अन्य

'मेरा स्रोता, मेरा विधाता'

हेमन्त शर्मा राम्रा र थोरै गीत गाउने गायकमा पर्छन्। 'न तेजाबी सुन हो माया', 'माया त यस्तो होस्', 'मायाप्रेम केही हुन्न' जस्ता मायाप्रेमका गीत असाध्यै चर्चित छन्। स्वभावले पनि उनी मायालु लाग्छन्। मीठो बोल्छन्। हँसिला छन्। आफ्ना तर्कले अरूको चित्त बुझाउन सक्ने क्षमता छ उनीसँग। यही क्षमताका कारण स्टेज कार्यक्रममा धेरै निम्त्याइने गायकमध्ये पर्छन्। यो हप्तामात्रै उनको परिचय थपिएको छ, प्रस्तोता (गायक, वाद्यवादन र मोडल) समाजका अध्यक्षका रूपमा। उनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः

प्रस्तोता समाजको अध्यक्ष हुनुभएछ। अब नेता पनि बन्ने रहर पलाउँदैछ कि क्या हो?
नेता होइन, दूत हुन खोजेको हुँ। अहिले रोयल्टीका हिस्सेदार (गीतकार, संगीतकार र प्रस्तोता) बीच एक खालको दूरी बढेको छ। कृषकको बीउबिजन भण्डारसँग दुश्मनी बढेजस्तो भएको छ। त्यसैले त्यो भाइचारा कायम गर्न म अघि सरेको हुँ।
 
तपाईं त धेरै समय स्टेज कार्यक्रमका लागि डुलिरहनुहुन्छ। कसरी समय मिलाउनुहुन्छ?
'डिजिटल' जमानामा 'फिजिकल' उपस्थितिमात्रै महŒवपूर्ण होइन। आफूसँग दृष्टिकोण र लगाव हुनुपर्छ, संसारको जुन कुनामा रहेर पनि काम गर्न सकिन्छ। त्यसमाथि म त थोरै भए पनि उत्कृष्ट काम गर्नुपर्छ भन्ने धारणाको मान्छे हुँ। मेरो यो परिचय पनि धेरै गीत गाएर बनेको होइन। थोरै गाएँ तर स्रोताले धेरै सुनिदिए। आजसम्म मुश्किलले सयवटा गीत गाएँ होला।
 
तपाईं सबैसँग मीठो बोल्नुहुन्छ। प्रस्तुतिको शैली पनि 'वान्स मोर' भन्ने खालकै छ। त्यसैले धेरैले तपाईंलाई कार्यक्रमका लागि बोलाउँछन्। सिजनमा कसरी भ्याउनुहुन्छ?
योजना, इच्छाशक्ति र कार्यान्वयन पक्ष सन्तुलित हुन सक्यो भने मिल्दो रहेछ। मैले ४६ घण्टामा तीनटा देशका कार्यक्रम भ्याएको छु। १५ दिनअघिमात्रै आठ दिनमा नेपालकै छ ठाउँमा कार्यक्रम गरेको छु।
 
अचेल पनि भ्याइ–नभ्याइ होला?
नेपालमा धेरै कार्यक्रम ज्याकेट लाउने सिजनमै हुन्छन्। त्यसैले कार्यक्रम परिरहन्छन्।
 
नेपालका धेरै ठाउँ पुगिसकियो होला है!
अहिलेसम्म ५७ वटा जिल्ला पुगिसकियो।
 
अहिलेसम्ममा सबैभन्दा आत्मीय दर्शकस्रोता कहाँका लागे?
जति–जति गाउँतिर पुग्यो, त्यति नै धेरै आत्मीय दर्शक भेटिन्छन्। पछिल्लोपल्ट जाजरकोट पुगेको थिएँ। त्यहाँ निकै नै माया पाइयो।
 
स्टेज कार्यक्रमका लागि जाँदा नबिर्सिने क्षण के–के हुन्?
बुटवल, लेखनाथ र चितवन महोत्सवमा उर्लिएको जनसागर सम्झिन्छु। प्रस्तोताका लागि दर्शकको भीड सबैभन्दा ठूलो कुरा हो। त्यसपछि ओखलढुंगाको एउटा राई गाउँमा पुगेको थिएँ। मलाई लागेको थियो, मेरो प्रस्तुति यहाँ फिका हुने भयो तर त्यहाँको दर्शकको प्रतिक्रिया गज्जब पाइयो। चारचोटि वीरगञ्जमा कार्यक्रम गर्न गएँ, त्यहाँको माहोलले पनि मलाई निकै हौस्याएको थियो।
 
तपाईंको लोकप्रियता पहाडदेखि मधेससम्म उस्तै छ!
म पहाडदेखि मधेससम्म घुलमिल पनि हुनसक्छु जस्तो लाग्छ । किनभने मेरो हुर्काइ नै समावेशी छ। बुबाको जागिरसँगै मेरो बाल्यकाल हिमालदेखि तराईसम्म बित्यो। कक्षा १ मा पढ्दा म जोमसोममा थिएँ, भने कक्षा ९ पढ्दा कपिलवस्तु पुगिसकेको थिएँ। यो बीचमा मेरो स्कुल नै सातवटा फेरिए। त्यसैले भाषा पनि हिमालदेखि तराईसम्मकै बोल्न आउँछ।
 
संगीतको प्रभावचाहिँ कुन क्षेत्रको परेछ?
यो चाहिँ रेडियो नेपालको प्रभाव हो। नवलपरासी त्रिवेणीमा जन्मेको हुँ म । त्यहाँ हाम्रो छिमेकी हुलाकी हुनुहुन्थ्यो। उहाँको घरमा रेडियो नेपाल बिहानदेखि बेलुकासम्म बजिरहन्थ्यो। त्यहाँ गीत सुनेर म गुनगुनाउन थालिसकेको रहेछु।
 
उसो भए गायक बन्ने मेसो सानैदेखि आइसकेको थियो?
एसएलसी दिउन्जेल थिएन। म निकै लज्जालु थिएँ। एक्लै गुनगुनाउथेँ तर अरूका अघि गाउन त के उभिन पनि डराउँथेँ। यतिसम्म कि हाम्रो कक्षामा सुनीता र मञ्जु नामका दुईजना राम्रा केटी थिए। उनीहरू ढोकामा उभिएपछि भित्र पस्नसमेत लजाउँथेँ। बरु कक्षा ९ सम्म पढ्दा खेलाडी बन्न भूत सवार थियो। म जतिबेला पनि फुटबल खेल्न कुद्थेँ। ९ कक्षामा फेल भएँ। चिन्तामणि ज्ञवाली नामका सरले त्यसपछि म भित्र यति हिम्मत भरिदिनुभयो कि एसएलसी पास पनि गरेँ र क्याम्पस आएकै समयमा स्टेजमा पुगेर गीत पनि गाउन थालेँ। पहिलो प्रस्तुतिमा नै तृतीय भएपछि भैरहवामा म 'लोकल हिरो' नै भइसकेको थिएँ।
 
खेलाडी बन्ने प्रयास त अहिले पनि गरिरहनुहुन्छ है!
तपाईंले याद गर्नुभएको रहेछ। अहिलेसम्म साथीभाइहरूले फुटबल टुर्नामेन्ट आयोजना गरे भने जर्सी लगाएर मैदान छिरिहाल्छु। फुटबल र क्रिकेट खूब हेर्छु पनि। अझ क्रिकेट त अडियोमात्रै सुनेर पनि मज्जा लिनसक्ने खालको मान्छे हुँ। यति 'अपडेटेड' छु कि हिजो कसको म्याच भयो र कति रन कसले लियो भन्ने सोध्नुभयो भने पनि सही उत्तर पाउनुहुन्छ।
 
तपाईँका फ्यान चाहिँ कस्ता र कतिसम्म फलो गर्ने खालका छन्?
म जे छु, त्यो फ्यानका कारणले छु। १८ वर्षअघि १५ सय रुपैयाँ बोकेर श्रीमती र दुई बच्चासहित काठमाडौँ छिरेको थिएँ। अरू सब जे मसँग छ, त्यो बोनस हो। मैले लगाइरहेको यो ज्याकेट, यो घडी, यो मफलर, सबै फ्यानले गरेको माया हो। मेरा असल प्रशंसककै कारण अहिलेसम्म मैले एउटा पनि मोबाइल किन्नुपरेको छैन। मेरा फ्यान मेरा विधाता हुन्। मलाई लाग्छ, मेरा फ्यान यति–उति भनेर घमण्ड गर्नु हुँदैन। फेसुबक, ट्वीटरको जमानामा फ्यान त गाडीको सहचालक भाइका पनि हुन्छन्।
 
त्यसो भए सुरुवाती चरणमा काठमाडौँमा निकै दुःख पाइयो?
धेरै नै। सुरुमा गैरसंगीत क्षेत्रको जागिरबाट काठमाडौँमा संघर्ष थालेको हुँ। गाउने प्य्राक्टिसका लागि मोनालिसा बारमा फ्रीमा गाउँथेँ। मुख्य गायकसँग टिप्सको पैसा पनि नलिने शर्तमा गाउन थालेको हुँ। एकैचोटि पूरै एल्बमका गीत रेकर्ड गराउन सक्ने पैसा नभएर २०५४ सालदेखि वर्षमा एउटा गीत रेकर्ड गराउन थालेँ। २०५७ सालमा एकैचोटि थप चारवटा गीत रेकर्ड गराएर एल्बम निकाल्न सकेको हुँ।
 
तपाईं आफैँ गीत लेख्ने र संगीत भर्ने पनि गर्नुहुन्छ। राम्रो संगीतकार/गीतकारको सहारा लिँदा अझ राम्रो हुन्थ्यो होला नि?
मलाई गीतकार र संगीतकार बाध्यताले बनाएको हो। सुरुवाती दिनमा धेरै गीतकार र संगीतकारका ढोका ढकढक्याएको छु, आँगन कुरेको छु। शम्भुजित बाँस्कोटादेखि कालीप्रसाद रिजालसम्म पुगेर आफ्नो क्षमताको परीक्षा दिएको छु। तर, नयाँ थिएँ, कसैले पत्याइदिएनन्। आफैँले प्रयास गरेँ। स्रोताले रुचाए पनि।
 
गीतकारका रूपमा २०५८ सालतिर 'माया त यस्तो होस्' लेख्ने तपाईं अहिले 'माया हुन्न, यो बैँस वा पैसाको आकर्षण हो' भन्ने आशयको गीत लेख्न पुग्नुभयो। किन?
त्यतिबेला म काठमाडौँ आइरहेको थिएँ। बाटोमा गिट्टी कुट्दै रमाइरहेको जोडी देखेँ। जीवनमा दुःख त उनीहरूसँग थियो तर सँगै रहेकाले उनीहरूलाई त्यसको पर्वाह थिएन। त्यसैले लेखेँ, 'माया त यस्तो होस्, कहिल्यै नछुट्ने होस्।' अहिले समय फेरियो। आजकाल प्रेमीप्रेमिकाले 'आई लभ यू', त्यो भन्दा पनि 'आई एम वन्ली फर यू' जस्तो एउटा म्यासेज टाइप गर्छन् र एकैचोटि १० जनालाई पठाउँछन्। यो समयलाई सम्बोधन गरेर लेखेको गीत हो।
 
तपाईंले पार्श्व र कलेक्सन एल्बममा चाहिँ किन गाउनुभएन?
सुरुमा एल्बम बिक्थ्यो, त्यही लोभले कलेक्सनमा गाइएन। पछि सबैले कलेक्सनमा गाउँदैन भन्ने बुझे र अफरै आएन। पार्श्व गायनमा म सुट पनि भइनँ । दुईतीनटामा गाएँ, त्यहाँका मान्छेको तडकभडक त्यति मन परेन र प्रयास गरिनँ।
 
बिक्ने समयमा कतिसम्म बिकेको थियो एल्बम?
'लोकप्रिय' र 'आत्मीयता' दुवै ५० हजारप्रतिसम्म बिके। त्यस्तो समय पनि थियो र भन्ने लाग्छ अहिले। साइन गर्दा हात दुख्थ्यो र क्यासेटका कभर घरमै ल्याएर श्रीमती र म छाप हान्थ्यौँ।
 
भिडियो हेर्दा थाहा हुन्छ– तपाईंलाई अभिनय गर्ने रहर पनि छ!
समयसँगै रहर फेरिने रहेछन्। मलाई पहिले त हिरो बन्ने रहर थियो कि जस्तो लाग्छ। किनभने ८ कक्षा पढ्दै गर्दा खिचिएको तस्बिरमा पनि मैले अमिताभ बच्चनलाई देखाएर खिचेको रहेछु। पछि चाहिँ मलाई पनि चिनून् भन्ने लागेर मोडलिङ गरेँ। मेरो सोचाइ यो गीत गाउने मान्छे यस्तो छ र यो हो भनेर चिनून् भन्ने छ। त्यसैले पनि मोडलिङ गरेको हुँ। सामान्यतया एक हजारमध्ये ९ सय ९९ जना मान्छे फोटोमा वा टिभीमा वा कहीँ आफू देखिन चाहन्छ जस्तो लाग्छ। हामीमा त्यो मनोविज्ञान सानैदेखि छ। नत्र किन सानोमा अरूका तस्बिर खिच्दा हुने झिलिक्कमा समेत हामी रमाउँथ्यौँ?

प्रकाशित: २ माघ २०७१ ०२:२१ शुक्रबार