अंग–प्रत्यंग प्रत्यारोपण गरिन्छन्। जीवनदान अंग–प्रत्यंग दान। कविता भाव दान। कविता संचेतना दान। कविता भोगाइका अनुभूति दान। कन्यादान कविता। ऋतुदान कविता। कविता जीवन। जीवन कविता। कविता खेती। कविता ज्योति। कविता मुक्ति। कविता जीवन युक्ति। कविता कर्म कविले गर्छ। कविता मर्म कविका अन्तर्य पाठकले बुझ्छ। कविता त्यसैले वसन्त बहार। कविता त्यसैले गृष्मको राप। वसन्तमा पलाएका पालुवा पुष्ट हुन राप अनिवार्य। कविता वर्षाको मेघ मल्हार पनि। रापलाई पखालेर जरा निथु्रक्क भिजाउन वर्षा नभई हुन्न। लटरम्म फल फलाउन शरद चाहिएकै हुन्छ। बूढो पात झर्न हेमन्त लाग्नैपर्छ। दिगम्वर नंग्याउन बोट बिरुवालाई शिशिरै चाहिन्छ। शिशिरे नग्नता छोप्न वसन्त लाग्छ। यी सबै क्रमबद्धतामै जुटेका क्रमभंगी लीला नहुन्? सकार्नै मन लागिदिन्छ। सकार्छु। क्रमबद्धता र क्रमभंगीमा प्रकृतिसितका, प्रकृतिभित्रका नैसर्गिक र स्वनिर्मित अन्तर्य...!
अन्तर्राष्ट्रिय दिवस— चैत ७ गतेको दिन सम्झन्छु। तीन संस्था जुटेर गर्ने अभियान। तीन संस्थाका त्रिखुटी। भुइँमा टेक्दा त्रिकोण बन्छ। तीनै खुट्टामा एकएक धर्सा लगाए तीनकोणे त्रिकोण। तीनखुट्टे त्रिखुटीको उपल्लो घेरो कलशदानी। कलश थापना गर्ने रहर लहराइदिन्छ। मानिसका चेत संस्कार यस्तै! मानौं काव्यशिविर कलश स्थापना मुहूर्त!
कवि महेश पौडेलका लघु–आख्यान एक दैनिक अखबारमा पढेको थिएँ। अलिअलि कविताप्रतिका आत्ममन्थन। त्यो पनि चिन्तन, मन्थन, गन्थन। तीन शब्दलाई तीन दिशा उन्मुख फटाए त्रिकोण निर्माण हुन्छ। राष्ट्रकवि माधव घिमिरे त्यसलाई शक्तिकुण्ड भन्छन्। कोणैकोणका त्रिकोणमय भक्तपुरमा व्याख्या गर्दाको अनुभूति आनन्दसार जीवन दर्शन बन्छ, बन्यो पनि। कवितामा त्रिकोणभेदी दर्शन कला अनुरागभन्दा उपल्लो कला–दर्शन बन्छ। वशीभूत भइदिन्छु– कविता दिवस! आह!
दुरभाषामा अभि सुवेदी बोलेको सुनेँ— चलाउँदै गर्नुस्, हामी निष्ठाछेँबाट पाइला बढाउदै छौं। रविन्द्र पुरीका नमुनाघर, दत्तात्रय धाम, भक्तपुर— काव्यशिविर आँगन। अभि र बिन्दु सुवेदी प्रवेश गर्दागर्दै प्रकाश सायमीले दुवैको नाम उच्चारण गरेको कानले चाल पाएँ। पिँडीमा जिउ बिसाउँदा बिसाउँदै प्रकाशले कण्ठनाद बिसाए। केके उल्लेख गरे सुन्नै पाइएन। काव्यशिविर सञ्चालिका मतिना त्वाय्नावासु अस्सी वर्षे तन्नेरी तेजेश्वर बाबुलाई आफ्नो धारणासहित वाचनका निमित्त बोलाउँछिन्।
अन्तर्राष्ट्रिय कविता दिवस विश्वभर आ–आफ्नै तालमेलमा मनाउँदै गर्दाको दिन। दत्तात्रयस्थित सांस्कृतिक सम्पदा आगम घरको आँगन, हाम्रो काव्यशिविर संयोजन चोक। उपस्थित सबै कवि–कविताकारका हाम्रा रूपाकृति आ–आफ्नै। रूपाकृति उस्तै नभए पनि अन्तर्य उस्तैउस्तै। विश्वका सबै मानिसका मुटु एकै ठाउँमा छन्। आकारप्रकार पनि उस्तै। गति र चाल अनि तिनका एकै ढुकढुकी। शरीरका अन्तर्य सबैमा उस्तै। नसाका रगत उस्तै। रक्त समूह मिल्दा रक्तान्तरण हुन्छ। जीवन जोगाइन्छ— रक्तदान जीवनदान बन्छ।
काव्यशिविरका अभियन्ता कविवरहरू एकसेएक फरक रूपाकृतिमा छन्। निधार सबैका निधारै हुन्, छन्। कसैका खुल्ला, कसैका छोपिएका। छोपिएका कपालले निधार ढाकिएका हुन्छन्। आँखा सबैका आँखै हुन्। कसैका लाम्चे कमलपत्रे–मृगनयनी। आखाँको काम हेर्ने। हेर्छन् तिनले। देख्ने आँखा अर्कै तेस्रो आँखा। तेस्रो आँखा नाकैमाथि माथितिर निधारका अन्तर्यमा जडित रहेर अदृश्य रहन्छ। तेश्रो आँखा ब्रह्म–विवेकको अन्तर स्वरूप बन्छ। तेस्रो आँखा त्यसैले प्रतीक बन्छ; विवेक–ब्रह्म भनौं ब्रह्म–विवेकको। कवितामा प्रतीक र विम्बको प्रयोग प्राचुर्य रहन्छ। प्रतीक र विम्ब कविताका मर्मबोधी तŒव रहेका हुन्छन्। तिनले कविताका गर्भ स्थानको मर्मचक्षु उघारिदिन्छ, उघारिरहेका हुन्छन्। प्रतीक–विम्बका बोधी ज्ञानले कविताको मर्म स्पर्श गराउँछ।
कविता कविका अन्तर्यको प्रस्फुटन, प्रस्तुति र अभिव्यक्ति हो। अभिव्यक्तिको कलासिपबाट शैली निर्माण भइदिन्छन्, कविका। अभिव्यक्ति कला, सिप र शैली निर्माणमा कविलाई उनका थरीथरीका परिवेश, परिस्थिति र पर्यावरणले प्रभावित पार्छ। तिनै प्रभावले कविका चेतलाई चलबलाइरहन्छ, दिन्छ। यस अर्थमा परिवेश, परिस्थिति र पर्यावरण कवि र कविताका संवेदनशील तŒव बने/रहेका हुन्छन्। तिनै संवेदनशीलतालाई शब्द, वाक्यांश, उखान तुक्का, स्थानीय र प्रान्तीय उक्ति, व्यंग्य–वाचाहरू प्रयुक्त गरेर कवि आफ्ना सामर्थ्य प्रदर्शन गरिरहेका हुन्छन्। कविका सामर्थ्यमा उनको व्यक्तित्व प्रस्फुटन भइदिन्छ, रहन्छ। कविको सामर्थ्य कविता–वस्तुलाई प्रक्षेपण गर्ने साधना तŒवहरूका सम्मिश्रणद्वारा सार्थक पार्छ, पारेको हुन्छ। यस परिप्रेक्ष्यलाई साक्ष बनाउन रवीन्द्र मिश्रका कविता 'स्टिभ जब्सलाई श्रद्धान्जलि?' का अन्तिम पंक्तिका हरफ उद्धृत गरौं—
'म अन्यौलमा छैन, स्पष्ट छु
तर अन्यौलग्रस्त संसारले
मलाई पनि अन्यौलमै जाक्न खोजिरहेछ
सडक पेटीमा डेनड्राइट पिएर पेट भर्ने बालकले
साना नानी लिएर आफ्नै घाँटी सेर्ने भोका आमाले
रित्तो खल्ती छाम्दै अस्पतालमा मर्ने बाबाले
पगाल्न नसकेको खर्बपतिको मुटु बन्द हुँदा
आइफोन र आइप्याडकै लागि म रोएँ भने
त्यो केवल कागजको फूल हुनेछ
मेरो भूल हुनेछ।
कथ्य कथाका यथार्थ मर्मलाई सरल अभिव्यक्तिद्वारा तरलीकृत पार्न मिश्रका कविता सरस सामर्थ्य ठान्छु। सरल शैलीका विडम्बनामा अड्किएको सामाजिक, आर्थिक र विवेक विम्बलाई मिश्रका कविताले तरल बहाएको छ यहाँ। काव्यिक वातावरण सीमाबद्ध छैन। अनन्त विश्वव्यापी छ। अर्बपति स्टिभ जब्सको जीवन र मृत्युले कविताका पात्रहरू सडकपेटीमा डेनड्राइट पिएर बस्ने बालक, काखमा नानी राखी आफूले घाँटी सेर्ने आमा, खल्ती छाम्दै अस्पतालमा मर्ने बाबा आदिलाई खर्बपतिको मुटु बन्द हुनुले के नाप्छ? संसारभरि त्यस्ता स्टिभ कति छन् कति। तिनका मुटु चल्दै कविताका पात्रजस्ता लाखौं पात्रलाई डेनड्राइट पिएर पेट भर्ने बालक, आफ्नै घाँटी सेर्ने आमा, खल्ती छाम्दै अस्पतालमा मर्ने बाबाजस्ताका प्रतिनिधि पात्रहरूका लागि खर्बपतिका केही अंश हिस्सामा पारेका भए आइफोन र आइप्याड सञ्चारले मिश्रका कविलाई उद्वेलित नपार्दो हुन्थ्यो। अर्थहीन रुवाइ सच्चा वेदनाका संवेदना नभई विडम्बनामात्र बन्ने सत्य–धृष्टता कविताका अविधा, लक्षणा अनि व्यञ्जना विम्ब बोकिरहन्छन्। सारांशमा त्यो केवल कागजको फूल हुनेछ, मेरो भूल हुनेछ। मार्मिक व्यंग्य वाण बन्छ। 'मेरो भूल हुनेछ' सिर्जनाले मिश्रका कविको अदम्य साहसिक प्रतिबद्ध बोल बोलिरहन्छ।
उपहासिलो, विडम्बनापूर्ण समवेदना कविताका मर्मलाई जनजिब्रोमूलक अभिव्यञ्जना र सरल शिल्पकारिता मिश्रका काव्यिक सम्मिश्रण बनेको पाठकीय क्षमताको सीमाभित्र परेको छ। यस्तै अर्को तीव्र उद्वेग वासुदेव अधिकारीका कवि चेत ओकल्दो छ। अधिकारीका कविचेत हातहुत गर्ने, अघि नसर्ने अक्षम वर्तमानलाई शब्दचित्रमा उतार्न अग्रसर छन्। आफ्ना 'चर्तिकला' कवितामा स्थितिबोधक शब्द चित्र कोर्छन्-
'सबै भान्छे बन्न नहुने सबैले पकाउन नहुने
पाको व्यक्तिलाई भान्से बनायौं
र, हामी जोत्न गयौ
आउँदा
घामले साग वैलिरहेको
कुखुराको मासुमा झिँगा भन्किरहेको
ठाउँ ठाउँमा लडाइँ
ठाउँ ठाउँमा झगडा
गलफतको मूल फुटिरहेको
भान्से पाखुरी सुर्किंदै
चामल पिठो छरिइरहेको
धुवाँ उडिरहेको।
हाटहुट गर्ने अघि नसर्ने, अर्कालाई फसाएर आफूले तर मार्ने प्रवृत्तिमाथि छेडछाड; गलफतको मूल फुटिरहेको, भान्से पाखुरी सुर्किरहेको अवस्था चित्रण गरेर उपहास र व्यंग्यवाण बर्साउन सार्थक छ। भान्से बन्ने जिम्मेवारी बोक्नेले गलफतको मूल फुटाएर दायित्वबोध नगर्ने वर्तमान हाँक्ने हरएक हँकाहाप्रतिको तीव्र र तीक्ष्ण शब्द–वाण पक्कै हो। सरल शब्द संयोजनमा नेपाली विद्यमान परिस्थितिलाई पाठकसामु उजागर गरी चेतनामूलक अभियान भरेको छ। कविता सूत्रात्मक अभिव्यञ्जना भएकोले सूत्रात्मकता कविताको रूपस्वरूप बन्छ, बनेको छ। सूत्रका आधारशिलामाथि उभिएर कविता भावमा विचरण गर्नु काव्य अनुष्ठान बन्छ। हरएक कविले आफ्ना कविताको परम्परा भंग गर्दै कविताक्रमका संस्कारलाई निर्वाह गरिरहेको हुन्छन्। यसमा कवि चेतका अनुभूति बिन्दु र त्यसकै विस्तृतीकरणले बृहत्तर र गहनतर भूमिका निर्वाह गर्दो हुन्छ। यस प्रयासको प्रारम्भतिरै कविहरूको रूपस्वरूप फरक–फरक रहेर पनि अन्तर्य समानजतिकै समीपवर्ति रहेका हुन्छन्।
प्रकाशित: २९ जेष्ठ २०७२ २१:५८ शुक्रबार