अस्पताल जान्छु भनेर व्यारेकबाट हिँडेका ओझा सम्पर्कमा नआएपछि उनका भाईले दाजुको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा निवेदन दिएका थिए। प्रहरीले ओझा हराएको दिनमा भएका फोन वार्ताको आधारमा उनको खोजी गरेको थियो। सो क्रममा ओझा र थापाको टेलिफोनमा बढी सम्पर्क भएको देखिएपछि प्रहरीले थापाको बारेमा अनुसन्धान थालेको थियो।
रोहितकुमार ओझाको थापाकी श्रीमतीसँग हिमचिम
प्रहरी अनुसन्धानले मृतक ओझाको थापाकी श्रीमतीसँग हिमचिम सम्वन्ध रहेकाले हत्या भएको देखाएको छ। ओझा र थापाकी श्रीमतीको २०६६ सालमा सिरहामा चिनजान भएको थियो। रुद्र बहादुर थापा सिराहमा कार्यरत हुँदा उनकी श्रीमती पनि सिराहामा नै रहेको र मृतक रोहित कुमार ओझा परीक्षा दिन सिराहा गएको बेला आस्था थापा मगरसँग परिचय भएको थियो। उनीहरुले सोही क्रममा फोन नम्वर आदान प्रदान गरेको प्रहरीले जनाएको छ।त्यसपछि उनीहरु दुईबीचको सम्वन्ध झाँगिएको थियो। रोहित ओझाले २ वटा एनसेलको सिम निकाली एउटा आस्था मगरलाई दिएको र एउटा आफैंले चलाउने गरेका थिए। आस्थासँग सम्पर्क गर्नु परेमा आफूले दिएको नम्वरबाट फोन गर्ने गरेको अनुसन्धानले देखाएको छ।
केही समयपछि रुद्र बहादुर थापा विदेश जानु पर्ने भएपछि उनले नेपालटारमा कोठा खोजेर श्रीमतीलाई राखेका थिए। थापा नेपाल फर्किएपछि ओझा र आफ्नी श्रीमतीबीचको सम्वन्धबारे थाहा पाएका थिए। त्यसपछि उनले श्रीमतीसँग रोहितसँगको सम्बन्धका बारेमा सोधपुछ गरेका थिए।
यही सेरोफेरोमा फागुन ९ गते रोहित ओझा,रुद्र थापा र आस्था मगरबीच भद्रकालीमा भेट्ने कार्यक्रम बन्यो। त्यहाँ रोहित ओझाले अब देखि सम्पर्कमा नआउने भन्दै आस्था मगरको खुट्टा ढोगी माफी समेत मागेका थिए। तर पनि उनको आउजाउ र सम्पर्क रोकिएन। त्यसपछि पनि पटक पटक रोहित रुद्रको कोठामा गइरहेपछि सम्बन्ध बिग्रिएको थियो।
त्यसपछि फेरि फागुन १५ गते रोहित र रुद्रको भेट्ने योजना बन्यो। यो भेट नै दुईबीचको अन्तिम बन्यो।
फागुन १५ गते रोहितले रुद्र थापालाई फोन गरी नारायणस्थानमा भेट्न बोलाए। उनीहरुको डाँडा गाउँमा भेट भयो र बिष्णुद्वार तर्फ लागे। त्यही क्रममा दुईबीच विवाद बढ्दै गएपछि विष्णुद्वार नजिकै पुग्दा आक्रोशित रुद्र थापाले रोहितलाई छालाको बेल्टले प्रहार गरे। चोट सहन नसकेका रोहित तुरुन्तै अचेत बनेको रुद्रले प्रहरीसँग बताएका छन्। रोहित ओझा अचेत भएपछि रुद्रले तल गुल्टाई रोहितको साथमा रहेको मोवाइलबाट आफ्नी श्रीमती आस्था मगरलाई फोन गरी रोहितलाई मारिदिएको सुनाएको प्रहरी बयानमा भनेका छन्।
त्यसपछि उनी घटनास्थलबाट रोहितको मोवाइल समेत लिई नेपालटारमा रहेको कोठामा आएका थिए। त्यसको भोलिपल्ट विहान ३ बजेतिर घटनास्थल पुगेका रुद्र थापाले लासलाई गाडेर फर्किएका थिए। त्यसपछि बैंकबाट ५० हजार रुपैयाँ निकाली रुपन्देही पुगेर होटलमा बस्दै आएका थिए। प्रहरीले रुपन्देही देवदह-२ पेटवनियाबाट उनलाई पक्राउ गरेको हो।
प्रकाशित: २९ फाल्गुन २०७१ ०७:३३ शुक्रबार