गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा जाने नेपालीलाई गन्तव्य मुलुकबारे सही सूचना उपलब्ध गराउन श्रमग्राम ताहाचलमा वैदेशिक रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँगको सहकार्यमा काठमाडौँको श्रमग्राममा गैरआवासीय नेपाली संघले अत्याधुनिक सूचना केन्द्र स्थापना गर्न लागेको हो। सूचना केन्द्र सञ्चालन गर्ने सम्बन्धमा गत शुक्रवार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेबीच समझदारीपत्रमा हस्ताक्षर भयो।
समझदारीअनुसार श्रमग्राममा एनआरएनले एक सूचना केन्द्र स्थापना गर्नेछ। जहाँ खाडी मुलुकलगायत श्रम गन्तव्यसम्बन्धी श्रव्यदृश्यसहितका सूचना उपलब्ध हुनेछन्। श्रमग्राममा वैदेशिक रोजगार विभागलगायत श्रमसँग सम्बन्धित निकायसमेत स्थापना गरिँदैछ।
'सूचना केन्द्रमै गैरआवासीय नेपाली संघले कानुनी परामर्शको व्यवस्था समेत गर्नेछ,' एनआरएन अध्यक्ष घलेले भने, 'केन्द्र सञ्चालनका लागि कर्मचारी र परामर्शदाताको व्यवस्था हामी गर्नेछौँ। विदेशमा रोजगारीका लागि जाने नेपालीहरूको संख्या बढिरहेको छ। उनीहरूलाई सही सूचना दिनु हाम्रो कर्तव्य हो।' सूचना केन्द्र स्थापना गर्ने एनआरएनको लामो समयदेखिको योजना पूरा भएको भन्दै उनले यसले नेपाली कामदार ठगिनबाट जोगिन ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे।
श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले एनआरएनसँगको सहकार्य सुरुवातमात्रै भएको भन्दै एनआरएनजस्तो ठूलो नेटवर्क भएको संस्थासँग मिलेर धेरै काम गर्न सकिने बताए। यस्तै, प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले एनआरएनजस्तो सशक्त साझेदार पाउँदा वैदेशिक रोजगारीमा हुने समस्या समाधानका लागि सहयोग पुग्ने बताए।
प्रकाशित: १७ पुस २०७१ ११:२० बिहीबार