'यो उनको अन्तिम विम्बल्डन हो। उत्कृष्ट खेलजीवनका लागि मैले उनलाई बधाई दिएँ,' जोकोभिचले भने, 'वर्षोदेखि उनी टेनिस वरिपरि छन्। उनी एकदम मिलनसार खेलाडी हुन्। कोर्टमा उनी जुझारु रूपमा प्रस्तुत हुन्छन्। उनीसँग खेल्न पाउनु मेरा लागि सम्मानको विषय हो।'
विम्बल्डनमा निमिनेनको अहिलेसम्मको उच्च प्रदर्शन भनेको सन् २००६ मा सेमिफाइनल पुग्नु हो। पहिलो चरणमा २००२ का च्याम्पियन लेट्टोन हेविटलाई हराउँदै उनले विम्बल्डन यात्रा टुंग्याएका छन्। खेलपछि बाहिरिनुअघि उनले कोर्टलाई चुमेका थिए भने दर्शकले उठेर उनको सम्मानमा ताली बजाए।
अस्ट्रेलियाका बेनार्ड टोमिक, बेल्जियमका डेविड गोफिन र फ्रान्सका रिचार्ड गास्क्विट पनि तेस्रो चरण पुगेका छन्।
महिलातर्फ मारिया सारापोभा तेस्रो चरण पुगेकी छन्। पूर्व विम्बल्डन च्याम्पियन सारापोभाले नेदरल्यान्ड्सकी रिचेल होगेनक्याम्पमाथि सहज जित पाइन्। चौथो वरीयताकी सारापोभाले १ सय २३ औं वरियताकी विपक्षीलाई ६–३, ६–१ को सोझो सेटमा हराइन्। सारापोभाले युक्रेनकी लिसेइ सुरेन्को वा रोमानियाकी २९ औं वरीयताकी इरिना कामिलिया बेगुको सामना गर्नेछिन्। डेब्यु प्रतियोगितामै होगेनक्याम्प धेरै अघि बढ्न सकिनन् । किनकि उनको भेट २००४ की विजेतासँग भयो। उक्त खेल हेर्न सारापोभाका प्रेमी ग्रिगोर दिमित्रोभसहित झन्डै ४ हजार दर्शक कोर्टमा उपस्थित थिए। ११औं वरीयताका बुल्गेरियन दिमित्रोभ अमेरिकी स्टिभ जोन्सनलाई कठिनसँग हराउँदै तेस्रो चरणमा पुगिसकेका छन्।
प्रकाशित: १६ असार २०७२ १९:५९ बुधबार