अन्य

तमु ल्होछारः एक विवेचना

ल्हो पद्धतिको उत्पत्ति र विकास चीनमा भएको हो। त्यहाँबाट विश्वका अन्य मुलुकमा यस पद्धतिको प्रचारप्रसार भएको हो। अहिले एसिया महाद्वीपका ९५ प्रतिशत मुलुकमा ल्हो पद्धति प्रचलित छ। ल्हो, मेवा र पार्ग यस ज्योतिषपद्धतिका प्रमुख विधा हुन्। ल्हो बाह्रओटा हुन्छन्।
विभिन्न बाह्रओटा पशुपक्षीका नामबाट बाह्र्रओटा ल्होको नाम रहेको छ। ल्हो पद्धतिको बाह्र ल्हो र भारतीय ज्योतिषपद्धतिको बाह्र राशिसम्बन्धी अवधारणा बीच अन्तरसम्बन्ध पाइन्छ। पार्ग भनेको एक किसिमको कुण्डली हो। पार्गलाई चिनियाँ भाषामा पुक र तिब्बती भाषामा पार्ख भन्दछन्। गुरुङ भाषामा चाहिँ यस चक्रलाई पार्ग भनिन्छ।लो (तिब्बतीः लो) भनेको वर्ष अथवा संवत् र सर (तिब्बतीः ग्सर) भनेको नयाँ हो। अतः लो सर (तिब्बतीः लो–ग्सर) को अर्थ नयाँ वर्ष हो। गुरुङहरू सौरमासअनुसार पुस १५ गतेका दिन तमु ल्हो छार मान्दछन्। तमु (गुरुङ) समुदायले मान्ने नयाँ वर्ष हुनाले यस पर्वलाई तमु ल्होछार भनेको हो। तिब्बती भाषाको लो–ग्सर शब्दबाट गुरुङ भाषाको ल्हो छार शब्द बनेको छ। अतः लो–ग्सर मूल शब्द हो भने ल्हो छार चाहिँ तत्भव शब्द हो। गुरुङहरूको तमु ल्हो छार तिब्बती तोल लो सरको एउटा विकसित रूप हो।
 
ल्होछार हो कि ल्हो सार हो ?
अहिले गुरुङहरूमा ल्होछार हो कि ल्हो सार भन्ने विवाद खूब चलेको छ। बाह्र वर्षमा त्यही ल्हो दोहोरिएर आउने हुनाले त्यसलाई छार (नयाँ) भन्न हुँदैन भन्ने मान्यता छ। यसैगरी ल्होछार नभनेर ल्होसार भन्नु पर्दछ भन्ने विचार प्रवाह भएको पाइन्छ। गुरुङ भाषामा सार शब्दले कुनै पनि फल र अन्न फल्नुभन्दा अघिको उक्त फल र अन्नको फूललाई बुझाउँछ। जस्तै – नन सार (तोरीको फूल), लगैँ सार (कँँक्राको फूल) आदि। यसरी सार शब्दले कुनै पनि फल र अन्नको फूल फुल्नु भन्ने अर्थ बुझाउँछ। गुरुङ भाषामा सारब र प्हारब भन्ने दुइटा शब्द छन्। माथि भनेझैँ सारब शब्दले कुनै पनि फल र अन्नको फूल फुल्नु भन्ने अर्थ बुझाउँदछ भने प्हारब शब्दले फल र अन्नको फूल नभइकन ट अथवा फूल फुल्नु भन्ने अर्थ बुझाउँदछ, जस्तो— ट प्हारब (फूल फुल्नु) आदि। यसरी सार, सारब र प्हारब शब्दको भिन्दाभिन्दै अर्थ छ। अतः ल्हो सार भन्ने वाक्य प्रयोग गर्ने हो भने नन सार, लगैँ सार भनेजस्तै ल्हो अथवा वर्गको फूल भन्ने अर्थ हुन्छ। यसैगरी ल्हो सारब भन्ने हो भने ल्हो अथवा वर्ग फुल्नु भन्ने अर्थ हुन्छ। एउटै फलको बोट वर्षैपिच्छे फल दिनको लागि फुलेजस्तै १२ वर्षमा दोहोरिएर आउने ल्होलाई सारब भनेर अर्थ गर्न नसकिने होइन तर तमु भाषामा केही समस्या पर्‍यो भने त्यसको समाधानको लागि तमु भाषाको सहोदर भाषा तामाङ भाषाको सहारा लिनुपर्दछ र त्यसबाट पनि समस्या समाधान हुन सकेन भने आफ्नो मूल भाषा तिब्बती भाषाको सहयोग लिनु अत्यावश्यक छ।
तिब्बती भाषाको लो शब्दबाट गुरुङ भाषाको ल्हो शब्द बनेको छ। तिब्बती भाषामा लो शब्दले सम्वत्, वर्ष र उमेर भन्ने अर्थ बुझाउँछ। यसैगरी तिब्बती भाषामा सर ब शब्दले नयाँ भन्ने अर्थ बुझाउँदछ र त्यही सर व शब्दको छोटकरी रूप सर हो। अतः तिब्बती भाषाको लो सर शब्दले नयाँ वर्ष भन्ने अर्थ बुझाउँदछ। बाह्र वर्षमा उही लो आउने भए तापनि चीन, तिब्बत आदि देशहरूमा त्यस लो (वर्ष) लाई नयाँ लो (वर्ष) मान्ने चलन छ।
तिब्बती भाषाको छ्यु (पानी) शब्दबाट गुरुङ भाषाको क्यु (पानी) शब्द बनेजस्तै तिब्बती भाषाको सर ब अथवा सर शब्दबाट गुरुङ भाषाको छार शब्द बनेको छ। त्यसकारण तिब्बती भाषामा लो सर भनिन्छ भने गुरुङ भाषामा त्यसैलाई ल्होछार भनिन्छ। लो सर तिब्बती भाषाको मूल शब्द हो भने ल्होछार चाहिँ त्यस मूल तिब्बती शब्दबाट बनेकोे तत्भव शब्द हो भन्ने कुरा यसअघि नै उल्लेख भइसकेको छ। यसरी १२ वर्षमा उही ल्हो आउने भए तापनि भाषिक विकास एवं शब्द निर्माणको प्रकृया र चलनचल्तीको आधारमा त्यस ल्होलाई छार (नयाँँ) मानिएको हो। अतः ल्होछार शब्द गुरुङ भाषाको परम्परागत शब्द हो। त्यसकारण ल्होछार शब्दको प्रयोग नै उपयुक्त छ।
अर्को कुरा सौरमासअनुसार पुस १५ गते ल्होछार मान्ने परम्परा केवल गुरुङहरूमा प्रचलित छ। अतः पुस १५ गते मनाइने ल्होछार चाहिँ तमु ल्होछार हो। तमु ल्होछारको सम्बन्ध तिब्बतको सर्व प्राचीन तोल लो सरसँग रहेको छ। चन्द्रमासअनुसार ग्याल्द छेचि (पौषशुक्लप्रतिपदा) को दिनमा तोल लो सरको प्रवर्तन हुन्छ। तोल लो सरको सम्बन्ध केवल प्रकृति अथवा सूर्य दक्षिणायणबाट उत्तरायणतिर लाग्ने अथवा सूर्यको गतिबाट रात लामो र दिन छोटो हुने क्रमको अन्त भई रात छोटो र दिन लामो हुने क्रम सुरु हुने दिनसँग रहेको छ। त्यसकारण पुसमा मनाइने तोल लो सर नै ग्याल्पो लो सर हो किनभने पुसलाई ग्यालदावा, माघलाई छुदावा र फाल्गुणलाई वोदावा भनिन्छ। ग्यालत्योए (पुनर्वसु) नक्षत्र भनेको नवीकरण र ग्यालम्ये (पुष्य) नक्षत्र भनेको पुष्टिवद्र्धन हो। अतः ग्याल म्ये अथवा पुष्य नक्षत्रबाट नाम रहेकोले ग्यालदावा अर्थात् पौष अथवा पुुस नाम रहेको हो। त्यसकारण ग्याल्द छेचि (पौषशुक्लप्रतिपदा) मा प्रवर्तन हुने तोल लो सर नै वास्तविक ग्याल्पो लो सर हो।
 
ल्हो अथवा वर्ग कुन समयदेखि फेरिन्छ ?
पुस १५ गते जन्मेका मानिसहरूको ल्हो अथवा वर्ग हुँदैन। त्यसकारण पुुस १५ गते जन्मेका मानिसहरूको फोबोँ ल्हो (चमेरो वर्ग) हुन्छ भन्ने भनाइ पनि छ। आजकल रातको १२ बजेदेखि ल्हो अथवा वर्ग फेरिन्छ भन्ने मान्यता बढ्न थालेको छ। रातको १२ बजेदेखि अर्कै दिन र वार सुरु हुन्छ भन्ने मान्यता पश्चिमेली अथवा युरोप, अमेरिकातिरको मत हो। पूर्वीय मान्यता अथवा भारतवर्षको मतअनुसार सूर्योदय अथवा घाम झुल्केपछि मात्र अर्को दिन र वार सुरु हुन्छ।
तिब्बती भाषामा सूर्य वा दिनलाई न्हिम भनिन्छ भने तमु चि (गुरुङ ज्योतिषशास्त्र) मा दिन र तिथिलाई ङ्हिम भनिन्छ। तिब्बती भाषाको न्हिम शब्दबाट गुरुङ भाषाको ङ्हिम शब्द बनेको छ। तिब्बती र गुरुङ दुवै ज्योतिषशास्त्रले सूर्योदय अथवा घाम झुल्केपछि नयाँ दिन र वार सुरु हुन्छ भन्ने मान्यता राखेको छ। त्यसकारण पुस १५ गतेका दिन सूर्योदय अथवा घाम झुल्केपछि ल्हो अथवा वर्ग फेरिन्छ भन्ने हाम्रो परम्परागत मान्यता छ। गुरुङहरूको पुरानो परम्परा र पद्धतिअनुसार मृत्यु संस्कार अर्घौ गर्दा पहिलो दिनको मध्यरातमा च्ह््य च्ह््युजि नाँ अन्होबये पदोँर (चरा–चुरुंगीहरू उज्यालो भयो भनेर चिरबिराउनुभन्दा अघि), पोबजि ट्हो अख्रेबये पदोँर (चमेरो उडेर डोरो नचिथरि सकेको बेलामा), हेउजि क्याँ अथोबये पदोँर (मलसाँप्रोले बाटो काट्नुभन्दा अघि), म्हीँन्होबये पदोँर (मध्यरातको बेलामा), च्ह क्होँजजि प्ह स्यारदो अथवा किरियापुत्री छोराले मृतकलाई प्हकैँ (पिण्ड) दिने चलन छ। त्यसकारण किरियापुत्रीले मृतकलाई पिण्ड दिने मध्यरातको समयमा ल्हो फेरिन्छ भन्नु गुरुङहरूको आदिम मान्यता र संस्कृतिविपरीत कुरा हो। आफ्नो आदिम मान्यता र संस्कृति नबुझेको मानिसले मात्र यस्तो कुरा गर्दछ। आजको सन्दर्भमा नेपालको प्रामाणिक समय भनेको लन्डनस्थित ग्रिनविच शून्य डिग्रीदेखि ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरस्थित गौरीशंकर हिमालको समय हो। अतः गौरीशंकर हिमालको टुप्पोमा झुल्के घाम लागेपछि नेपालमा दिन, वार र नयाँ वर्ष शुभारम्भ हुन्छ।
 
ल्होछार कसरी मनाउने ?
यदि तिहारमा देउसी, भैलो खेलेको भए त्यसबेला सँगालेको धान, चामल र पैसाले स्योकैँ (सहभोज) खाएर पुसे पन्ध्रौँमा ल्होछार मान्ने र तिहारमा देउसी, भैलो खेलेको छैन भने चेलीबेटीले आ–आफ्ना घरबाट चामल र रक्सी उठाउने र माइतीहरूले घिउ, कुखुरा वा बोका ल्याएर रोटी, रक्सी र मासुभात खाई ल्होछार मान्ने चलन छ तर केवल स्योकैँ खाएर ल्होछार पर्वको मानितो हुँदैन। किनभने, यस पर्वमा सम्पन्न गर्नुपर्ने अरू पनि विधि–विधान छन्। ल्होछार पर्वको अवसरमा म्हिग्रेँचोग (भलाद्मी) हरूको अगुवाइ र चाँजोपाँजोमा दिनये ल्ह््ये पैँडिले शुभ मुहूर्त विचार गरी ह््योएँदोये ल्ह््ये पुरोहितहरूले स्वस्ति शान्तिको कर्म गर्न अत्यावश्यक छ।
गुरूङ समाजले अघि परम्परादेखि पज्यु, ल्ह्येबँृ र लम (लामा) यी तीन वर्गको खेगि (पुरोहित) हरूलाई मान्यता दिई आएको छ। आ–आफ्नो घर परिवारको देवकार्य र पितृकार्य आ–आफ्नै पुरोहितहरूद्वारा सम्पन्न गराएता पनि गाउँ गैह्रको आजापूजामा भने म्हिगे्रँचोगले उपरोक्त तीन वर्गका पुरोहितहरूको कार्य विभाजन गरिदिएको छ, जस्तैः थागु–मोँगु पज्यु ल (था क्यारव कर्म गरेर भूत, प्रेत र दोख दोखालो मन्साउने काम पज्यु अथवा झाँक्रीको) सोँगु–मोँगु ल्ह्येबृँ ल (थासोँ फालेर साँज वा साँदु पूजा गरेर स्वस्ति शान्ति गर्ने काम ल्ह्येबृँ अथवा घ्याबृँको) र छैखु ह््योँखु लम ल (आयु साधन गरी सह बटुलेर धन ऐश्वर्य वृद्धि गराउने काम लम अथवा लामाको) भन्ने मान्यता अहिलेसम्म पनि कायमै छ।
त्यसकारण उपरोक्त तीन वर्गका पुरोहितद्वारा तदनुरूपको कर्म गराएर ल्होछारको दिनमा सबैले आ–आफ्नो ग्रह शान्ति र कुशलमंगल प्राप्तिको लागि म्हार (घिउ) को बत्ती बालेर क्युफुई (चोखो पानी), च्यु (अक्षता) र अन्य चोखा खानेकुरा चह्राई स्युरि (धुपी) को धुप बालेर सिल्दोँ–नाल्दोँ (सिमे–भूमे), खे (पितृ), मा (मातृ) र फैलु (कुलदेवता) को पूजाआजा गर्नुपर्दछ। त्यसपछि आफ्ना मान्यजनलाई मानमनितो र ढोगभेट गर्नुपर्दछ। मान्यजनहरूले पुरुषहरूलाई बेसारमा मलेको नौसरा, नौ गाँठो र महिलाहरूलाई सातसरा, सात गाँठोको प्हैरु (रूपको डोरो) लगाइदिएर स्øवाई गरी शुभ आशिक दिनुपर्दछ। सबैले एकआपसमा अशिमलाँ अथवा हार्दिक शुभकामना आदानप्रदान गरेर ल्होछार मान्नुपर्दछ। यसरी ल्होछार मान्नु नै आफ्नो सांस्कृतिक परम्परालाई मान्यता दिई समाजलाई व्यवस्थित गर्नु हो। अतः आज हामीले हाम्रो आदिम संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने हो भने हामी सबैको सोचाइ यही परम्परागत दिशातिर उन्मुख हुन अत्यावश्यक छ।

प्रकाशित: १७ पुस २०७१ १२:०४ बिहीबार