३–३ जनाको समूहमा रहेका उनीहरुको समूहबाट गोली लोड भएको अमेरिकी र इटालियन पेस्तोल फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।
खनालका अनुसार कलंकीबाट बेगबहादुर तामाङ, सुनील तामाङ र सम्राट राई तथा काठमाडौं र धादिङको सीमा चन्द्रागिरीको झ्याप्ले खोलामा सन्देश तामाङ, काजी श्रेष्ठ र प्रेम गुरुङलाई पक्राउ गरेको हो।
कलंकीको टोलीबाट म्यागजिन सहितको पेस्तोल फेला परेको थियो। उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्नेक्रममा सुन लुट्ने योजनासहित चितवन हिँडेको र सघाउन धादिङबाट अर्को समूह आइरहेको खुलेपछि चन्द्रागिरीमा सन्देश सहितका ३ लाई जना पेस्तोल, म्यागनिज र ३ राउन्ड गोलीसहित पक्राउ गरिएको हो।
पक्राउ परेकाहरु यस अगाडि उपत्यकामा भएका आपराधिक घटनामा संलग्न रहेको र उनीहरुले अन्य आपराधिक समूहलाई आफ्नो पेस्तोल भाडामा समेत दिने गरेको खुलेको महाशाखाका डिएसपी रमेश थापाले बताए। अनुसन्धानमा उनीहरु टेन्डर कब्जा गर्ने, आफैँ पैसा लिएर हत्या, लुटपाट जस्ता आपराधिक घटना गराउने गरेको देखिएको थापाले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सन्देश तामाङ धादिङका धावा तामाङलाई मार्ने प्रयास गरेको अभियोग प्रमाणित भएसँगै १७ महिना जेल सजाय काटेर हालै कारागारमुक्त भएका थिए। उनीसँगै पक्राउ परेका सुनील तामाङ समेत विभिन्न अपराधमा बारम्बार पक्राउ पर्ने गरेका थिए।
उनीहरु पक्राउ परेलगत्तै प्रहरीले उनीहरु बस्ने डेरा कोठासमेत तलासी गरेको थियो। मनमैँजु, झोर, जमलमा रहेको उनीहरुको कोठा तलासी लिने क्रममा सम्राटको ज्याठामा रहेको कोठामा प्रहरीको चुस्ता फेला परेपछि प्रहरी झस्किएको थियो।
आधुनिक हतियार बोक्ने समूहको कोठामा प्रहरीको पोशाक फेला परेकाले उनीहरुले अपराधपछि जोगिन प्रहरीको पोशाक प्रयोग गर्ने गरेको महाशाखाका अधिकारीले आशंका गरेका छन्।
'पक्राउ परेकामध्ये एक जनाको कोठामा प्रहरीको चुस्ता फेला पर्यो ,' एसएसपी खनालले भने, 'अपराधमा वा अपराधपछि जोगिन उनीहरुले प्रहरी पोशाकको प्रयोग गरेको हुनसक्छ, यसबारे अनुसन्धान सुरु भइसकेको छ।'
हत्यामा फरार पक्राउ
एमालेका जिल्ला नेता शिव थापाको हत्यामा संलग्नता रहेको पुष्टिसँगै १५ वर्ष कैद सजाय तोकिएका नेकपा–माओवादीका जिल्ला नेता टेकबहादुर तामाङ पक्राउ परेका छन्।
धादिङको दार्खामा एमाले र माओवादी बीचको दुश्मनीका क्रममा एकअर्काको हत्या श्रृंखला नै चलेको थियो। २०६७ कात्तिक दशैंमा घर गएका बेला वाइसिएलको अपहरणमा परेका उनी पछि मृत अवस्थामा फेला परेका थिए।
प्रारम्भमा एकीकृत माओवादीले घटनामा आफ्ना नेता–कार्यकर्ताको संलग्नता अस्वीकार गरे पनि जिल्ला अदालत धादिङले थापालाई खुकुरी हानेर मारेको पुष्टि गर्दै तामाङलाई १५ वर्ष कैद सुुनाए पनि उनी २ वर्षदेखि फरार थिए।
एकीकृत माओवादी छाडेर नेकपा–माओवादीमा आबद्ध उनी काठमाडौंको ढल्कोमा बस्ने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार उनलाई डेराबाटै पक्राउ गरेको थियो।
प्रकाशित: ६ असार २०७२ १९:१३ आइतबार