अन्य

साढे १७ लाखको चित्र बिक्यो

काठमाडौं- आधुनिक कलाकार समाज (सोमा)ले गरेको कला प्रदर्शनी 'कलापुञ्ज'मा १७ लाख ५५ हजार रुपैयाँ बराबरको चित्रकला बिक्री भएको छ। सोमाको आयोजनामा काठमाडौंको नेपाल आर्ट काउन्सिलमा दशदिने प्रदर्शनी चलेको थियो।अन्तिम दिन बुधबार नै ६ लाख ३० हजार रुपैयाँको चित्र बिकेको सोमाका सचिव तथा सहभागी कलाकार शान्ताकुमार राईले बताए। उपेन्द्र महतोद्वारा उद्घाटित प्रदर्शनीको समापन बुधबार कलाकार गोविन्दनारायण ज्यापुले गरेका थिए। समापन मन्तव्य दिँदै ज्यापुले नेपाली कला जगतमा लैनसिंह बाङ्देलको महŒवपूर्ण भूमिका रहेको बताए।

बाङ्देलको ९३ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रदर्शनीमा बाङ्देलकै एउटा चित्र पनि साढे पाँच लाखमा बिकेको थियो। चित्रको उत्साहजनक बिक्रीले कलाकारलाई उर्जा मिलेको सोमाका अध्यक्ष शंकरराजसिंह सुवालले बताए।

चौथों संस्करणको 'कलापुञ्ज'मा चिनीकाजी ताम्राकार, शंकरनाथ रिमाल, हीरालाल डंगोल, हेम पौडेल, गोविन्द डंगोल, श्यामलाल श्रेष्ठ, रमाराज मास्के, शंकरराजसिंह सुवाल, कान्ति न्यौपाने, हरि खड्का, नरेश सैंजु, जीवन राजोपाध्याय, शान्ताकुमार राई, टार्जन साङपाङ र रत्नकाजी शाक्यको सहभागिता थियो।

प्रकाशित: १६ पुस २०७१ २२:१७ बुधबार