अन्य

रोनाल्डो फेरि उत्कृष्ट

स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रोपटक बालोन डिओर अवार्ड जितेका छन्। छ महिनाअघि भएको विश्वकपमा आफ्नो देश पोर्चुगलका लागि खासै राम्रो गर्न नसकेपछि पनि रोनाल्डोले सन् २०१४ को सर्वोत्कृष्ट खेलाडी बन्दै बालोन डिओर हात पारे।
पोर्चुगलका कप्तान रोनाल्डोले अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसी तथा जर्मनीका गोलरक्षक म्यानुअल नुयरलाई पछि पार्दै यो अवार्ड जितेका हुन्। यो २९ वर्षका रोनाल्डोको तेस्रो बालोन डिओर अवार्ड हो। गएको वर्ष पनि उत्कृष्ट घोषित उनले सन् २००८ को बालोन डिओर पनि जितेका थिए।रोनाल्डोले विश्वभरका छानिएका खेल पत्रकार, राष्ट्रिय फुटबल टिमका कप्तान र प्रशिक्षकहरूको ३७ दशमलब ६६ प्रतिशत मत प्राप्त गरे। यसअघि चारपटक यो अवार्ड जितेका बार्सिलोनाका लियोनल मेसीले भने १५ दशमलव ७६ प्रतिशत मत पाए। यस्तै बार्यन म्युनिखका गोलरक्षक नुयरले १५ दशमलब ७२ प्रतिशत मत पाए।
फ्रान्सका पूर्व स्ट्राइकर थिएरी हेनरीको हातबाट अवार्ड समात्दा रोनाल्डो भावुक बनेका थिए। 'म सबैलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई भोट दिनुभयो। मेरा प्रशिक्षक, रियल म्याड्रिड, सबैलाई धन्यवाद,' अवार्ड समातेपछि रोनाल्डोले भने, 'यो वर्ष मेरा लागि अविस्मरणीय रहनेछ। यो अवार्ड जित्नु वास्तवमै फरक छ।' रोनाल्डोले वर्ष २०१४ मा ४३ खेलमा ५२ गोल गरे भने १७ गोलका लागि सहयोग गरेका थिए।
त्यस्तै जर्मनीकी मिड फिल्डर नडिन केस्लर महिला वर्ष फुटबल खेलाडी भइन्। कोलम्बियाका जेम्स रोड्रिग्वेजले ब्राजिल विश्वकपमा उरुग्वेविरुद्ध गरेको गोल, गोल अफ द इयर घोषित भयो। विश्वविजेता जर्मनीका जोचिम लो वर्ष प्रशिक्षक घोषित भए भने उल्फस्वर्गकी प्रशिक्षक राल्फ केलरमन वर्ष महिला फुटबल प्रशिक्षक घोषित भइन्।

प्रकाशित: १ माघ २०७१ ११:१७ बिहीबार