एसएलसी टेस्ट परीक्षा लिन सरकारले बन्देज गरे पनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले अभ्यास परीक्षाका नाममा टेस्ट परीक्षा लिँदैछ।
शिक्षा नियमावली, २०५९ ले एसएलसी टेस्ट परीक्षा लिन बन्देज लगाएअनुसार शिक्षा विभागले अनधिकृत रूपमा परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको थियो। केही दिनअघि विभागका उपनिर्देशक विष्णुप्रसाद अधिकारीले केही विद्यालयसम्बद्ध संस्थाले आफूखुशी परीक्षासम्बन्धी सूचना जारी गरेको पाइएकाले तुरुन्त रोक्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएका थिए। नियमविपरीत प्याब्सनले माघ ४ देखि १५ गतेसम्म परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएको छ। सबै विÈयका प्रश्नपत्र क्षेत्रगत आधारमा फरक–फरक तयार पारेको प्याब्सनले मार्कसिटको नमुनासमेत तय गरेको छ।
विद्यार्थीबाट 'लेबी' उठाउँदै
एसएलसी अभ्यास परीक्षा, २०७१ का नाममा ५ सय ५० रुपैयाँ दस्तुर उठाउन र प्रतिविद्यार्थी ५० का दरले केन्द्रको खातामा पठाउन जिल्ला समितिलाई प्याब्सनले सर्कुलर गरेको छ। प्याब्सनका महासचिव डीके ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा 'परीक्षा दस्तुरबाट प्रतिविद्यार्थी ५० रुपैयाँका दरले हुन आउने एकमुष्ट रकम केन्द्रीय परीक्षा समितिको खातामा २० पुसभित्र दाखिला गर्न' भनिएको छ। परीक्षा दस्तुर नबुझाउने जिल्लाहरूलाई प्रश्नपत्र उपलब्ध नगराउने चेतावनी दिँदै प्याब्सनले सबै जिल्ला समिति र सदस्य विद्यालयलाई अनिवार्य रूपमा अभ्यास परीक्षामा सहभागी हुन निर्देशन दिएको छ। परीक्षामा सहभागी नहुने जिल्ला कार्यसमिति तथा सदस्य विद्यालय कारबाहीको भागीदार हुनुपर्ने उसको चेतावनी छ। अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले यसरी विद्यार्थीबाट पैसा माग्नु अत्याचार भएको बताउँदै प्याब्सनले नियमविपरीत टेस्ट परीक्षा लिएर मनपरी गरेको बताए। प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने टेस्ट परीक्षा नभएर अभ्यासमात्र भएको बताउँदै परीक्षा सञ्चालनका लागि मात्र ५ सय ५० रुपैयाँ उठाएको दाबी गरे।
प्रकाशित: १ माघ २०७१ ११:५७ बिहीबार