काठमाडौं- बागमती अञ्चलको सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी हुने ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयका 'कर्मचारीसँग मिलेर' नक्कली लाइसेन्स बनाउने दुईजना पक्राउ परेका छन्।
काठमाडौं सुन्डोलका श्यामकृष्ण डंगोल र ललितपुर कुसुन्तीका रमेश नापितलाई महाशाखाले बिहीबार राति पक्राउ गरेको हो। उनीहरुबाट प्रहरीले नक्कली लाइसेन्स बनाउन चाहिने कागजपत्र, छाप र सर्वसाधारणको नागरिकतालगायत सामग्री बरामद भएको छ।
कार्यालयकै कर्मचारीको संलग्नतामा नक्कली लाइसेन्स बनाउने गिरोह नै सक्रिय रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको दाबी छ। महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार नक्कली कागजमा कार्यालयकै सक्कली छाप प्रयोग गरेर लाइसेन्स जारी हुने गरेको भेटिएको छ। 'सोधपुछका क्रममा मुख्य व्यक्ति मुरारी हो भन्ने आएको छ,' उनले भने, 'हामीले तीव्र खोजिरहेका छौं। उसलाई समातेपछि यातायात कार्यालयका कर्मचारीको संलग्नताबारे पनि खुल्नेछ।'
यातायात कार्यालय परिसर बाहिरका फोटोकपी, फर्म भर्नेलगायत पसलमा नक्कली लाइसेन्स बनाउने गिरोह संलग्न रहेको महाशाखाले जनाएको छ। महाशाखाका प्रवक्ता एसपी वसन्त पन्तले सो क्षेत्रबाट नक्कली लाइसेन्स बन्ने खबर आएपछि सादा पोसाकमा परिचालित प्रहरीले उनीहरुलाई पक्रेको जानकारी दिए। 'लाइसेन्स फेल भएर आउनेलाई निकालिदिने प्रलोभनमा पारेर पैसा असुलिन्छ,' उनले भने, 'सर्वसाधारणले नक्कली लाइसेन्स भएको पत्तो पाउँदैनन्।'
यस प्रकारबाट तयार पारिएका लाइसेन्स सर्वसाधारणले चिन्न निकै गाह्रो हुने उनको भनाइ छ। चारजनाको समूहले पाँच वर्षदेखि नक्कली लाइसेन्स बनाउँदै आएको उनले बताए। पक्राउ पर्नेका अनुसार लाइसेन्सको कार्ड र स्टिकर यातायात कार्यालयबाट कृष्णमुरारी भन्नेले ल्याउने गरेका थिए। महाशाखाले शुक्रबार दिएको जानकारीअनुसार यातायात कार्यालयकै कर्मचारीको सहयोगमा यस्तो काम हुने गरेको पक्राउ परेकाले बताएका छन्।
उनीहरुले दैनिक १२ वटासम्म नक्कली लाइसेन्स बनाउने गरेको महाशाखाले जनाएको छ। 'प्रति लाइसेन्स १८ देखि २० हजार रुपैयाँमा लाइसेन्स बनाउने गरेका थिए,' महाशाखाका प्रमुख डिआइजी अधिकारीले भने, 'यसमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको समेत मिलेमतो देखिएको छ। पक्राउ परेकासँग सोधपुछ जारी छ।'
नक्कली लाइसेन्समा यातायात व्यवस्था कार्यालयमै पुगेर सक्कली छाप हान्ने गरेको वयानबाट खुल्न आएको उनले बताए। साथै मृत व्यक्तिको लाइसेन्स र खारेज भइसकेका सक्कली लाइसेन्सको नम्बरबाट नक्कली लाइसेन्स तयार पार्ने गरेको पनि अनुसन्धानबाट खुल्न आएको उनले बताए। नवीकरण गर्दा बुझाउने सक्कली लाइसेन्सको स्टिकरसमेत नक्कली लाइसेन्समा प्रयोग हुने गरेको देखिएको महाशाखाले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट प्रिन्टर, नक्कली लाइसेन्स बनाउने खाली कार्ड, छाप, हस्ताक्षर तथा फोटो भएका ३५ वटा कार्ड, विवरण भरिएको कार्ड ११ थान, विभिन्न व्यक्तिको नागरिकता, लाइसेन्स र बायोडाटाको प्रतिलिपि, स्टिकरलगायत सामग्री महाशाखाले शुक्रबार सार्वजनिक गरेको थियो।
प्रकाशित: १६ माघ २०७१ २१:१२ शुक्रबार