अन्य

सगरमाथामा अंचलमा आत्महत्या गर्ने बढे

लहान–'आँमा तपाईको पीडा अब म सह्न सक्दिन त्यसैले तपाईहरुलाई छाडेर धेरै टाढा जाँदै छु, मलाई माँफ गरिदिनुहोला। म गएपछि भाईबहिनी र तपाई आफ्नो ख्याल राम्ररी राख्नु होला।' बधबार बिहान लहान ८ मा सलले घाँटीमा पासो लगाई आत्महत्या गरेकी पार्वती चौधरी(२३) ले लेखेको सुसाईड नोटको हरफ हो यो।बहिनी रजिता चौधरीसंगै सुतेकी पार्वती घरको छानोमा सलले पासो लगाई आत्महत्या गरको सूचना पाएर घटनास्थल पुगेको लहान प्रहरीले पार्वती सुतेको ओच्छ्यानबाट आधी पेजको सुसाइड नोट भेट्टाए।'बुवाको कारणले आमाले भोगिरहेको पीडाबाट पार्वती मानसिक रुपमा कमजोर भैसकेकी थिइन', इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदी सुसाइड नोटको प्ररम्भिक अनुसन्धान उद्धृत गर्दै भने,'कमजोर आत्मबलका कारण उनले आत्महत्या गरेको हुनुपर्छ।'

पार्वतीका बुवा सितारामले पत्नी (पार्वतीकी आमा)लाई दिने पीडाले उनी तनावमा रह्ने गरेको पारिवारिक स्रोतले बतायो। तीन दिनदेखि बुवा सिताराम घरमा थिएन।घरायसी तनाव, बैदेशिक रोजगार, घरेलु हिंसा र प्रेम सम्बन्धका कारण यस क्षेत्रमा आत्महत्या गर्नेको संख्या डरलाग्दो रुपमा बढ्दै गएको तथ्याँकले देखाउँछ। यो आर्थिक वर्षको असार ९ सम्म लहान क्षेत्रमा मात्र आत्महत्या गर्नेको संख्या ३१ रहेको लहान प्रहरीको तथ्यांक छ। जसमा १० पुरुष र २१ महिलाको संख्या छ।

प्रेम सम्बन्धलाई घर परिवारले स्वीकृति नदिँदा, पुरुष वैदेशिक रोजगारमा गएपछि महिलामाथि लगाइने चारित्रिक आरोप र यसका कारण परिवार र समाजबाट बहिस्कृत हुनुपर्दाको पीडा खेप्न नसकी आत्महत्या गर्ने महिलाको संख्या बढीरहेको प्रहरी अनुसन्धानले देखाएको छ।

ओशो माधुर्य ध्यान केन्द्र लहानका संचालक स्वामी ज्ञान साहिलका अनुसार समाजमा प्रेम हराउँदै गएको र घृणा बढ्दै गएपछि मानिसको अत्मबल कमजोर हुँदै गएको छ। आत्मबल कमजोर हुँदाको अवस्थामा मानिस आफैले आफैलाई मार्ने सम्मको अवस्था समाजमा बढ्दै गएको उनी बताउँछन्।धन आर्जन गर्ने होडमा परिवारसंगको सम्वन्धमा दुरी बढेको छ, प्रेमको स्थान घृणा र शंकाले लिएको छ ज्ञानशाहिल भन्छन्, 'शंका र घृणा घटाउने तर्फ मनलाई एकतृत गर्न नसके समाजलाई आत्महत्याको दलदलबाट उकास्न मुस्किल हुन्छ।'

जिल्लाभर यो आर्थिक वर्षको अहिले सम्ममा ६९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए। जसमा ३८ महिला र ३१ पुरुष छन्।०७०/०७१ मा सिरहामा ८६ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। जसमा ५२ जना महिला र ३४ जना पुरुष छन्।

उदयपुर जिल्लामा पनि यो वर्ष आत्महत्या गर्नेको तथ्यांक डरलाग्दो गरी बढेको छ। यो आर्थिक वर्षको हालसम्म ५७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी जयराज सापकोटाले जानकारी दिए। जसमा विष सेवन गरि १० जना र झुन्डिएर ४७ जनाले आत्महत्या गरेको उनले बताए। यसमा महिलाको संख्या ७५ प्रतिशत रहेको सापकोटाले बताए।

उदयपुर जिल्लामा ०६९/०७० मा १८ जना र ०७०/०७१ मा १२ जनाले आत्महत्या गरेका थिए। यो वर्ष यो तथ्यांक ह्वातै बढेको छ।सप्तरीमा आर्थिक वर्ष ७०/०७१ मा २५ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। जसमा १५ जना महिला र १० जना पुरुष छन्। यो वर्ष अहिलेसम्म ३७ जनाले आत्महत्या गरेका छन्। जसमा २६ जना महिला र ११ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रही निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।तीनवटै जिल्लाको आत्महत्या तथ्यांकले महिलाको संख्या बढी रहेको पाइन्छ।

प्रकाशित: ९ असार २०७२ ०४:४२ बुधबार