नेपाली कामदारलाई विकसित मुलुकमा पठाउन सरकारले पहल सुरु गरेको छ। नेपाली कामदारका लागि आकर्षक मानिने युरोपेलीलगायत विकसित मुलुकमा वैदेशिक रोजगारमा पठाउन सरकारले प्रक्रिया थालेको हो।
सरकारले विकसित मुलुकमा नयाँ श्रम गन्तव्य खोज्नका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तर्गत उपसमिति बनाएर त्यसको संयोजकसमेत चयन गरेको छ। श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको बोर्डले समितिको संयोजकमा डा. हरि लम्साललाई नियुक्त गरेको छ। पाँच दिनअघि नियुक्त भएका संयोजकले एक साताभित्र काम थाल्ने मन्त्रालयले जनाएको छ।
बोर्डले यसअघि समितिको संयोजकमा श्रमविज्ञ गणेशमान गुरुङलाई नियुक्त गरेको थियो। तर, वैदेशिक रोजगार व्यवसायीको विरोधपछि बोर्डले गुरुङलाई नियुक्ति पत्र दिएन। व्यवसायीले गुरुङ एमाले भएको भन्दै शेरबहादुर देउवाकोमा पुगेर नियुक्ति रोक्न भनेपछि नियुक्त भएका गुरुङलाई बोर्डले पत्र दिएन। नयाँ संयोजक तोकेसँगै बोर्डले क्यानडा, स्पेन, पोर्चुगल, अस्ट्रिया, जापानलगायत देशमा पुगेर प्रवद्र्धन गर्ने जनाएको छ।
संयोजक लम्साल श्रमका विषयमा पोख्त छैनन्। समितिले एक साताभित्र पूर्णता पाएपछि काम अघि बढ्ने मन्त्रालयले जनाएको छ। समितिका सदस्यहरूमा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, गैरआवासीय नेपाली संघका अध्यक्ष, नेपाल ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायी महिला सदस्य एकजना र कानुन व्यवसायी एकजना रहन्छन्। समितिको सदस्य सचिवमा बोर्डका कार्यकारी निर्देशक हुने व्यवस्था छ।
श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङले बोर्डको सचिवालय बैठकले नयाँ संयोजक तोकेसँगै युरोपेलीलगायत मुलुकमा श्रम गन्तव्य खोज्न प्रक्रिया सुरु भएको बताए। 'युरोपका विभिन्न देशमा पुगेर त्यहाँको हालचाल बुझ्नेछौँ,' उनले भने, 'नेपाली कामदारलाई सुरक्षित र राम्रो कमाइ हुने देशमा पठाउन त्यहाँ गएर मार्केटिङ गर्छौँ।
युरोपमा नेपाली कामदारको माग भएपनि सरकारले ५ वर्षपछि नयाँ श्रम गन्तव्य खोज्न पहल सुरु गरेको हो। अहिले नेपाली कामदार १ सय १० मुलुकमा छरिएका छन्। तर, उनीहरूको कमाइ गतिलो छैन। सरकारले नेपाली कामदार पुगेका मुलुकसँग श्रम सम्झौता नगर्दा कामदारले सेवा सुविधा पाउन सकेका छैनन्। कतिपय कामदार गैरकानुनी रूपमा विदेश छिरेका छन्।
मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले सीप सिकेका कामदारका लागि युरोपका मुलुक उपयुक्त हुने हुँदा सीप सिकेर मात्र विदेश जान आग्रह गरे। 'कामदारको हकहित र सुविधालाई ध्यानमा राखेर नयाँ श्रम गन्तव्य खोजिरहेका छौँ हामी,' उनले भने, 'समितिको पूर्णतापछि काम तिव्र गतिमा थाल्नेछौँ। श्रम सम्झौता नभएका मुलुकमा श्रम सम्झौतका लागि पहल पनि गर्नेछौँ। विकसित मुलुकसँगै खाडी र मलेसियाका नेपाली कामदारका विषयमा ध्यान दिनेछौँ।'
संघका अध्यक्ष हंशराज वाग्लेले बोर्डमा जम्मा भएको रकम क्षतिपूर्ति र विभिन्न कार्यक्रममा खर्च भएपनि हालसम्म नयाँ श्रम गन्तव्य खोज्न नसकेको बताए। 'विगतमा बरु व्यवसायी आफैँले बजार पवद्र्धन गरेर नयाँ मुलुक खोजेका थिए,' उनले भने, 'सरकारले अहिलेसम्म केही गरेको छैन। यसपालि व्यवसायीकै दबाबमा समितिको संयोजक छनोट गर्ने काम भयो।'
प्रकाशित: १७ पुस २०७१ ११:१८ बिहीबार