पोखराबाट पश्चिमपट्टिको यो गाउँको मोहोडा भने दक्षिण फर्किएको छ। गाउँको टाकुरामा पुगेर हेर्दा पोखराका छेउकुना नदेखिने कुनै ठाउँ बाँकी हुँदैन। पोखरामै बसेर पश्चिम हेर्दा भने फेवातालभन्दा पश्चिम–दक्षिणमा उभिएको वनैवनको अजंगको डाँडामात्रै देखिन्छ।
'टाउको नहल्लाईकन हेर्न पाइन्छ,' राजबहादुर गुरुङ आफ्नो गाउँको वर्णन गर्छन्, 'उत्तर–पूर्व फर्किएपछि हिमाल, ताल, पोखरा सबै छर्लङ्ङ।' कालाबाङको टाकुरा हो न्हेआल डाँडा। यही डाँडा यस्तो भ्यु टावर हो जहाँबाट फेवाताल शिरको पुछार देखिन्छ। धौलागिरिदेखि अन्नपूर्ण हुँदै मनास्लु हिमशृंखलासम्म आँखैमा टाँसिन आइपुग्छन्। पोखरा र सेरोफेरो घुमिसकेका धेरैलाई थाहा छ— यहाँका धेरै ठाउँबाट हिमाल र ताल एकैचोटि हेर्न सकिन्न, टाउको बटार्नैपर्छ। एकैचोटि दुवै हेर्न पुग्दीभुम्दी गाउँको विकल्प छैन। त्यही पुम्दीभुम्दीको एउटा सानो गाउँ हो कालाबाङ।
केही समयअघिसम्म गाविस थियो पुम्दीभुम्दी। अहिले पोखरा उपमहानगर पालिकाको वडा नं २५ भयो यो ठाउँ। नाम उपमहानगपालिकाको भए पनि फेरिएको केही छैन, सिवाय गाविस भवनको साइनबोर्ड। पहिला त्यहाँ पुम्दीभुम्दी गाविसको कार्यालय लेखिएको थियो। अहिले पोखरा उपमहानगर पालिका—२५ वडा कार्यालय लेखिएको छ। कालाबाङ के फेरिन्थ्यो झन्, जहाँ आफ्नो परम्परागत संस्कृतिलाई बढी नै माया गर्ने गुरुङ जातिको घनत्व छ। गाउँ नगरपालिका बने पनि कालाबाङले आधुनिकताका नाममा विकृति भिœयाएको छैन। मौलिकता साँचेरै राखेको छ। वनबाट बहँदै आउने हावा चोखो छ। धुलो र धुवाँ बोक्न जानेको छैन। गाउँको माटो चोखो छ। विषादी चाखेको छैन।
...
स्याङ्जा, कास्की र पर्वतको त्रिवेणी पञ्चासे पहाड ओहोरदोहोर गर्ने फिरन्ताहरूले कालाबाङ पहिल्याइसकेका थिए। यसो बाटो पर्दा गाउँ पसेर बास माग्थे। बस्थे र रमाएर जान्थे। उनीहरूकै आवतजावतले गाउँलेलाई जुक्ति फुरायो- गाउँमा पाहुना बोलाउने। त्यसैको परिणाम भर्खर सुरु भएको छ— कालाबाङमा होमस्टे। होटलमा होइन, गाउँलेका घरघरमै पर्यटक बसाउने 'होमस्टे'को चलन सुरु भएपछि केही टोली गाउँ उक्लिसकेका छन्। साइकल चढेर पोखराबाट एक हुल युवा चैतको पहिलो साता कालाबाङ उक्लेको थियो। त्यही हुलमा थिए, प्रकाश बज्राचार्य।
'यसपालि साथीहरूसँग आएको, अर्काेपालि परिवार ल्याउन मन लाग्यो,' कालाबाङले मोहनी लगाएपछि उनले योजना सुनाए, 'पोखराबाट साह्रै नजिक छ। अब त पटकपटक आउँछु।'
पोखराबाट भारतको सीमा सुनौली छुने सिद्धार्थ राजमार्गको बाटो हुँदै जानुपर्छ, कालाबाङ। पोखराको केन्द्र पृथ्वीचोकको बसपार्कबाट सुनौली पुग्नेमात्रै होइन, छेवैबाट कालाबाङ जाने लोकल बस पनि साँझ–बिहान छुटिरहन्छन्। एक घन्टामा लोकल बसले पुर्यातउँछ। निजी साधनमा जानेलाई त्यति समय लाग्दैन। राजमार्गमा १० किलोमिटर गुडेपछि दायाँ उकालो लाग्नुपर्छ। उकालो भईकन सजिलो छ बाटो, ढुंगाले छापेको। 'पर्यटक त यहाँ यही बाटो हेरेर पनि छक्क पर्छन्,' होमस्टे अवलोकन गर्न गएका पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले गाउँलेलाई भनिदिए, 'यस्तो बाटोमा पिच नबनाउनू, देशभरि अन्त कतै यस्तो बाटो छैन।'
...
नाटकको भाषामा भन्ने हो भने नेपथ्य भनेको सिंगारपटार गर्ने ठाउँ हो। कालाबाङ भने आफैं सिंगारिएको छ- कला, संस्कृति र प्रकृतिले। गुरुङ, बाहुन र दलितका आ–आफ्नै संस्कृति छन्। तिनै संस्कृतिको मह चखाउने चाँजो गाउँलेले मिलाइसकेका छन्। होमस्टे व्यवस्थापन समितिका सचिव यामबहादुर गुरुङ भन्छन्, 'पाहुनाले चाहे भने ब्राह्मणको भजन, गुरुङको झ्याउरे, दलितको रत्यौली र नौमती बाजा सुन्ने/हेर्ने व्यवस्था हुन्छ।' पाहुना राख्न गाउँलेले घरका कोठा छुट्याइसकेका छन्। ढुंगेघर र ढुंगाका छपनी छापिएको चिटिक्क बाटोघाटो गुरुङ गाउँकै विशेषता भइगए। केहीअघि मात्रै बेलायतीहरूको सहयोगमा घरघरमा धारा जोडेका छन् गाउँलेले। कालाबाङ घरेडी गाउँका १२/१५ घरमा दुई–दुई जनाका दरले पाहुना राख्ने व्यवस्था भइसकेको छ। 'अहिल्यै दरभाउ त तोकिसकिएको छैन, तर अहिले आइरहेका पाहुनालाई एक हजार रुपैयाँजतिमा एक रात बस्ने र दुई छाक खाने व्यवस्था छ,' होमस्टे व्यवस्था समितिका अध्यक्ष राजबहादुर गुरुङले होमस्टेको क्षमता बताए।
गाउँको सिरानमा कालाबाङका बासिन्दाले पुज्ने देउताको स्थान छ— भँयरको थान। पहरेचट्टान छ त्यहाँ, मूर्ति छैन। तर, गाउँले सबैभन्दा आस्था गर्ने देउता भनेकै भँयर हुन्। थानमा भेडाको थुमा र कुखुराको भाले चढाइन्छ। गाउँको कोही लाहुरे बनेर पहिलो छुट्टीमा आउँदा पुज्ने देउता पनि भँयरै हुन्। कसैले नयाँ घर बनाउँदा होस् वा जागिरमा प्रोमोसन् या बिहेबारी; सबै खुसीको जस गाउँले तिनै देउतालाई दिन्छन्। 'गाउँबाट भर्ती भएकामध्ये कोही पनि अहिलेसम्म लडाइँमा बितेको रेकर्ड छैन,' यामबहादुरले सुनाए, 'यो सबै भँयरले गर्दा नै भएको हो।'
गाउँमै आम्दानी हुने हो भने युवा विदेसिँदैनथे। कालाबाङ होमस्टेलाई पनि वैदेशिक रोजगारीमा युवा पलायन रोक्ने माध्यम बनाउन सकिने ठहर्याँएको छ एसिया मानवअधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फोरम) ले। वैदेशिक रोजगारबाट फर्केकाहरूको यो संस्थाका अध्यक्ष नीरज थापा भन्छन्, 'पोखरा झरिसकेकाहरू गाउँ उक्लन थाल्नुभा'छ। यो विदेश गएकाहरू पनि फर्कने संकेत हो।' केन्द्रले यहाँको होमस्टेलाई प्रवर्द्धन गर्दै छ। ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) को पनि होस्टेमा हैंसे गर्दै छ। तिनै पहलस्वरूप चैत पहिलो साता कालबाङमा पोखराबाट पर्यटनकर्मी, प्रशासक, र पत्रकार अनि साइकलिस्टहरूको हुल पसेको थियो।
...
नेपालको लोकप्रिय सांगीतिक समूहको नाम छ- नेपथ्य। यसका लिड भोकलिस्ट अमृत गुरुङको जन्मगाउँ हो कालाबाङ। उनले समूहको नाम कसरी जुराए कुन्नि तर उनको गाउँ पनि प्रतिष्ठित पर्यटक गन्तव्य पोखराबाट नेपथ्यजस्तै अवस्थितिमा छ। कहिलेकाहीँ ठाउँले व्यक्ति चिनाउँछ त कहिले व्यक्तिले ठाउँ। अमृत पनि आफ्नो गाउँ चिनाउन साथीसंगी र पाहुना बोकेर गाउँ गइरहन्छन्। उनले सांगीतिक संसारमा कमाएको ख्यातिले गाउँले पुलकित छन् र गाउँलाई चिनायो भनेर धन्यधन्य पनि।
...
होमस्टे सपना
यामबहादुर गुरुङ
सचिव, कालाबाङ होमस्टे व्यवस्थापन समिति
पञ्चासे ओहोरदोहोर गर्नेहरू बास खोज्दै हाम्रो गाउँतिर आउँथे। उनीहरू भन्थे- कालाबाङ गाउँ सुन्दर छ। हामीलाई आफ्नो गाउँ त्यसै सुन्दर लाग्थ्यो। पर्यटकहरूले नै भनेपछि उनीहरूलाई जस्तै अरूलाई पनि मन पर्ला भन्ने लाग्यो। त्यसैले घरघरमा पाहुना राख्ने गर्नुपर्यो भनेर होमस्टे सुरु गर्यौंग। अहिलेलाई २०/२५ घर पाहुना राख्न तयार छन्। तिनमा पाहुनालाई राख्ने छुट्टै कोठा व्यवस्था छ। पर्यटक बढे भने अरू घरमा पनि राख्न सकिन्छ। गाउँमा पानीको चिन्ता छैन, बेलायती सहयोगमा जरामूलको पानी घरघरै पुगेको छ। हामी भित्रैदेखि होमस्टे चलाउन लागेका छौं। अहिलेसम्म आएका पर्यटकले पनि मन पराएका छन्। गाउँमा उदाहरणीय होमस्टे बनाउने योजना छ।
प्रकाशित: २० चैत्र २०७१ २१:४४ शुक्रबार