अन्य

स्युचाटारमा सुतली बम र पेस्तोल भेटियो

काठमाडौं-स्युचाटारको दुर्गा कोलोनी नजिकैको एक घरबाट प्रहरीले सुतली बम र पेस्तोल फेला पारेको छ। शुक्रबार बेलुका एक घरमा सुतली बम पड्किएपछि पुगेको प्रहरीले कोठा सर्च गर्दा सुतली बम, पेस्तोल र गोली फेला पारेको हो।शुक्रबार बेलुका सो क्षेत्रमा केही पड्केको आवाज आएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले बिडारीको घरको भुइँ तलामा अमृत शर्माको कोठामा बम र पेस्तोल फेला पारेको थियो। प्रहरीका अनुसार शर्माको कोठामा इलामकी सीतामाया राई हातको औंलामा चोट लागेको अवस्थामा फेला परेकी थिइन्। वीर अस्पतालमा उपचारपछि उनी प्रहरी नियन्त्रणमा छिन्। अनुसन्धानमा सुतली बम पड्केको खुलेको थियो। 
प्रहरीले कोठामा सर्च गर्दा कटुवा पेस्तोल, २ राउन्ड गोली र सुतली बम फेला परेको थियो। बम डिस्पोजल टोलीले सुतली बम निस्त्रि्कय पारेको थियो। शर्माको सुटकेसमा प्रहरीले सीतामायाको राहदानीको प्रतिलिपि, कतार एयरवेजको टिकट र तराई जनतान्त्रिक ज्वाला मुक्ति सेना समूह लेखिएका पर्चा फेला पारेको थियो।
विस्फोटको योजनासहित ती सामग्री काठमाडौं भित्रिएको प्रहरीको आशंका छ। प्रारम्भिक अनुसन्धानमा राईलाई कोठामा भएको सामग्रीबारे जानकारी नभएको खुलेको छ। फरार रहेका शर्मा भूमिगत समूहका लागि काम गर्ने व्यक्ति भएको प्रहरीको आशंका छ।
यसैगरी, भक्तपुर प्रहरीले स्कुटीको डिक्कीबाट रिभल्बर र गोली फेला पारेको छ। मध्यपुर ठिमी नगरपालिका–अनुदान चोकमा महानगरीय प्रहरी प्रभाग सानोठिमीको टोलीले जाँचक्रममा बा६६प २६७५ नम्बरको स्कुटीको डिक्कीभित्र रिभल्बर र १ राउन्ड गोली फेला पारेको हो। प्रहरीले अवैध हतियार बोकेको अभियोगमा काभ्रे सिसाखानी–७ का अजय लामा र काभ्रे महादेव–४ का मिलन तामाङलाई पक्रेको छ।

प्रकाशित: ३ माघ २०७१ २१:५५ शनिबार