अन्य

गौशालाको सार्वजनिकस्थल कुलतको थलो बन्दै

महोत्तरी-महोत्तरीको गौशालामा रहेका सार्वजनिक स्थलहरु आजकाल युवाको दुव्र्यसन स्थलका रुपमा परिणत भएका छन् । युवाले स्थानीयस्तरमा रहेको विद्यालय, चौर, पुल, खेलमैदान, मन्दिरलगायतका क्षेत्रलाई दुव्र्यसन स्थलका रुपमा प्रयोग गर्दै आइरहेका छन्।पछिल्लो समय १५ देखि ३५ वर्ष उमेर समूहका स्थानीय युवा गौशालाको मरहा पुल, त्रिभुवन उच्च माविको प्राङ्गण, विभिन्न मन्दिर क्षेत्रमा समूह बनाई गाँजा खानेको भीड लाग्ने गरेको पाइन्छ ।प्रत्येक दिन साँझ ७ देखि राति १० बजे तथा बिहान ४ देखि ७ बजेसम्म उक्त स्थानमा सो समूह बसेर खुलेआम गाँजा, भाङ, रक्सीलगायतका मादक पदार्थ सेवन गर्दै आएको त्रिभुवन उच्च माविका निवर्तमान अध्यक्ष शिवनाथ महतोले बताए ।

आफूभन्दा ठूलो उमेरका युवा यसरी प्रत्यक्ष रुपमा दुव्र्यसनीको सिकार बनेको देखेर सानो उमेरका केटाकेटीसमेत उनीहरुको सिको गर्दै आएको अध्यक्ष महतोले जानकारी दिए ।सार्वजनिक स्थलमा यसरी खुलेआम धुम्रपान, मद्यपान एवम् लागुऔषध जस्तो कुलतको सिकारमा फस्दै गए तापनि स्थानीय प्रशासन मौन हुनु रहस्यमय बन्दै गएको छ । गौशाला बजारको बीचमै रहेको इलाका प्रहरी कार्यालय गौशाला यसप्रति ठोस कदम नउठाउनुप्रति स्थानीय नागरिक समाज आपत्ति जनाएका छन् ।यस्ता जकडिएका समस्यालाई निराकरण गर्न स्थानीय सरोकारवाला तथा अभिभावक स्वयम् सचेत र सजग हुनुपर्ने अपरिहार्य देखिन्छ । रासस

प्रकाशित: २ असार २०७२ ०२:०० बुधबार