अन्य

'पोयमान्डु'मा मिर्जा गालिब

काठमाडौं- काठमाडौंस्थित नेपाल भारत पुस्तकालयमा मंगलबार चर्चित भारतीय गजलकार मिर्जा गालिबका रचना वाचन र श्रवण गर्दै उनलाई सम्झना गरियो। भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले हरेक महिना गर्ने पोयमान्डुको २३ औं संस्करणमा गालिबका रचना सुन्ने अवसर जुरेको हो।

 यस संस्करणको पोयमान्डुमा कवि, समीक्षक, फिल्म निर्देशक तथा गीतकार चेतन कार्की तथा प्रकाश सायमीले गजलकार गालिबका विविध आयामबारे बोलेका थिए।

कार्यक्रममा चेतन कार्कीले गालिबले गजललाई कसरी संसारभर लोकप्रिय बनाए भन्ने विषयमा धारणा राखेका थिए। सायमीले भने गालिबको सम्मानमा लेखेको कविता पनि वाचन गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका सचिव अभय कुमारले पनि गालिबको जीवन, दृष्टिकोणलाई आफ्ना कवितामार्फत् अभिव्यक्त गरेका थिए। उनले पोयमान्डुमा दर्शकहरुको सक्रिय सहभागिताप्रति धन्यवाद पनि व्यक्त गरे।

गायकद्वय शैलेश सिंह र प्रवीण बराइलीले गालिबका गजललाई गाएर सुनाएका थिए।

सो अवसरमा गीता त्रिपाठी, गोपाल अस्क, टंक ढकाल, मुरारी सिग्देल, विवेक अधिकारी, उदयचन्द्र दास, ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल र सुमी लोहनीले कविता वाचन समेत गरेका थिए।

प्रकाशित: १६ पुस २०७१ २२:१५ बुधबार