संयुक्त अपरेसनका क्रममा ब्युरोले नेपालमा फिरौती रकम पठाउन संयोजन गरेको आरोपमा सुजन यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बैंकक गएर अनुसन्धानको संयोजन गरेका ब्युरोका एसपी पीताम्बर अधिकारीका अनुसार अलीसहित उनका सहयोगी अली बट, अली रसाद र सारान बट पक्राउ परेका छन्।
बैंककको एजप्सन विश्वविद्यालयमा अध्ययनरत कर्ण हाछेथू, विभूष रिजाल र रोनिस श्रेष्ठ गत पुस ४ गते अपहरणमा परेका थिए। पार्टी मनाउन जाने क्रममा अपहरित उनीहरूलाई नेपाल प्रहरी र बैंकक प्रहरीको संयुक्त टोलीले ८ गते अपहरणमुक्त गराएको थियो। यी तीन विद्यार्थीको अपार्टमेन्टनजिकै अलीको रेस्टुरेन्ट थियो। त्यहीँ जाने क्रममा उनीहरूसँग चिनापर्ची भएसँगै अलीले अपहरण योजना बनाउन थालेका थिए। अलीले ४ गते शुक्रबार राति ११ बजे रमाइलो गर्न पब जाने भन्दै झुक्याएर ती विद्यार्थीलाई अपार्टमेन्ट पुर्याअई बन्धक बनाएका थिए।
प्रहरीले सोही अपार्टमेन्टबाट पाकिस्तानी नागरिक युकस रेहमान र थाई नागरिक मोहम्मद जलिरलाई पक्राउ गरेको थियो। उनीहरूको बयानमा नेपालबाट मातृका यादव नेतृत्वको नेकपा (माओवादी) का वैकल्पिक केन्द्रीय सदस्य सुजन यादव (श्रीचन) ले हुन्डीमार्फत फिरौती रकम पठाउन संयोजन गरेको खुलेपछि ब्युरोको टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो।
पुस १३ गते थाई प्रहरीले घटनामा संलग्न आरोपमा यादवकी जेठी सासू सरिता भेटवाल, उनका पति भारतीय नागरिक जोनपी सहित चार जनालाई पक्राउ गरेको थियो। अपहरणकारीले विद्यार्थीका अभिभावकसँग प्रतिव्यक्ति १ करोड फिरौती रकम माग गरेका थिए। भेटवाल र जोनले यादवमार्फत सो रकम बैंकक झिकाउने तयारी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
प्रकाशित: १७ पुस २०७१ २०:१० बिहीबार