी भागे।'
कल्याणपुुर प्रहरीले बुझाएकै दिन सकिललाई जिल्ला प्रहरीले भने छाडिदियो। दुलारीलाई सकिलले नै चोरीको गलत निवेदन हालेर मुद्दा मोड्न सिकाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यो निवेदनको आडमा सकिल सहबुद र सगिरा अपहरण तथा हत्या प्रकरणबाट सजिलै उम्कन सफल भए। यो बेलासम्म सकिल चार हत्या गरी उम्कन सफल भइसकेका थिए। उनले फेरि ०७० चैत २ मा सप्तरी त्रिकौल–५ की अधिकारकर्मी निर्मलादेवी साह (३५) को हत्या गरे।
जेठाजुहरुसँगको अंशमुद्दा मिलाइदिने भन्दै उनले एक करोड नौ लाख रुपैयाँ ऋण लिएको कपाली तमसुक बनाउन निर्मलालाई सिकाए। आफूले २५ लाख रुपैयाँ पाउने गरी उनले यो जुक्ति सिकाएको प्रहरीले जनाएको छ। तमसुक गराएको केही दिनमै सकिलले निर्मलालाई सर्तबमोजिमको रकम दिन दबाब दिए। निर्मलाले आफूले पाएपछि मात्रै दिने बताएपछि सकिल निर्मलाको हत्या गरी उनका छोराबाट रकम असुल्ने योजना बुन्न थाले। निर्मलाका छोरा दीपकलाई लहान ल्याएर राखिदिए र ०७० चैत २ मा निर्मलाको हत्या गरे। इन्स्पेक्टर सुवेदीका अनुसार सकिलले यो हत्या पनि पैसाकै लोभमा गरेको खुलेको छ।
निर्मला हत्या अनुसन्धानक्रममा प्रहरीले सकिलसँग नजिकको व्यक्ति खोज्दा दुलारीदेवीको नाम आयो। प्रहरीले उनको खोजी गर्यो्। अनुसन्धानक्रममा प्रहरीलाई दुलारीको पनि हत्या भइसकेको नतिजा हात पर्योी। दुलारीको हत्या योजनाकार पनि उनै सकिल भएको पाएपछि प्रहरी स्तब्ध बन्यो। यो हत्या पनि रकमकै लोभमा भएको प्रहरीले पत्ता लगायो।
०७० पुसमा सकिलले सुनसरी इनर्वा–७ का सासु, ससुरा र पत्नीको एकै रात हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ससुरा सप्तरी जन्डौल–५ घर भई इनरुवा बस्ने इद्रिस खलिफा (नट) बिरामी थिए। उपचार गराउन भारत लानुपर्छ भनेर सकिलले पाँच लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए। त्यही रकम फुत्काउन तीनैजनाको हत्या गरेको प्रहरीले जनाएको छ। ससुराली पुगेपछि सकिलले पहिलो प्रहार पत्नीमाथि अनि ससुरा र सासुमाथि गरेका थिए।
यसरी खुल्यो 'सिरियर' किलरको पर्दा
निर्मला हत्या अनुसन्धानमा प्रहरीले तीन महिला र तीन पुरुषलाई नियन्त्रणमा लियो। पक्राउमध्ये सप्तरी सारश्वर– ४ का अल्लाउद्धिन मियाँको बयानबाट प्रहरीले नौ हत्याको शंृखला फेला पार्योक। नवै हत्याको 'मास्टर माइन्डर' सकिल हुसैन रहेको खुल्यो। घटनामा अल्लाउद्धिनले आफूसहित पाँच व्यक्ति संलग्न रहेको रहस्य खुलाए। अल्लाउद्धिनसँगै सप्तरी जन्डौल– ५ की हजरुन खातुन, सिरहा सोनमती ६ का मजबुल मियाँ, सप्तरी कञ्चनपुरकी समिना खातनु, १० नम्बर वडाकी नगिना खातुन र सप्तरी शम्भुनाथ– २ का नसरुल मियाँलाई प्रहरीले पक्राउ गरिसकेको छ।
सकिलको निकट मानिने भारत मधुवनी जिल्ला लौकाहा बगमरिया घर भई सप्तरी सारश्वर ७ बस्ने मोहम्मद मस्तकिम भनिने रइस मियाँ र सप्तरी पटेर्वा–५ का गुल्जार मियाँ फरार छन्। रइस सकिलसँगै रोजगारीका क्रममा कतारमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दुवैलाई इन्टरपोलमार्फत् पक्राउ प्रक्रिया सुरु भसकेको एसपी शिशिर कर्माचार्यले बताए। एसपी कर्माचार्य भन्छन्, 'पहिलो हत्या प्रकरणबाट सफाइ पाएपछि सकिलमा आपराधिक मनोबल उच्च भएको देखिन्छ।' कमजोर मिसिलको बलमा छुटेपछि उनी एक वर्षभित्रै सात जनाको हत्या गर्न सफल भएको उनको भनाइ छ।
सकिलको योजनामा विभिन्न समयमा सप्तरी र सुनसरीमा हत्या गरी गाडेका नौ जनामध्ये सातको मानव कंकाल बरामद भइसकेको कर्माचार्यले बताए। चारजनाको कंकाल सप्तरी र तीनजनाको सुनसरीमा भेटिएको छ।
प्रकाशित: १६ असार २०७२ २२:२६ बुधबार