अन्य

खोला तार्ने मान्छे

चितवनको टाँडीबाट सौराहा जाँदा बाटोमा चित्रसारीघाट आउँछ। त्यहाँ बूढी राप्तीमाथि पक्की पुल छ। पुल ०५६ सालमा बनेको। त्यसअघि सजिलो थिएन, वारपार गर्न। डुंगामा मान्छे तार्नुपर्थ्यो।जीवनको ठूलो कालखण्ड त्यही घाटमा बिताए, बद्री माझीले। दिनरात नभनी मान्छे तारे। स्थानीयमात्रै होइन, पर्यटक पनि। ज्यालास्वरूप उनी केही पैसा पाउँथे। गाउँले हरेक वर्ष प्रति परिवार एक पाथी धान दिन्थे।

काठको ठूलो डुंगामा २५ जना अटाउँथे। कहिलेकाहीँ डुंगा पल्टिन्थ्यो। उनी पौडेर सबैलाई बचाउँथे। उनी छँदा कसैको ज्यान गुमेन। सौराहास्थित युनिक वाइल्ड लाइफ रिसोर्टका सञ्चालक केशव पाण्डे भन्छन्, 'एकपटक खोलाले बगाउँदा तिनले मलाई पनि बचाएका थिए।'

दुई छोरा र चार छोरीको परिवार घाटकै कमाइले पाले। पुल बनेपछि उनको रोजीरोटी खोसियो। बुढ्यौलीमा फुर्सद पाए। अहिले १०७ वर्षका भए। अचेल चित्रसारीघाट नजिकैको गोठौलीमा बस्छन्।

पुराना दिन सम्झँदा रोमाञ्चित बन्छन्, उनी। जवानीमा महशुर थिए। गाउँमा गैंडा आउँथे। आलु र धान खान्थे। पुच्छर निमोठेर तिनलाई धपाएको जोसिँदै सुनाउँछन्, उनी।

बुढ्यौलीले आँखा र कान कमजोर। ढाड दुख्ने समस्या। देब्रे आँखा मुन्तिर घाउ भएको धेरै वर्ष भइसक्यो। निको भएको छैन।

एघारौं हात्ती महोत्सव उद्घाटनका दिन पुस ११ गते सौराहामा उनलाई क्षेत्रीय होटल संघ चितवनले सम्मान गर्यो । वनमन्त्री महेश आचार्यका हातबाट सम्मानपत्र थाप्दा गद्गद् भए।

महोत्सव संयोजक सुमन घिमिरे भन्छन्, 'स्थानीय र पर्यटकलाई खोला तारेर गुन लगाएकाले हामीले सम्मान गरेका हौं।'

एक बिहान हामी गोठौली पुग्दा माझीले निकै बेर सम्मानपत्र छामछुम पारे। त्यति बेला उनको अनुहारमा उज्यालो पोतिएको थियो।

प्रकाशित: १८ पुस २०७१ २२:५४ शुक्रबार