मनोरन्जनका माध्यम
भूकम्पले धरहरा भत्कियो। पाटन र वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा पनि क्षति भयो। फुर्सदको समयमा तन्नेरीहरू झुम्मिने यी ठाउँका एकाध सातासम्म उद्धारकर्मी र सञ्चारकर्मीबाहेक अरू देखिएनन्। तर अहिले यी ठाउँमा चहलपहल बढ्न थालेको छ। वैशाख १२ गते बिहान ११ः५६ अगाडिजस्तै न्युरोड र सुन्धारा क्षेत्रमा बिहान सबेरैदेखि बेलुकी अबेरैसम्म मानिसको चहलपहल देखिन्छ।
काठमाडौंको वसन्तपुर दरबार स्क्वायर होस् या ललितपुरको पाटन दरबार स्क्वायर वा भक्तपुरको भक्तपुर दरबार स्क्वायर। धेरैको भेटघाट गर्ने, धीत मरुन्जेल गफ गर्ने र हाँस्ने ठाउँ पुराना सांस्कृतिक सम्पदा परिसर नै हुन्। विशेष गरी बेलुकी र बिदाका दिन यी ठाउँमा तन्नेरीहरू जमघटमा रमाइरहेको देखिन्छ। भूकम्पपछि केही दिन सुनसान बनेका यी ठाउँले फेरि लय समातिसकेका छन्।
वसन्तपुरको सांस्कृतिक सम्पदा ध्वस्त भए पनि असनकी सुनेना श्रेष्ठ र कृष्टिना श्रेष्ठले साथीहरूसँगको जमघटलाई टुटाएका छैनन्। सेमरक्स स्कुलकी शिक्षिका सुनेना र नेपाल टेलिकमको ‘१९७ इन्क्वायरी'मा कार्यरत कृष्टिना भूकम्पको त्रासबाट प्रभावित भए पनि अहिले सामान्य जीवन बिताउन थालिसकेका छन्। बिहानदेखि साँझसम्म व्यस्त हुने यी दुवै फुर्सद मिलाएर साथीभाइको जमघटमा रमाउन थालिसकेका छन्। ‘रमाउन चाहने मान्छेलाई कतै केहीले रोकटोक गर्दैन। हामी मुभी हेर्न पनि जान थालिसक्यौं, बाँकी घुमघाम त छँदै छ,' भन्छन्, ‘अफिसको काम र पढाइबाहेक मन भुलाउने बाटो यिनै साथीसँगको जमघट नै हो।'
केही साता धेरैजसो यस्ता थलोहरू ठप्प हुन थालेपछि एकोहोरिएका मानिस अहिले भूकम्प र परकम्प बिर्सेर रमाउन थालेका छन्। काठमाडौं पेप्सीकोलाकी आस्था न्यौपानका लागि अफिसको काम र पढाइबाहेक केही समय रमाउने माध्यम साथीहरूसँगको जमघट नै हो। ‘सहरमा जीवन सामान्य हुँदै छ भन्ने सबैले महसुस गरिसकेको छन्,' भक्तपुर मल्टिपल क्याम्पसमा बिबिए अध्ययरत आस्था भन्छिन्, ‘त्यसैले पनि अहिलेको समय सबै दुःख भुलेर दिनचर्यालाई पहिलेजस्तै बनाउनु हो।'। भूकम्पको त्रास बिर्सेर आफ्नो जीवन कसरी सहज बिताउन सकिन्छ भनेर सोच्नुपर्ने उनीहरू बताउँछन्। ‘मुभी हेर्न थालिसकेँ, स्विमिङ गइरहेकी छु, सपिङ त छुट्ने कुरै भएन,' उनी हाँस्दै भन्छिन्।
भूकम्पपछिका केही साता उपत्यकाका सिनेमा हलको व्यापार लगभग ठप्पै भयो। भूकम्प गएको अघिल्लो दिन शुक्रबार रिलिज भएका फिल्मका निर्माताहरूलाई नोक्सानी पुग्यो। अहिले सिनेमा र नाटकघरहरूमा पनि मानिसको उपस्थिति पहिलाजस्तै हुन थालिसकेको छ। नयाँ फिल्म रिलिज हुनासाथ हाउसफुल हुन थालिसकेको छ। क्युएफएक्स, बिग सिनेमालगायत मल्टिप्लेक्स हलहरू सञ्चालनमा आइसकेका छन्।
भूकम्प गएको दिन क्युएफएक्स सिभिल मलमा रेशम फिलिली हेर्न पुगेका कोटेश्वरका प्रज्ज्वल बानियाँले फिल्म हेर्नै पाएनन्। केही सातापछि नै क्युएफएक्स कुमारीमा हिन्दी सिनेमा ‘दिल धडक्ने दो' हेर्न पुगे। ‘त्यति ठूलो भूकम्प जाँदा सातौं तल्लामा थिएँ, कुमारी त अझै भुइँतलामै छ र सुरक्षित पनि,' सिनेमा सौखिन बानियाँ भन्छन्, ‘सबै बिस्तारै सामान्य बन्दै गएपछि सधैं डराएर हुँदैन।' केही समयका लागि ब्रेक लागेको दिनचर्या फेरि उही गतिमा चल्न थालेको बताउँछन्, उनी।
पछिल्लो केही दिन मानिसहरूको आगमन कम भए पनि अहिले राम्रो उपस्थिति हुन थालेको क्युएफएक्स सिनेमाका अपरेसन म्यानेजर विनोद पौड्याल बताउँछन्। ‘नयाँ सिनेमा रिलिज भएको धेरै दिनपछि पनि दर्शकको उपस्थिति राम्रै भइरहेको छ,' क्युएफएक्स, जय नेपाल र कुमारी हलको व्यवस्थापन गरिरहेका उनी भन्छन्, ‘हलहरू छिट्टै सुचारु भए पनि मानिसको संख्या केही समयपछि मात्र पहिलेको जस्तै हुन थालेको छ।' अहिले ९९ प्रतिशत व्यापार ठिक ठाउँमा आइसकेको उनले बताए। ‘काठमाडौंवासीको मनोरन्जन गर्ने ठाउँ भनेकै सिनेमा, रेस्टुरेन्ट, थिएटरहरू नै हुन्, त्यसैले उनीहरू भूकम्पको पीडा मनोरन्जनका माध्यमबाट पूरा गर्दै छन्,' उनले भने।
साथी भेट्न वा कुनै अवसर मनाउन रेस्टुरेन्ट जान चाहनेहरू पनि केही समयपछि फेरि पुरानै जीवनशैलीमा फर्किसकेका छन्। सप्ताहन्तमा ठमेल, दरबारमार्ग लगायतका धेरै चहलपहल हुने ठाउँमा उनीहरूको उपस्थिति बाक्लिँदै गएको छ।
बिस्तारै भूकम्पअघि जस्तै मानिसहरू रेस्टुरेन्टमा जमघट गर्ने क्रम सुरु भएको बताउँछन्, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपालका अध्यक्ष प्रमोदकुमार जैसवाल। ‘मानिसको फ्लो भूकम्पअघिको तुलनामा घटे पनि अहिले रौनक फर्किएको छ,' उनी भन्छन्। भूकम्पको त्रास घट्दै गएकाले पहिलेकै संख्यामा चहलपहल हुनेमा विश्वस्त छन्, उनी। ‘आउने, खाने र जमघट गर्ने क्रम त बढिसक्यो,' उनले भने, ‘भित्रभन्दा पनि खुला ठाउँ भएको रेस्टुरेन्ट नै उनीहरूको प्राथमिकतामा परेको देखिन्छ।'
सिनेमा, रेस्टुरेन्टजस्तै फनपार्कहरूमा पनि चहलपहल बढ्दो छ। काठमाडौं फनपार्क भ्यालीमा अहिले पौडीको मजा लिनेहरू बढेको बताउँछन्, प्रबन्ध निर्देशक दिनेश गिरी। ‘मानिसहरूमा अहिले त्रासमा बाँच्नुभन्दा पनि सामान्य दिनचर्या बिताउनुपर्छ भन्ने महसुस भइसक्यो,' उनी भन्छन्। फनपार्क भ्यालीमा पौडीमा रमाउनेको संख्या शनिबार २५ सयसम्म पुग्ने गरेको छ भने अन्य दिनमा तीन सय हाराहारी हुन्छ। जेठको पहिलो सातादेखि सञ्चालनमा आएको फनपार्कमा पहिलो साता बालबालिकालाई निःशुल्क तथा अन्यलाई पाँच प्रतिशत छुट दिइएको थियो।
बजार र व्यवसाय
भूकम्पको कम्पनले पसलको र्या्कमा राखिएका सामान भुइँभरि छताछुल्ल भए। कति सामान फुटे, भाँचिए वा काम नलाग्ने भए। छिनछिनमै गइरहने परकम्पहरूले पसल खोलिहाल्ने आँट पसलेहरूमा आएन। भूकम्पको करिब एक सातासम्म यस्तै भइरहेपछि बिस्तारै परकम्पसँग व्यापारी र ग्राहक दुवै अभ्यस्त हुँदै गए। कम क्षति पुगेका वा सद्दे रहेका पसल खुल्न थाले। मानिसलाई खानेकुराको अभाव हुन पाएन।
खाद्यान्न पसलमात्र होइन गर्मी सुरु हुँदै गर्दा गएको भूकम्पले केही दिन बन्द भएका न्युरोड, असन, महाबौद्ध, सुन्धारा, मंगलबजार, कुमारीपाटी, बौद्धलगायतका क्षेत्रका पसल पनि खुल्न थालेका छन्। अहिले ती क्षेत्रमा ठेलमठेल भिड हुन थालिसकेको छ। मलहरूमा सपिङ गर्नेहरू, कफी शपमा बसेर गफगाफ गर्नेहरू तथा डिपार्टमेन्टल स्टोरमा बढेको भिडले भूकम्पको त्रास बिर्साइदिएको छ।
यातायात
भूकम्प गएको करिब एक सातासम्म राजधानीमा यातायातका साधन कम चले। यहाँका मुख्य सडक प्रभावित नभए पनि केही भित्री सडक सुनसान देखिन्थे। छिनछिनमा आइरहने परकम्प र त्यसले थप क्षति पुर्यानउने सक्ने त्रासले मानिसलाई यात्रा गर्न र सवारी साधन चलाउन थुरथुर बनायो। यहाँ सार्वजनिक सवारी चलाउने अधिकांश सवारी चालक भूकम्प प्रभावित क्षेत्रका भएकाले पनि ती सवारी कम चले।
दुई महिना बित्दै गर्दा काठमाडौं भित्रिने र बाहिरिने यातायातको चापमात्र होइन, राजधानीभित्रै पनि सवारीको चाप बढेको छ। बिहानदेखि बेलुकीसम्मै थापाथली, सिंहदरबार, नयाँ बानेश्वर, गौशाला, बल्खु, कालिमाटी, महाराजगन्ज लगायतका क्षेत्रमा हुने जामले काठमाडौंको दैनिकी फेरि सामान्य अवस्थामै फर्किएको देखाउँछ।
प्रकाशित: ११ असार २०७२ २३:०४ शुक्रबार