अन्य

नेपाली भर्सनको बुलफाइट

स्पेन, फ्रान्स, पोर्तुगल, मेक्सिको, इक्वेडरलगायत देशमा हुने बुलफाइटका फुटेजहरू टेलिभिजनका पर्दामा बारम्बार देखिन्छन्। सृष्टिकै श्रेष्ठ प्राणी मान्छेले एउटा निरीह पशुमाथि धारिला तरबार बर्साएर क्रूरता र बर्बरता प्रदर्शन गर्ने यो खेलको आलोचना गर्ने जति छन्, यसमा रमाउने पनि उत्तिकै छन्। तर बहुसंख्यक नेपालीको हकमा भने मान्छे र पशुबीचको त्यो अप्राकृतिक भिडन्तको प्रत्यक्ष अवलोकन कल्पनाभन्दा निकै पर छ। बरु, त्योभन्दा शालीन बुलफाइट चाहिँ स्वदेशमै हेर्न पाइन्छ। जसले पछिल्लो समय हजारौं दर्शकलाई मनोरन्जनसँगै एउटा गुमनाम गाउँलाई राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा चिनाइरहेको छ।वाकोटको तारुका। कुनै समय जिल्ला र वरपरकाले मात्रै चिन्थे। बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ। भान्जालाई स्वागत गर्न मावलीले देखाएको गोरुजात्रा निरन्तरताले स्वदेशी र विदेशी आम सञ्चारमाध्यममा स्थान पाउँदा तारुका चर्चित हुन थालेको हो। हरेक वर्ष माघे संक्रान्तिका दिन तारुकाको चन्दनीमा हुने बुलफाइट हेर्न अचेल बाहिरी जिल्लाबाट पनि हजारौंको संख्यामा दर्शक आउन थालेका छन्। गत वर्ष १० हजारभन्दा बढीले बुलफाइट हेरेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार बझाङी राजा सिंह मावली गाउँ तारुका आउँदा गोरु जुधाएर उनको स्वागत गरिएको थियो। त्यही बेलादेखि गोरु जुधाउने परम्परा सुरु भएको स्थानीय बताउँछन्। विगतमा कोडाँडा, चन्दनी, ठूलोपोखरीलगायत ठाउँमा आयोजना गरिने बुलफाइट छ वर्षयता तारुका–२, चन्दनी हाँपचौरमा भइरहेको छ।

प्रतियोगितामा दर्जनौं गोरुपालक किसानले आफ्ना बहर गोरुलाई सहभागी गराउँछन्। चामल, अन्डा, मकैलगायत पोषिलो खानेकुरा खुवाएर पालिएका रहरलाग्दा बहरहरूको फाइट आफैंमा रोमान्चकारी हुने बुलफाइटका दर्शक बताउँछन्। गत वर्ष १९ हल जुधेका थिए। यसपालि पुस २३ गतेसम्ममा १६ हल दर्ता भएको माघे संक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बख्रेलले जानकारी दिए।

बुलफाइट प्रवर्द्धन गर्न केही वर्षदेखि पर्यटन मन्त्रालयले समेत सहयोग गर्न थालेकोले यो अझ व्यवस्थित भएको राष्ट्रिय स्तरमा बुलफाइट प्रवर्द्धनमा लागिपरेका तारुकाका शिव अधिकारी बताउँछन्। उनका अनुसार यो बुलफाइटलाई विदेशी सञ्चारमाध्यमले पनि पछ्याउन थालेका छन्। गत वर्षको भिडन्त कभरेज गर्न सिन्ह्वा, एएएफी जस्ता अन्तर्राष्ट्रिय सञ्चार संस्थाका पत्रकार तारुका पुगेका थिए।

बुलफाइटको बहानामा तारुका पुग्दा पहाडी जीवनशैली, चालचलनलाई नजिकैबाट नियाल्न पाइन्छ। सिँचाइ अभावमा बाँझै बसेका फुस्रा पाटा र परम्परा धानेर बाँचिरहेका शुद्ध पहाडियाको मनोविज्ञानसँग साक्षात्कार गर्न पनि यो उपयुक्त मौका बन्न सक्छ।

कसरी पुग्ने?
तारुका काठमाडौं, धुलिखेल, चितवन, गोरखाजस्ता ठाउँबाट धेरै टाढा छैन। काठमाडौंबाट जानको हकमा कलंकी गल्छी हुँदै जाँदा ५७ किलोमिटरमा पर्ने तारुकाघाट पुग्न काठमाडौं–त्रिशूली चल्ने बस र माइक्रो पाइन्छ। धादिङको गल्छी, नुवाकोटको त्रिशूली, देवीघाट र पिपलटारबाट गल्छी–त्रिशूली चल्ने लोकल बसले तारुकाघाट पुर्याकदिन्छ। तारुकाघाटको झोलुंगे पुल तरेर पारि गएपछि लोकल गाडी पाइन्छ। मोटरसाइकलमा जानेले झोलुंगे पुल तारेर कार्यक्रमस्थलसम्मै लैजान सक्छन्। बसबाट ओर्लेपछि हिँडेर जाने हो भने पहाडी बाटो एक घन्टाजति हिँड्नुपर्छ। जाडो मौसम र पहाडी रहनसहनको अनुभव लिन पाइने हुँदा पैदलयात्रा निकै रोमान्चकारी हुन्छ। बरु जुत्ताचाहिँ पहाडी बाटोलाई सजिलो हुने लगाएर जाँदा राम्रो। मोटरसाइकलमा जानेले त पहाडी धुलेबाटोमा बाइक कुदाउँदाको रोमान्चक अनुभव सँगाल्न पाउँछन्। सिधै गाडीमा जाने हो भने बिदुर नगरपालिकाको सिँचाइबाट पक्की पुल तरेल खड्गभञ्ज्याङ हुँदै कच्ची बाटोबाट कार्यक्रमस्थलमै मोटरमा पुगिन्छ।

के लैजाने?
काठमाडौं, धुलिखेल, चितवन, गोरखासम्म बसोबास हुनेहरू तारुका बिहान गएर बेलुका फर्किन सक्छन्। यसो हुँदा हल्का ड्राइफुड बोके पुग्छ। केही नलगे पनि राजमार्गमा खाना, गाउँले चमेनागृहमा चाउचाउ, बिस्कुट, तरकारीजस्ता खानेकुरा पाइन्छ। कार्यक्रमस्थलमै पनि प्रशस्त अस्थायी चमेनागृह हुन्छन्।

प्रकाशित: २५ पुस २०७१ २१:५२ शुक्रबार