नयाँ वर्षको अवसरमा पूर्वेली र भारतीय पर्यटकलाई लक्ष्य गर्दै होटल एसोसिएसन अफ भेडेटारले आयोजना गरेको तीनदिने फुड फेस्टिभलको मुख्य आकर्षण सांगीतिक कार्यक्रम बन्यो। यही मौकामा गायकहरू भीषण मुकारुङ, एपी शेर्पा, तुलसी पराजुली, नवराम राई, श्रेयसी चेम्जोङ, दिव्यासन घिमिरे, बबिन लिम्बु, पदम राई, पदि्मनी राई र धरानको वाकिङ क्लाउड ब्यान्डले चिसो भेडेटारलाई तताउँदै संगीतमय बनाए। कविता लावती, पदि्मनी राई र गरिमा डान्स सेन्टरका नृत्यले फेस्टिभलमा आकर्षण थपे।
भेडेटार सँगसँगै मोरङको उर्लाबारीमा पनि नयाँ वर्षकै अवसरमा सांगीतिक कार्यक्रम भयो। उर्लाबारीमा गायिका कुन्ती मोक्तानले आफ्ना चर्चित गीत प्रस्तुत गर्दा स्थानीयवासी छमछम नाचे। फायर इन्टरटेन्मेन्ट उर्लाबारीले आयोजना गरेको "न्यू इयर म्युजिकल नाइट–२०१५' मा कुन्तीसँगै गायक डम्बर नेपाली, तपराज सुनाम लगायतले गीत प्रस्तुत गरे भने गरिमा डान्स सेन्टर धरान र युनिक डान्स सेन्टर उर्लाबारीले नृत्य प्रस्तुत गरे। उर्लाबारीको ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बालबालिका तथा वृद्धवृद्धालाई सहयोग गर्ने उद्देश्यले 'न्यानो अभियान' अन्तर्गत सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो।
त्यसलगत्तै पुस २३ गतेदेखि धनकुटामा धनकुटा क्षेत्रीय महोत्सव सुरु भयो। महोत्सवमा चर्चित गायक राजेश पायल राई, तुलसी पराजुली, विनोद खम्बु, कृष्णभक्त राई लगायतले गाए भने दीपकराज गिरी, दिपाश्री निरौला, कुमार कट्टेल, अर्जुन केसी लगायतले हँसाए। माघ २ सम्म चल्ने महोत्सवमा कलाकारहरूको प्रस्तुतिले स्थानीयले मनोरञ्जन पाइरहेका छन्। माघ १ बाट भोजपुरको छिनामखुमा सुन्तला महोत्सव आयोजना हुँदैछ। धनकुटा महोत्सवमा गाएर सुन्तला महोत्सवमा गाउन भोजपुर पुगेका गायक विनोद खम्बु भन्छन्, 'यस्तै उत्सव, महोत्सवले हामीजस्ता कलाकारलाई जीवन चलाउन सजिलो भएको छ।'
लाखौँ लगानी गरेर एल्बम निकाल्यो, भिडियो बनायो तर बिक्री हुँदैन। अझ मोफसलका कलाकारले त देशविदेशका ठूला कन्सर्टमा पनि अवसर पाउँदैनन्। त्यसैले पनि यस्ता स्थानीय र क्षेत्रीय स्तरमा हुने उत्सवहरूले उनीहरूलाई ठूलो राहत पुर्यानउँछन्। गायक भीषण मुकारुङको विचारमा यस्ता कार्यक्रम निरन्तर भइरहे धेरै नेपाली कलाकारलाई संगीतमा फड्को मार्न सहयोग पुग्छ। भेडेटार र उर्लाबारीमा गाएका उनी भन्छन्, 'एकैपटक आउँदा दुईतीन ठाउँमा कार्यक्रम गर्न पाए कलाकारलाई हौसला मिल्छ, कमाइ पनि हुन्छ।'
प्रायः पूर्वमा एक ठाउँमा कन्सर्ट वा महोत्सव हुने भएपछि अर्को ठाउँमा पनि लगत्तै त्यस्तै कार्यक्रम हुन्छ र उत्सवै–उत्सवको लहर सुरु हुन्छ। यसको कारण हो, एउटा कार्यक्रममा आएका कलाकारलाई नजिकैको अर्को ठाउँमा ल्याउन सजिलो हुन्छ र कम पैसाले पनि पुग्छ। यसपालि भेडेटार, उर्लाबारी र धनकुटा महोत्सवमा सहभागी भएका गायक तुलसी पराजुलीको धारणा छ, 'यसरी लस्करै कार्यक्रम हुँदा आयोजकलाई पनि मार पर्दैन, कलाकारलाई पनि मार पर्दैन। यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ।'
प्रकाशित: १ माघ २०७१ ११:३४ बिहीबार