पोखरा– ‘तपाईं थकाली खाना चाहनुहुन्छ भने पोखरामा मोनालिसाबाहेक अरु कुनै ठाउँ हुन सक्दैन,' पर्यटनमा अति विश्वसनीय मानिएको संस्था टि्रपएड्भाइजरको अनलाइनमा एकजनाले लेखेको प्रतिक्रिया हो यो। क्यानडाको टोरन्टो ठेगाना उल्लेख गरेका अर्का एकजना लेख्छन्, ‘मैले जीवनमा त्यति मिठो खाना अन्त खाएको छैन। मोनालिसाको आधिकारिक नेपाली खानालाई मिल्ने भए म दस तारा दिन्छु। त्यहाँको खानाले मेरो मन कहिल्यै अघाएन, पोखरा जाँदा मोनालिसा नछुटाउन सिफारिस गर्छु।
लेकसाइडलाई पोखराको पर्यटकीय केन्द्र मानिन्छ। बीस वर्षअघि त्यस्तो थिएन। केन्द्र ड्यामसाइड थियो। जब मुलुकमा सशस्त्र द्वन्द्व चर्कियो, ड्यामसाइडका होटल खाली हुन थाले। त्यसैबेला होटल मोनालिसाका सञ्चालक दम्पती विमल र उषा शेरचनले उपाय निकाले— आफूले जानेको थकाली खाना पकाउने र बेच्ने। अनि होटलसँगै रेस्टुरेन्ट पनि सुरु भयो। जब नेपाली पर्यटक लक्ष्य गरिएको थकाली खाना खुवाउन सुरु भयो, त्यसपछि उनीहरुले पर्यटन व्यवसायमा पछाडि फर्केर हेर्नुपरेको छैन। मोनालिसा सुरु हुँदाताका पोखरामा आन्तरिक पाहुनालाई उति महत्व दिने चलन थिए। ती पाहुनाका लागि खाना खाने गतिलो ठाउँ बनेको थियो मोनालिसा। तिनै नेपालीले चाखेको स्वाद एककान दुईकान हुँदै सर्वत्र फैलिएको हो। ‘यहाँ खाना खाएर गएकाको मुखमुखको विज्ञापनले प्रचार भयो,' विमल भन्छन्, ‘अहिले त धेरैको रोजाइमा पर्छ हाम्रो रेस्टुरेन्ट।'
विदेशी पर्यटकले टि्रपएड्भाइजरमा सिफारिस गरेको मात्रै होइन, पोखरामा सबैभन्दा बढी सिफारिसमा पर्ने थकाली रेस्टुरेन्टमा पर्छ मोनालिसा। सामान्य पर्यटक ‘थकाली खाना' लेखेका साइनबोर्ड हेरेर जहाँकहीं छिर्न सक्छन् तर मोनालिसामा आउनेहरु विशेष हुन्छन्। खोजीखोजी पुग्छन्। अझ यहाँ पुग्नेमा देशका गिनेचुनेका व्यक्तित्व र चर्चित अनुहार अर्थात सेलिब्रिटी बढी छन्।
मोनालिसा रेस्टुरेन्टको मेनु छोटो छ तर यहाँ पुगेका सेलिब्रिटीको विविधताको मेनु निकै लामो। कहाँबाट सुरु गर्ने र कोबाट भनेर विमल अलमलिन्छन्। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आर्यन सिग्देल, दिलीप रायमाझी, जितु नेपाल दोहोर्याअइ तेहर्याणइ पुगेका छन्। कतिपटक भनेर गन्न बिर्सने बेला भइसकेको छ। ‘दिलीपजी त चाटीचाटी खाँदा थालै खिइन्छ कि भनेर पनि जिस्कनुनुहुन्छ,' विमल भन्छन्। राजेश हमाल, करिश्मा मानन्धर, रामकृष्ण ढकाल, कोमल वली, शिव श्रेष्ठ, झरना थापा, शिव परियार, प्रशान्त तामाङ, इन्दिरा जोशी पनि पोखरा आउँदा मोनालिसा पस्न छुटाउँदैनन्।
२५० भन्दा बढी सेलिब्रिटीको फोटो खिचेर राखिएको छ र रेस्टुरेन्टको रिसेप्सनमा उनीहरुको फोटो डिस्प्ले भइरहन्छ। त्यसमा देशको मुख्य दलका शीर्ष नेता पुष्पकमल दाहाल, झलनाथ खनाल, केपी ओली, शेरबहादुर देउवादेखि प्रहरी र प्रशासनका शीर्ष पदाधिकारी पनि छन्।
पोखरामा बस्नेखाने होटल रेस्टुरेन्टको कमी छैन, पर्यटकीय स्तरकै सय रेस्टुरेन्ट र चार सय होटल छन्। खासखास रेस्टुरेन्ट र होटल नै खास व्यक्तित्वको रोजाइमा पर्नुको कारण ती रेस्टुरेन्ट र होटलको विशेषता नै हो। ‘हामी क्वालिटी दिन्छौं,' मोनालिसाका विमल भन्छन्, ‘चामल र दालमा मात्रै होइन लसुनदेखि बेसारसम्म पनि क्वालिटी प्रयोग गर्छाैं।' मुस्ताङबाट आलु, बोडी र लसुन ल्याउने गरेको र बेसार भैरहवाबाट मगाउने उनले बताए।
सन् १९७० को दशकतिर नेपालमा पर्यटन भन्ने नै नयाँ थियो। सन् १९७१ मा भारतका चर्चित अभिनेता देव आनन्द नेपाल आएका थिए। नेपालको प्राकृतिक सौन्दर्यबाट मोहित उनले ‘हरे रामा हरे कृष्णा' भन्ने फिल्मको सुटिङमात्रै नेपालमा गरेनन्, अर्काे फिल्म पनि लेख्न चाहे। एकान्त र सुन्दर ठाउँको खोजी गरेका उनी काठमाडौंबाट स्त्रि्कप्ट लेख्न भनेर पोखरा आएका थिए र उनले रोजेको होटल थियो— फिस्टेल लज। फेवाताल किनारको त्यो लजमा बसेर उनले फिल्मको स्त्रि्कप्ट लेखेको आत्मकथा रोमान्सिङ विथ लाइफमा उल्लेख गरेका छन्। उनले फिस्टेल लजमै ‘इस्क इस्क' भन्ने फिल्मको सुटिङसमेत गरेको त्यहाँका कर्मचारी रवि तिवारी बताउँछन्। संस्थागत हिसाबले खुलेको पोखराको जेठो होटल फिस्टेल देव आनन्दको मात्रै होइन, थुप्रै सेलिब्रिटीको रोजाइमा पर्दै आएको छ। अझ यसमा अन्तर्राष्ट्रिय सेलिब्रिटीसमेत धेरै आएका छन्। ‘सफा र सुन्दर अनि एकान्त खोज्नेले हाम्रो लज रोज्छन्,' गेस्ट रिलेसन एक्जेक्युटिभ सोनु गुरुङ भन्छिन्, ‘थुप्रै सेलिब्रिटी सुटुक्क आउँछन् र जान्छन्।'
फिस्टेल त्यही होटल हो, जहाँ बेलायती राजकुमार चार्ल्स सन् १९८० बसेका थिए। स्वदेशी भिआइपी र भिभिआइपीको सूची पनि लामै छ यहाँ बस्नेको। संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव चार्ल्स आएको अर्काे वर्ष आइपुगेको तिवारी सुनाउँछन्। तालपारिको रिसोर्ट पुग्न डुंगा चढ्नुपर्छ, यहाँ बस्नुको आनन्द र रमाइलो यहींबाट सुरु हुन्छ। लगभग टापुजस्तो ठाउँमा छ रिसोर्ट। तीनतिर ताल र एकतिर जंगलले घेरेको छ। प्रकृतिको काखको अनुभूत हुने ठाउँबाट सहरी कोलाहल सुन्नुपर्दैन। सन् १९९० को दशकको अन्त्यतिर खुदा गवाह फिल्मको सुटिङ मुस्ताङमा गर्ने गरी अमिताभ बच्चन पोखरा आएका थिए। त्यसबेला उनको दम्पती फिल्म युनिटले रोजेको रिसोर्ट पनि फिस्टेल नै हो।
अभिनेत्री श्रीदेवीले त फिस्टेलको बसाइ रमाइलो बनेको भनेर प्रतिक्रिया नै लेखेकी छन्। थुप्रै देशका राष्ट्र प्रमुख र सरकार प्रमुख तथा विशिष्ट व्यक्तिहरुको लिस्ट लामै छ फिस्टेलसँग। पछिल्लो समय नेपालीको पनि घुम्ने बानी बढ्दा पोखरा आएका पर्यटकमध्ये थुप्रै स्वदेशी सेलिब्रिटीले फिस्टेल पुग्न फेवाताल तरेका छन्। बुधबारमात्रै अभिनेत्री करिश्मा मानन्धर फिस्टेलकी पाहुना थिइन् भने बिहीबार गायिका आस्था राउत फिस्टेल लजमा रमाइरहेकी थिइन्।
सेलिब्रिटीको रोजाइमा पर्दै आएको अर्काे होटल बाराही लेकसाइडमा सबैभन्दा चल्तीको होटल पनि हो। यसको ब्रान्ड स्वदेशी पर्यटकमाझ उत्तिकै परिचित छ। मुम्बई पुगेर ताज होटलअगाडि फोटो खिचाएझैं बाराही बस्न नसक्नेले पनि यसको अगाडि फोटो खिचेर फेसबुकमा पोस्ट गरेको भेटिन्छ। बाराहीसँगसँगै लेकसाइडमा पछिल्लो समय टेम्पल ट्री, माउन्ट कैलाश र अतिथि रिसोर्टले सेलिब्रिटी पाहुनाहरुलाई आकर्षित गरिरहेका छन्।
पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई सेलिब्रेटीले गर्दा पनि पोखरा परिचति भएको बताउँछन्। ‘अन्यत्र सेलिब्रेटीले रोज्ने भिन्दै होटल छन् तर पोखरामा त्यस्तो रोजाइका होटल अझै बन्न सकेनन्,' उनी भन्छन्, ‘तैपनि सेलिब्रेटीको च्वाइसको सहर भने पोखरा बनेको छ।' विभिन्न कलाकृति, आकृति र सजावटका होटल बन्न नसेकेको उनले बताए। उनको भनाइमा सेलिब्रेटीका कारण केही होटल र रिसोर्टले पाहुनाका नाममा कोठा सजाउने र बेच्ने चलन पनि छ तर नेपालमा त्यसखालको प्रचलन अझै विकसित भइसकेको छैन। ‘पाहुना बसेको होटलको कोठालाई भिन्दै मूल्यमा बेच्ने चलन अन्तर्राष्ट्रिय रुपमा छ, नेपालमा चाहिँ अझै अभ्यास छैन,' उनी भन्छन्, ‘विशेष पाहुना बसेको कोठामा बस्न पाएको भन्दै कतिपय पाहुना गर्वसमेत गर्छन्। नेपालमा अभ्यास कम भएर हो। बाहिर यो निकै नै चल्तीमा छ।'
प्रकाशित: ११ पुस २०७१ २३:५० शुक्रबार