अन्य

चार करोड ठगेर फरार खड्का पक्राउ

काठमाडौं-चर्को व्याज दिन्छु भनी ४ करोड भन्दा बढी ठगी गरी फरार भएकी बाग्लुङ तिताङ गाविसकी अस्मिता खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनले विभिन्न व्यक्तिहरुलाई ठगी बेपत्ता भएकी थिइन्। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार भक्तपुरको दधिकोटबाट पक्राउ गरेको हो। उनले त्यहाँ डेरा गरी लुकेर बसेको प्रहरीले जनाएको छ।


प्रारम्भिक अनुसन्धानबाट खड्काले बाग्लुङ नगरपालिकाका विभिन्न व्यक्तिहरुलाई शुरु शुरुमा लिएको रकमको चर्को व्याज समेत दिई प्रलोभनमा पर्ने गरेको र ढुकुटी समेत खेलाउने गरेको खुलेको छ। उनले अन्य व्यक्तिहरुलाई देखाउन कस्मेटिक पसल समेत संचालन गरेको र अन्तमा बाग्लुङ बस्ने तारा शाक्य, गोविन्द गौतम, सुमित्रा कार्की, कमला देवी श्रेष्ठ लगायतका विभिन्न व्यक्तिहरुबाट करीव ४ करोड भन्दा बढी ठगी गरी फरार भएको प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङमा पठाइएको छ।

प्रकाशित: २६ पुस २०७१ ०५:१५ शनिबार