–बिपी कोइराला, आफ्नो कथा
चू एन लाईले मलाई कस्तो पारो भने, म जति दिन त्यहाँ बसेँ। उसको अरू केही काम थिएन, केवल मसँग मात्रै, मेरो हेरविचार गरिरहेको मात्रै जस्तो थियो। त्यहाँ त्यसबखत जाडै थियो। चू एन लाईले भनो, यहाँ जाडो छ, बढी इन्तजाम गर्नुपर्छ।
मैले भनेँ, मसँग छँदैछ नि ओभरकोट। उसले भनो, होइन, यसले हुँदैन भनेर मलाई उसले एउटा ओभरकोट दियो। अझसम्म मसँग छ उसले दिएको त्यो ओभरकोट। उसले मलाई ब्रेकफास्टको लागि बोलाएको थियो। ब्रेकफास्ट, लञ्च र बेलुकाको चियासमेत खाएर म आएको थिएँ।
सीमानाको कुरामा माओ त्से तुङ्गले के भनो भने, माउन्ट एभरेस्ट साझा चुचुरो रहोस् र यसलाई मितेरी चुचुरो भनौँ। मैले त्यसलाई मानिनँ। मैले भनेँ यो त हाम्रो देशभित्र परेको हो। त्यसलाई हामीले कसरी साझा गर्ने?
–बिपी कोइराला, आत्मवृतान्त
...
भन्न त एक प्रसिद्ध भारतीय राजनीतिज्ञले हाम्रा राजनेता विश्वेश्वरप्रसाद कोइरालालाई 'महामानव' भनेर सम्बोधन गरेका थिए। यसैको जगमा टेकेर विशेष गरी उनको पार्टी नेपाली कांग्रेस र उनलाई मन पराउनेहरूले महामानव नै भन्दै आएका छन्। त्यसो त मानवभन्दा माथि उठेर देवत्व कर्म गर्ने मानव नै महामानव हो। त्यस्तो कर्म विश्वको लागि, आफ्नो देशको लागि, आममान्छेको हितको लागि गरिएको दैवीशक्तिपूर्ण चामत्कारिक कर्म हुनुपर्छ। आवालब्रह्मचारी बालागुरु षडानन्द रुमालमा बसेर अरुण नदी पार गर्थे रे। मर्यादा पुरुषोत्तम श्रीरामले वानरसेनाको सहयोगमा लंका पार गर्ने पुल बनाएथे। हाम्रै शंखधर साख्वाले बालुवाबाट सुन बनाएर ऋणमोचन गरेथे रे। देख्ने त कोही छैनन्, रेमा चलेका छौं र धर्मशास्त्रमा भर परेर भनिरहेछौं।
बिपी त हाम्रै आँखाअगाडि थिए। उनका कर्मको साक्षी हामीसँगै छँदै छन् अझै। उनले आफ्नो लेखनीमा भनेका पनि छन्, मान्छेले ठूलो होइन असल बन्ने प्रयत्न निरन्तर गरिरहनुपर्छ। उनी आफू असल भएकै कारण अरूलाई पनि असल बन्ने सल्लाह र प्रेरणा दिन सकेका हुन्। एउटा खराब मान्छेले अरूलाई असल बन्न कसरी सल्लाह दिन सक्छ र?
बीसौं शताब्दीमा विश्वको हितको लागि, आफ्नो देशको हितको लागि र आममान्छेको हितको लागि आफ्नो जीवनको पर्बाह नगरी सुनाम कमाएका धेरै राजनेता एक्काइसौं शताब्दीमा आएर पनि उत्तिकै श्रद्धापात्रका रूपमा रहिरहेका छन्। बीसौं शताब्दीका एक दर्जन राजनेतामध्येमा पर्ने बिपी कोइरालाको मित्रराष्ट्र चीनको भ्रमणका अवसरमा भएका कुराकानी र दिइएको सम्मान तथा उनै सानोमा काखमा खेलाउने भारतीय राजनेताले पछि नेपाल र भुटानलाई भारतले एउटै दृष्टिले हेरेको छ भन्दा कडा प्रतिवाद गरेर राष्ट्रियताको बचाउ गर्दै खरो रूपमा प्रस्तुत हुने हकी नेतालाई जुनसुकै उपाधि दिदा पनि नसुहाउने होइन। तर उनको जीवनयात्रा महामानव बन्नेतिरको नभएर असल मानव बन्नेतिरको थियो। विश्वले चिनेको र मानेको एकमात्र नेपालको नेताको रूपमा बिपीलाई जुन उपाधि दिए पनि हुन्छ। उपाधि दिनेहरूको भावना र विचार सफा–स्निग्ध हुनुपर्छ। उनलाई महामानव बनाउँदाको फाइदा अन्य नेतामा प्राप्त होला तर त्यो ग्रहण गर्नलायक क्षमताशील नेता को त? जननायक भनेर हामी कसलाई पुकार्न सक्छौं? राजनेता भनेर कसलाई सम्भि्कन सक्छौं? उनको जन्मशताब्दीको अवसरमा 'महामानव'को उपाधि स्थापित गरेर आफूहरू राजनेता कहलिन धेरै ठूला प्रयत्नहरू गरिए। अझै पनि त्यस्ता यत्न भइरहेकै छन्।
त्यसो त उहिल्यै पनि हामीले नारा नलगाएका त होइनौं– महामानव विश्वेश्वरप्रसाद कोइराला, अमर रहून्। बिपीको सपना– साकार पार्छौं।
उःबेला हामीलाई के थाहा हुनु र उनको सपनाको बारेमा, जबकि आफ्नै सपनाको अर्थ पनि लाग्दैनथ्यो। अलिक पछि थाहा भएथ्यो उनको सपना भनेको त नेपाल र नेपालीको गाँस, बास र कपासको पो रहेछ। उनको सपना भनेको त प्रजातान्त्रिक समाजवादको पो रहेछ। उनको सपना भनेको त राष्ट्रिय मेलमिलापको पो रहेछ। उनको सपना भनेको त सुराज्य व्यवस्था र राष्ट्रिय अस्मिताको रक्षाको पो रहेछ। उनकै सपनामा टेकेर पो महाकवि लक्ष्मीप्रसाद देवकोटाले 'के नेपाल सानो छ?' लेखेका रहेछन्। हामीले त कति छिट्टै फड्को मारेछौं उनका सपनामाथि टेकेर। संघीय गणतान्त्रिक मुलुकको पहिचान स्थापित गर्न माथापच्ची गरिरहेका छौं। रणसंग्रालोमा थिति बसाल्न नसक्दा नेताहरू भन्दै छन्, यति बेला बिपी भइदिनुभएको भए?
प्रतिष्ठा आर्जन गर्ने प्रयत्न कर्मले हुनुपर्छ, रहरले होइन। राजनेता नभएको कारण देश सही बाटोमा हिँड्न नसकिरहेको अवस्थामा कम्तीमा पनि विश्वले चिनेमानेका राजनेता बिपीलाई असल मानवको कोटीमा राखेर अरू नेताहरूको मूल्यांकन गरौं न। कुन नेतालाई कुन स्थान र उपाधिमा सजाउँदा उपयुक्त होला? साँच्चै नेताहरूको मूल्यांकन हुन आवश्यक छ।
माओले माउन्ट एभरेस्टलाई साझा चुचुरो बनाउने कुरामा 'तिमीहरूको आफ्नो नाम त नभएर अंग्रेजी नाम माउन्ट एभरेस्ट भन्छौ, के हाम्रो चुचुरो भन्छौ बेकारमा' भनेर हियाउँदा उल्टै 'तिमीहरुको पो आफ्नो नाम नभएर चोमोलुङ्मा भन्छौ, त्यो त तिमीहरूको भाषाको नभएर तिब्बती भाषाको हो, हाम्रो त किन नहुनु नि? हामी त सगरमाथा भन्छौं' भनेर इतिहासशिरोमणि बाबुराम आचार्यले राखेको नाम सगरमाथालाई अघि सारेर प्रतिवाद गर्ने हकी राजनेतालाई हामीले कुन रूपमा मूल्यांकन गर्ने? जसले काखमा राखेर खेलाएथ्यो, उसैलाई मुखभरिका जवाफ फर्काउन सक्ने राष्ट्रभक्त नेतालाई कुन कोटीमा राखेर अरूलाई ठूला नेता भनेर मूल्यांकन गर्ने?
व्यक्तित्व त्यसै बन्दैन, परीक्षणका कसीमा घोटिएर बन्ने हो। शालिग्रामलाई कालो ढुंगोको रूपमा मात्रै चिन्नेहरू पनि त छन् नि। कालीगण्डकीको प्रवाहको मेहनत र ढुंगाको संघर्ष अरू नदीहरूमा किन देखिएन? सबै नदीमा शालिग्राम पाइने थियो त कालीगण्डकीको महिमा यतिविधि किन हुन्थ्यो।
बिपीलाई हतकडी र नेल लगाएर महिना दिनसम्म हिँडाएको बाटोमा उनका अनुयायीहरू हिँड्नलाई सय वर्ष कुर्नुपर्योन। बाटोमा हिँड्न जति सजिलो थियो सपनामा हिँड्न पक्कै सजिलो हुने छैन। उनका सपनालाई आफैंभित्र छरपस्ट पारेर छिरोलिएको अवस्था छ। कसरी पो पूरा गरिएलान् र उनका सपनाहरू? वास्तवमा उनका विचार सपना थिएनन्, ती त योजना थिए। विकासका योजना, जिउनका लागि आधारभूत आवश्यकता पूरा गर्ने योजना। योजनालाई सपनामा बदलेर व्याख्या गरिदिएपछि कसरी पूरा हुन्थे ती योजनाहरू? सपना त केवल देख्नका लागि हो, कल्पनाको उडान! के एउटा नेपालीको बस्ने आफ्नै घर, खन्ने आफ्नै जमिन र ओलन खान आफ्नै गाई होस् भन्नु सपना हो? हामी आफैंमा स्वतन्त्र राष्ट्र हौं, हामीलाई हेप्ने दुस्साहस नगर भनेर आफ्नो समान अस्तित्व स्वीकार्न बाध्य पार्नु सपना हो? धन्नका छन् हाम्रा योजनाकारहरू? तीस वर्ष पञ्चायतलाई गाली गर्नमा र पार्टीलाई प्रतिबन्ध लगाउनमै बित्यो। पन्ध्र सालमा बाटो खन्न लगिएका डोजर पाखोमै सडे। साठी वर्ष पछि परेको हेक्का कसैले राखेको छ कि छैन बनेपा–बर्दिबासको बाटोमा? क्रान्तिकारी भूमिसुधार योजना उति बेलै लागू गरिएको भए अहिलेको सुकुम्वासी समस्याले यसरी विकराल रूप लिन्थ्यो होला र? के यी सबै सपना थिए र? योजनालाई तुहाएर सपना बनाइदिनेहरू नै ठूला मानव भएका छन्, राजनेता कहलिएका छन्। कस्तो दृष्टिदोष!
समकालीन भारतीय नेताहरूको त कुरै भएन, गान्धी, नेहरूले पनि आदर सम्मान गर्ने, विश्वका अन्य देशका नेताहरूमा पनि माओ, चाउ एनलाई, ख्रुस्चेव, जोन एफ केनेडी, मोहमद अली जिन्ना, भुट्टो, टिटो, नासेर, कोभन्दा कम थिए र हाम्रा बिपी? सबैसँग उत्तिकै राम्रो मित्रतापूर्ण सम्बन्ध राख्न सक्नु राजनेतामा हुनुपर्ने खाँट्टी गुण हो कि होइन? आफूभन्दा ठूलो र विश्वले मान्ने भएको हेर्न नसक्ने दूषित मनस्थितिको कोपभाजनमा पर्नुले देशकै दुर्भाग्य निम्त्याइदियो। उल्टो यात्रामा हिँडेर कहाँ पो पुग्न सकिन्थ्यो र!
बिपीले सिर्जेको साहित्य उनको चिन्तन हो। जेलका कठिन दिनमा पनि दर्जन कृतिहरू सिर्जना गर्ने सामर्थ्य राख्ने नेपाली साहित्यका शिखर व्यक्तित्वलाई सलाम! उनले बुनेको योजनालाई सलाम! असल मानवलाई सलाम!
प्रकाशित: २५ पुस २०७१ २३:४२ शुक्रबार