थापा काजीको बग्गीले सर्वत्र चर्चा पायो। व्यस्त सहरहरूमा दौडिएको बग्गी चर्चित हुनु पनि स्वाभाविक हो। बग्गी जस्तो होस् वा त्यो दौडनुको अभिप्राय जेसुकै होस्, यसको लेखाजोखा गर्न हामी 'राष्ट्रभक्त'हरूलाई फुर्सद हुँदैन। बस्, बग्गी दौडनुपर्छ। हामीलाई त्यति भए पुग्छ।
हामी बग्गीको साजसज्जा र बग्गी सवारीमा लामबद्ध लस्कर देखेर नतमस्तक हुन्छौँ। त्यो लस्करमा जीवनको सुगन्ध छ कि प्रेतात्माको दुर्गन्ध? त्यो भीडमा अग्रगमनको गर्जन छ कि पश्चगमनको चिच्याहट? यसबारे हामी 'राष्ट्रभक्त'हरूलाई खासै मतलब हुँदैन। बरु राष्ट्रभक्तहरूलाई लाग्छ– बग्गीका अधिपति नै भाग्य विधाता हुन्। जसले चामत्कारिक शैलीमा गुमेको शान, मान र पहिचान फिर्ता गरिदिनेछन्। आखिर हाम्रो रगतमा केही जब्बर छ भने त्यो हो– सलामी, गुलामी र मलामी। यी तीन तत्त्व मिलेर बनेको रगत बोकेका हामीहरूले बग्गीगान नगाएर अरू के गाउनु?बग्गीपति थापाको टुँडिखेल गर्जन बडो रोमाञ्चक सुनियो। अनुजलाई साक्षी राखेर थापा काजीले घोषणा गर्नुभयो, 'भ्रष्टाचारविरुद्ध अब 'जेहाद' छेडिनेछ।' हाम्रो संस्कार नै हो, कुनै बडा फैसला गर्दा घरपरिवार र आफन्तलाई साक्षी राखिन्छ। थापा काजीले पनि त्यही संस्कारको 'फलो' गर्नुभयो। गाई भए गोरस, भाइ भए भरोस! हामीले सुन्दै आएका हौँ। त्यही भएर त थापा काजीले भाइलाई संविधानसभामा भिœयाउनुभयो। यसमा पनि खासै साह्रो–गाह्रो कुरा थिएन। जो जुन संस्कारबाट दीक्षित हुन्छ, उसले उस्तै काम गर्छ। हुँदाहुँदा प्रिय अनुजलाई साक्षी राखेर थापा काजीले भ्रष्टाचारविरुद्ध गायत्री जप गर्नुभयो। काजीको यो कदम के जाती गर्नेलाई भन्दा के जाती देख्नेलाई के भने जस्तो भयो कि भएन? हामी 'राष्ट्रभक्त'ले बुझ्ने कुरा हो।
थापा काजीको अर्काे उद्घोष पनि सुनियो– 'जनआन्दोलन'। काजीसापको जिन्दगीमा प्रायः सबै कुरा भए। पटकपटक सामर्थ्यशाली मन्त्री। चर्चित विद्यार्थी समूहको राष्ट्रिय नेता। सहज र सरल राजनीतिक यात्रा। थापा काजीले पाउनुपर्ने जति प्रायः पाइसकेकै हो। तर, उहाँको जिन्दगीमा यो जनआन्दोलन भन्ने जिनिस कहिल्यै आएन। जनआन्दोलन आउँदै आएन भन्न त नमिल्ला। तर, जनआन्दोलनमा उहाँ कहिल्यै सडकमा उपस्थित हुन पाउनु भएन। बरु आन्दोलनकारीलाई कसरी दबाउने भन्ने कठिन कर्ममात्रै उहाँको जिन्दगीमा आइलाग्यो। गोली हान्दाको मज्जा उहाँलाई थाहा छ। तर, गोली लाग्दाको पीडा उहाँले कहिल्यै अनुभूति गर्न पाउनु भएन। सडकको तिरस्कार र अपमान कसरी गर्ने भन्ने उहाँलाई राम्रो ज्ञान छ। तर, सडकको उत्सर्ग, बलिदान र संघर्षको उहाँलाई अनुमानसम्म भएन। मनोवेत्ताहरू भन्छन्– जसले जे गर्न पाएन, उसलाई त्यसैको मात्र चासो हुन्छ। सायद यही कारणले हो, थापा काजीले जनआन्दोलन घोषणा गर्नुभएको। यो घोषणालाई 'राष्ट्रभक्त'हरूले कसरी लिएका छन्? पशुपतिनाथ नै जानून्।
थापा काजीको बग्गी यात्राको सर्वत्र चर्चा भएपछि समकक्षी राजनीतिक दलका नेताहरूलाई औडाहा हुनु स्वाभाविकै हो। राजनीति गर्नु जो छ, त्यसमा चर्चाको ठूलो महत्व रहन्छ। यो कुरा नेतागणलाई 'मालुम' नहुने कुरा भएन। बग्गीले थापा काजीलाई चर्चाको केन्द्रमा ल्याएपछि कमरेड अध्यक्ष नराम्ररी तिलमिलाउनुभयो। आफ्नो पार्टीलाई संविधानसभा भाग– २ ले नेपालको सर्वाधिक ठूलो कम्युनिस्ट पार्टी बनाइदिएको छ। त्यतिमात्र होइन, पार्टी कार्यकर्ताले पेल्नु पापड पेलेर आफूलाई पार्टी अध्यक्ष बनाइदिएका छन्। यस्तो बेलामा आफ्नो चर्चाभन्दा बग्गी चर्चाले शहर पिट्नु कमरेड अध्यक्षका लागि हैरान पार्ने बात नै हो। पछिल्लो समय उहाँ गम्दै हुनुहुन्थ्यो– देब्रे किनारको यात्रा आफ्ना लागि अनुकूल यात्रा होइन। साह्रै नै कष्ट र संघर्षले भरिएको देब्रे किनारको यात्रामा उहाँको वितृष्णा जागिसकेको थियो। फेरि देब्रे किनारमा हिँड्नेहरूको ठूलो भीड छ। ठूलो भीडमा ठूला नेता धेरै छन्। धेरै नेताको भीडमा आफू हराउँछु भन्ने भयले उहँालाई पिरोल्न थालेको थियो। देब्रे किनारको 'अपोजिट' दाहिने किनार भने नेताविहीन छ। जहाँ खाली छ, त्यहाँ उभिन सजिलो हुन्छ। दाहिने किनारको नेतृत्व आफूले गर्न पाए ठूलै नेता बनिन्थ्यो भन्ने आशमा हुनुहुन्थ्यो, अध्यक्ष कमरेड। दाहिने यात्राका लागि उहाँका केही योजनाले पनि मूर्त रूप लिँदै थिए। तर, त्यही बीचमा थापा काजीको बग्गी दाहिने किनारमा ठूलो तामझामका साथ दगुर्नथाल्यो। अध्यक्ष कमरेडलाई लाग्यो– बग्गी यसैगरी दगुर्ने हो भने दायाँ किनार पनि भरिभराउ हुनेछ र आफ्नो योजनाले हावा खानेछ।'
बग्गी चर्चाले अध्यक्ष कमरेडको निद हराम भयो। दाहिने किनार गुम्ने भयले उहाँ उत्तेजक बन्नु अस्वाभाविक पनि थिएन। प्रचुर उत्तेजनाले उहाँलाई गम्भीर 'राष्ट्रवादी' बनायो। हुन त उहाँलाई पहिले पनि लागेको थियो –'ठेलागाडा चढेर अमेरिका पुग्न सकिन्न।' तर, कहिलेकाहीँ गोरु पनि ब्याउँछ भने जसरी ठेलागाडा पनि अमेरिका पुग्यो। कमरेडलाई पत्याउन करै लाग्यो। ठेलागाडाको रफ्तारले पनि अमेरिकाको यात्रा तय गर्दो रहेछ। तर, सधैँ गोरु ब्याउँदैन। त्यसैले त अचेल कमरेडलाई लाग्न थालेको छ – 'अधिकारको कुरा गर्नु देशको प्रगति रोकिनु हो। संघीयताको सवाल उठाउनु विखण्डनलाई प्रश्रय दिनु हो। हामीले वर्षौँदेखि यो भुक्तमान भोग्यौँ, अब भोग्दैनौँ भनेर आवाज उठाउनु अराष्ट्रियता हो।' उहाँमा विकास हुँदै गएको मौलिक चिन्तन र बग्गी चर्चाको रापमा अध्यक्ष कमरेडका मुखारवृन्दबाट दुईचार थान महावाणी निक्लिए। उहाँको वाणी के निक्लिएका थिए, फेसबुके र टुइटरे अग्रगामी आधुनिक युवाले समर्थनको महोत्सव नै मनाए। उनीहरूको हर्ष देख्दा अनुमान गर्न सकिन्थ्यो– यो महापठित युवा 'सर्कल' वर्षाैंदेखि यस्तै दिव्य वाणीको 'इन्तजार'मा थियो।
यो देशमा अहिले विविधखाले द्वन्द छन्। यस्ता द्वन्दबारे बताइरहनु पर्दैन। हामी बबुरा नेपाली सबैलाई थाहा छ। यी द्वन्दमा अर्को एउटा जब्बर द्वन्द थपिएको छ । दाहिने किनारको नेता को बन्ने भन्ने यो द्वन्दमा थापा काजी र अध्यक्ष कमरेड ज्यान छाडेर लाग्नुभएको छ। थापा काजीको बग्गी यात्रापछि अध्यक्ष कमरेड पनि बग्गी कुदाउन हतारिनुभएको उहाँका महावाणीले सिद्ध गर्दै गइरहेका छन्। हेर्दै जाउँ्क, दाहिने किनारमा अध्यक्ष कमरेड वा थापा काजीमध्ये कसको बग्गीले रेस जित्नेछ?
प्रकाशित: २ माघ २०७१ ०२:०० शुक्रबार