पाँचथरको दक्षिणी क्षेत्रको रवि गाविसमा पर्छ, जरिबुटे। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने रवि भौगोलिक रूपमा सुन्दर छ भने सांस्कृतिक, सामाजिक रूपमा सभ्य। ग्रामीण पर्यटनको राम्रो गन्तव्य बन्न सक्छ यो गाउँ।
दक्षिणी क्षेत्रको व्यापारिक प्रतिनिधित्वसमेत गर्ने चिसो हावपानी भएको रवि सौन्दर्य, संस्कार, संस्कृति, खानापानले रसिलो छ। साधु समुदायको बसोबास भएकाले रक्सी, मासु प्रयोग कम हुने गरेकाले रवि रसिलो मानिन्छ।
चिटिक्क घर, घरैपिच्छे सजाइएका फूल, पाहुनालाई स्नेहका साथ सम्मान गर्ने बानीले दोहोर्यााएर जाऊँजाऊँ लाग्छ। घुर्मिला पहाडका शृंखला भएको जरिबुटे डाँडा, रवि बजार, यावाराङ झरना, सेचेलेङमा चिया बगान, टोलैपिच्छे बनाइएका मन्दिर घुम्नलायक छन्।
ग्रामीण बस्तीको खेतीप्रणाली, बसोवास अरूतिर भन्दा फरक छ। यहीँनेर केही दिन घुमेर रमाउन सकिन्छ। यहाँका बस्ती आकर्षकमात्र छैनन्, सफाइले चिटिक्क छन्।
काठ र जस्ता प्रयोग गरी कलात्मक किसिमका घरसमेत बनाइएको छ। हरेक घरमा भिन्न जातका फूल सजाइएको स्थानीय सरस्वती राईले बताइन्। 'घरैमा बिरुवा उत्पादन गरेर गमलामा सजाउँछौ,' उनले भनिन्, 'यहाँ सांस्कृतिक सद्भाव पनि राम्रो छ।'
रविको इतिहास
रविकर्ण राईको नाममा रवि बजार स्थापना भएको हो। विसं १८३० मा खोटाङको मानेडाँडामा जन्मिएर १८५५ मा हालको रवि बजारमा आएका राईले खनजोत गर्न नमिल्ने औसी–पूर्णिमाका दिन उखु मेला आयोजना गरेका थिए। त्यही मेला विस्तार गर्दै उनकै अगुवाइमा इन्दे्रणी मेलाको नाम दिएर बजार विस्तार गरेको बूढापाका बताउँछन्। तत्कालीन चारथुमका सुब्बा र रैतीले चुम्लुङ गरी इन्दे्रणी मेलाको नाम परिवर्तन गरेर राईकै नाममा 'रवि' बजार राखिएको पत्रकार गणेश साम्पाङ बताउँछन्।
वस्तु विनिमय प्रणालीलाई राईले विकास गरेर रविलाई व्यापारिक क्षेत्र बनाउन पहल थालेका थिए। रविमा ठूलै बजार छ।
प्राकृतिक छटा
प्राकृतिक छटाले रवि आकर्षक छ। सूर्योदय, हिमशृंखला, पहाडी बस्ती तथा डाँडा आकर्षक देखिन्छ, जरिबुटेबाट। विभिन्न जिल्ला अवलोकन गर्न सकिन्छ। मंसिर १५ गते सूर्योदयको पूजा गर्नेको भीड लाग्छ। गाविस परिषद्मार्फत यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि प्रयास थाल्ने तयारी भएको गाविस सचिव रमेश ताम्लिङले बताए। सडकको स्तरान्नति र भ्युटावर बनाउने काम अघि बढ्दै छ।
करिव ७० मिटर उचाइमा यावाराङ झरना छ। झरनाले सबैलाई मोहित तुल्याउँछ। सेचेलेङमा चिया बगान छ। अर्गानिक चिया उत्पादन हुने चिया बगान क्षेत्र अत्यन्त सुन्दर देखिन्छ। यहाँ मजिटो, चिरैतो, चिम्पि्कङजस्ता जरिबुटी पाइन्छ।
जरिबुटेबाट अँगालोमै हिमाल देखिन्छ।
संस्कृति
केहि वर्षअघिसम्म रविका कुखुरा पनि बास्दैनन् भनिन्थ्यो। माछा, मासु, जाँड, रक्सी कम प्रयोग हुन्छ। मन्दिरैमन्दिर भएको गाउँ भनेर चिनिने रविमा विभिन्न धर्मसँग सम्बन्धित मन्दिर छन्। आध्यात्मिक वातावरण छ। त्यहाँ स्वामी प्रपन्नाचार्यले ध्यान गरेको स्वर्गद्वारी, शिवालय, विष्णुलयजस्ता मन्दिर छन्। गुम्बा छन्। किराँतीले आस्थाका साथ आराधना गर्ने बेहुली ढुंगा पनि छ।
राई जातिको बाहुल्य रहेको रविमा हिन्दु, किराँत, बौद्ध इसाई मिलेर बसेका छन्। धार्मिक महोलले आनन्दित तुल्याउँछ।
बसोबास
बस्नलाई रवि मज्जाको छ। चिसो हावापानी, मिठो खाना। काठ, ढंुगा माटोका कलात्मक घर छन्। सफाचट बस्न रुचाउँछन्, रविवासी। उनीहरूका घरघरमा फूल सजाइएको हुन्छ। चिसो मौसम भएको रविमा अत्यन्त सुन्दर युवायुवती भेटिन्छन्। धेरैका गाला स्याउझैं राता छन्। कम बोल्ने रविवासीको विशेषता।
रवि ग्रामीण जनजीवन अध्ययनको राम्रो गन्तव्य भएको साहित्यकार सगुन सुसारा बताउँछन्। झगडा कम हुने रवि शान्त मानिन्छ। गाउँको शैक्षिक स्तर निकैमाथि पुगेको छ। यहाँ स्नातकसम्म अध्ययन गराउने कलेज छ।
यहाँका धेरै व्यक्तिले ख्याति बनाएका छन्। भूगोल, बसोबास तथा रहनसहनका हिसाबले रविमा रमाउन सकिएको स्थानिय उर्मिला राई बताउँछिन्। रविमा साकाहारी खानाको राम्रो व्यवस्था हुन्छ।
विशेषतः केरा, ऐँसेलु र आल्चाको जुस पाइन्छ। अकबरे खुर्सानीका साथ स्थानीय परिकार चाख्न सकिन्छ। भुटेको मकै, भटमास, गुन्द्रुक, दाल, फापरको रोटी, तरकारीको स्वाद लिन पाइन्छ।
बजारमा होटल छन् तर बाहिरका घरमा बस्न उपयुक्त हुन्छ। होमस्टे शैलीका घरमा। सोलारले झलमल्ल बन्छन्, घरहरू।
गाउँमा ढाका कपडाका सामान उत्पादन गरिन्छ। अर्गानिक चिया, जडिबुटी र फूलका बिरुवा कोसेली लान सकिन्छ।
रवि पुग्न त्यति गाह्रो छैन। मेची राजमार्गअन्तर्गत पाँचथरको राँकेवाट २६ किलोमिटर कच्ची सडकबाट रवि पुगिन्छ। जीप चल्छन्। भाडा पाँच सय रुपैयाँ। झापाको दमकवाट इलामको लारुम्बा, चिसापानी हुँदै पनि पुगिन्छ। जीप र बसमा, भाडा पाँच सय रुपैयाँ।
पदयात्रा गर्ने हो भने, मेची राजमार्गको राँके बजारबाट पञ्चमी, उत्तरे, दशमी हुँदै जानुपर्छ।
प्रकाशित: १८ पुस २०७१ २२:५९ शुक्रबार