तपाईं सार्वजनिक यातायातका साधन कुरेर वाक्क हुनुभएको छ? छ भने साझा बसले तपाईंका लागि नयाँ उपाय ल्याएको छ। साझा बसले आफ्नो दुइटा बसमा जीपीएस सुविधा हालेर परीक्षण गरिरहेको छ। घरमै बसी–बसी बस कहाँ आइपुग्यो भन्नेबारे सजिलै जानकारी लिन सकिने भएकाले यात्रुहरूको कुर्ने समय बचत हुने साझा बसका महेन्द्र पाण्डेले बताए।
उनका अनुसार एन्ड्रोइड प्रयोगकर्ताले गुगलप्ले एप स्टोरबाट 'हाम्रो साझा'नामक एप डाउनलोड गर्न सक्छन्। हाल लगनखेल–नयाँ बसपार्क रुटमा चल्ने दुइटा बसमा यो सुविधा जडान गरिएको पाण्डेले बताए। छिट्टै साझाका १६ वटै बसमा यो सुविधा जडान गर्ने योजना रहेको उनले सुनाए।
लुनिभाटेकको प्राविधिक सहयोगमा साझाले यो परीक्षण गरिरहेको छ। यसले यात्रुलाई फाइदामात्र होइन, साझा बसको अवस्था, एउटा स्टपदेखि अर्को स्टपसम्म पुग्ने दूरी र समयबारे एपले जानकारी दिने पाण्डेले बताए।
सार्वजनिक यातायातमा यस्तो सेवा पहिलोपटक साझाले ल्याएको उनले दाबी गरे। 'प्रविधिको विकास र मानिसहरूको ग्याजेटप्रटिको आकर्षण र ब्यस्त दैनिकीले यात्रुहरूलाई यो सेवा फलदायी हुने विश्वास लिएका छौँ,' पाण्डेले भने। यस्तो सेवा सार्वजनिक यातायातमा मात्र नभएर स्कुलहरूले पनि ल्याउनुपर्ने उनको बुझाइ छ। यसले आफ्नो बच्चा कहाँ आइपुगेको भन्नेबारे जानकारी दिने हुँदा अभिभावकलाई सजिलो हुने उनले बताए। जीपीएस सेवाले सेक्युरिटी पनि प्रदान गर्ने भएकाले प्रभावकारी हुने उनले बताए।
जीपीएसका लागि नेपाल टेलिकमले साझाका १६ वटै बसमा वाइम्याक्स सेवा प्रदान गरेको छ। साझाले लगनखेल–नयाँ बसपार्क र एयरपोर्ट–कलंकी रुटमा आफ्नो बस चलाउँदै आएको छ।
प्रकाशित: २ माघ २०७१ ०१:४५ शुक्रबार