अन्य

जोहोरबारुमा सम्पर्क कार्यालय

मलेसियास्थित नेपाली दूतावासले मलेसियाको जोहोरबारुमा सम्पर्क कार्यालय स्थापना गरेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले दिएको समयसीमाभित्र हस्तलिखित राहदानी विस्थापित गरी एमआरपी राहदानी वितरण गर्न र अन्य सेवा दिन दूतावासले कार्यालय खोलेको हो।
मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतले सोमवार सम्पर्क कार्यालयको उद्‌घाटन गरे। राजदूत बस्नेतले सम्पर्क कार्यालयले जोहोर क्षेत्रमा रहेका नेपालीलाई राहत पुग्ने बताए। राहदानी बनाउनदेखि अन्य कामका लागि अब पैसा खर्च गरेर क्वालालम्पुर आउनुपर्ने बाध्यता नरहेको उनले बताए।
आइकाओका अनुसार सन् २०१५ नोभेम्बर २४ भित्र हस्तलिखित राहदानी विस्थापित गरिसक्नुपर्नेछ। सोही दिनबाट सम्पूर्ण हस्तलिखित राहदानी काम नलाग्ने हुनेछन् भने त्यस्ता राहदानीवाहक अवैध पनि हुनेछन्। यसैकारण दूतावासले हस्तलिखित राहदानी विस्थापन गरी कामदारलाई मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) उपलब्ध गराउन नेपालीको संख्या बढी रहेको जोहोरबारुमा सम्पर्क कार्यालय खोलेको हो।
मलेसियास्थित नेपाली दूतावासका अनुसार जोहोरबारु क्षेत्रमा दुई लाखभन्दा बढी नेपाली कार्यरत छन्। करिब सात लाख नेपाली रहेको मलेसियामा अझै पनि डेढ लाख नेपालीसँग हस्तलिखित राहदानी रहेको अनुमान छ। चार वर्षको अवधिमा मलेसियास्थित दूतावासले ३६ हजार ९ सय ४८ हस्तलिखित राहदानी विस्थापित गरेको छ। दूतावासले सोमवार विज्ञप्ति जारी गर्दै जोहोरबारु क्षेत्रमा रहेका नेपालीलाई सम्पर्क कार्यालयमा आई हस्तलिखित राहदानीलाई एमआरपीमा प्रतिस्थापन गर्न आह्वान गरेको छ। दूतावासले यसअघि मलेसियाकै पेनाङमा पनि सम्पर्क कार्यालय खोलेको थियो।

प्रकाशित: १ माघ २०७१ ११:४९ बिहीबार