मित्र भोजराजजीले नारायणघाटबाटै खाना अर्डर गरेका थिए। हामी मेचमा बसेपछि टेबुल भरियो खानाले। कचौराभरि कुखुराको मासु, रायोको साग र आलुको तरकारी। काँक्रो र मुलाको सलाद। पापड। लोकल घ्यू। र, थालमा भात। थरीथरी अचार– मुला, गोलभेडा, अमिलो र टिम्बुरको।
फरासिला होटल सञ्चालक। थपीथपी खुवाए। आफ्नै घरमा खाएजस्तो। पेट भरियो तर मन भरिएन। तीन जनाले खाएको ७५० रुपैयाँ। हामी पुग्नेबित्तिकै उनीहरूले सुन्तला खुवाएका थिए। सुन्तला र मिठो व्यवहारको त हिसाब किताबै भएन।
दालभात, मकैको ढिँडो, रोटी, लोकल कुखुरा, खसी र मर्स्याङ्दीका माछा पाइँदो रहेछ। साथमा राँगो र बंगुरको सकुटी। गुन्द्रुकको छोप पनि।
प्रायः निज िवा रिजर्भ बसमा आइपुग्छन् ग्राहक। अर्डरव्निा खाना पाक्दैन। तात्तातो। स्वादिलो। कति त कोचीकोची खान्छन्। पेट चर्कियो भनेर निकै बेर आराम गरेरमात्र निस्किँदा रहेछन्। धेरैपटक शान्ति होटल धाइसकेका भोजराजजी सुनाउँदै थिए, 'सबैभन्दा मिठो यहाँको पारिवारिक वातावरण।'
दीपक र चन्द्रमान मगरको परिवारले चलाएको होटल। विद्यार्थीदेखि भिआइपीसम्म उनीहरूका ग्राहक। ती दोहोरिएर आइरहन्छन्। होटलमा आइपुग्नु घन्टौं पहिल्यै फोन गर्छन्। के खाने हो अर्डर गर्छन्।
सादा खानाको डेढ सय। मासुसहितको दुई सय रुपैयाँ। भिआइपी सेटको मूल्य परिकारअनुसार हुन्छ। धेरै भिआइपीले यहाँको खाना हात चाटीचाटी खाइसके।
चन्द्रमानसँग दर्जनौं भिआइपीको लिस्ट छ। कलाकार, लेखक, पत्रकार, डाक्टर, नेता, खेलाडी धेरैको रोजाइमा परेको शान्ति होटल। जहाँ खाना खाएपछि मन शान्त बन्छ।
हिँडेर मनकामना उकालिने ठाउँमा छ, होटल। ०३२ सालमा खोलिएको। त्यहाँ बास बस्न आठ कोठा छन्। दिनरातै खुला हुन्छ।
दसैंपछि भ्याइनभ्याई हुन्छ। किनकि दसैंदेखि मंसिरसम्म हिँडेर मनकामना जानेको लर्को छुट्छ।
प्रकाशित: १८ पुस २०७१ २२:५६ शुक्रबार