अन्य

जीवनमा फूलमार्क्स नै पाएनन्

बलिउडका अहिलेका चर्चित अभिनेता नसिरुद्दीन शाहले आफ्नो विवाहोत्तर रोमान्स र आफूमाथि एक पञ्जाबी साथीले गरेको आत्मघाती हमलाका बारेमा लेख्दा जीवनको त्यो क्षीण अवस्थामा आफ्ना सहृदयी नेपाली कलाकार मित्रलाई पनि सम्झे र, लेखे। ती नेपाली कलाकार साथीको सहृदयता र अभिनय क्षमताको पनि खुलेर प्रशंसा गरेका छन् उनले।सन् २०१४ मा प्रकाशित आत्मकथा 'एन् देन वन् डे मेमोयर'मा सहपाठी कलाकारबारे यस्तो लेखेका छन्–

'मैले घरभाडा महँगो र असाध्य हुँदै गएपछि बम्बईमा अर्का एक जना एफटीआइआइका मेरा नेपाली कलाकार साथी टीका सिंहसित कोठा सेयर गरेर लिएँ। उनी बम्बई सानातिना कामका लागि निष्फलदायी समय बिताइरहनुभन्दा आफ्नै मुलुक फकर्ें।'

टीका सिंह जसलाई नेपाली चलचित्र जगतमा टीका पहाडीका नामबाट चिनिन्छ, उनले चलचित्र बद्लिँदो आकाशदेखि आफ्नो स्पष्ट छबि बनाउँदै आएका छन्। तिनै टीका पहाडी भारतको एफटीआइआइमा अभिनेता नसीरुद्दीन शाह, रामेश्वरी, जसपालका सहपाठी थिए। पहाडीले भारतको मुम्बईमा इप्टामा पनि कैयौं वर्ष अभिनय कलाकारका रूपमा काम गरे। सोही पुस्तकमा नसीरले अर्को पृष्ठमा लेखेका छन्–

'रत्ना (पाठक) र म प्रायः भेट्न थालेका थियौं, उनको घरमा। त्यो यसमा निर्भर गर्थ्यो उनको घरमा उनका अभिभावक छन् कि छैनन्। टीका यस्तो परिस्थिति बुझेर हामीलाई कोठा छोडेर मध्याह्नपछि हराउँथे अनि हामी दुई प्रेमी रुमल्लिरहन्थ्यौं।'

पहाडीको यो प्रसंग पढेपछि मैले यस पुस्तकबारे जानकारी दिँदा पहाडी आश्चर्यचकित भए, 'ओहो। त्यसलाई अहिलेसम्म ती सबै कुरा सम्झना रहेछ, बाफ रे बाफ। नेपालीले भए बिर्सिसक्थे।'

३९ वर्षअघिका यी एकेक कुरा सम्झीसम्झी नसीरुद्दीनले आत्मकथामा लेखेका छन्, अद्भूत र अभूतपूर्व लाग्ने कुराहरू।

नसीरुद्दीन शाह आज भारतको मात्र होइन, विश्व सिनेजगतकै एक स्वनामधन्य कलाकार भइसके। उनका निम्ति अभिनय मात्र खेलौना भइसकेको छ, त्यो चाहे मिर्जा गालिब होस् वा मण्डी, मन्थन होस् वा जुनून। तर त्यो स्तरका एक कलाकारलाई हाम्रा एक सज्जन नेपाली कलाकारलाई सम्भि्कनु कत्रो महानता हो, बुझिनसक्नु छ।

नसीरुद्दीन शाह, ओम पुरी, शबाना आजमी पुनास्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटमा अभिनय पढ्दै गर्दा नेपालबाट गएका टीका पहाडीले ख्यातिको झन्डा गाडिसकेका थिए।

पहाडीभन्दा अलिक पहिले एफटीआइआइमा अभिनय पढ्न रीताराज गुरुङ, बलमानसिंह स्वाँर पनि पुगेका थिए। तिनले पनि नेपालमा आएर जुनी, जीवन रेखामा अभिनय गरे। पहाडी अलि ढिलो आइपुगे र 'बद्लिँदो आकाश'देखि उनले नेपाली चलचित्रमा निरन्तरता दिए। यद्यपि उनले जीवनरेखाबाट कार्यारम्भ गर्न भ्याएनन्। हिन्दी फिल्म 'ऊँची उडान'का निम्ति पहाडी निर्देशक जगजीत खुरानासित नेपाल आएपछि उनी नेपालकै भए। बलिउड उनको लागि भएन।

टीका पहाडीले पंक्तिकारसित फोनमा भने जस्तै 'नेपालीले भएको भए बिर्सिसक्थे।'

यस कुरामा गहिरो भाव छ, अनि पीडा पनि। सहानुभूति छ, समवेदना पनि। गत मंसिर २६ गते शुक्रबार नेपाली चलचित्र जगतका निम्ति त्यस्तै एउटा घटना भयो, नेपाली चलचित्र जगतले, दर्शकले, चलचित्र पत्रकारले बिर्सिसकेका एक नेपाली चलचित्र कलाकार यस जगतबाट प्रस्थान गरे।

उनका बारेमा कुनै समाचार, सूचना वा जानकारी कहीँ कतैबाट आएन। काठमान्डू हाँडीगाउँस्थित आफ्नो निवासमा शौचालयबाट फर्किंदा लडेर निधन भएका ती कलाकार हुन्, जग्गनाथ तिमिल्सिना।

फिल्म अभिनेता, वृत्तचित्र निर्देशक, फिल्मका सहायक निर्देशक, अभिनयका गुरु जग्गनाथले टीका पहाडीले पढेकै पुनाको फिल्म इन्स्टिच्युटबाट अभिनयमा डिप्लोमा गरेका थिए। उनी एफटीआइआइमा सामान्य विद्यार्थी थिएनन्। उनले अभिनयमा गोल्डमेडल हासिल गरेका थिए।

आजका भारतका चर्चित अभिनेता अमिताभ बच्चनकी पत्नी जया बच्चनसित डिप्लोमा फिल्म सुमनमा नायकका रूपमा अभिनय गरेका तिमिल्सिनाले यही फिल्मबाटै अभिनयका निम्ति गोल्डमेडल पाए। मदन भादरीया निर्देशित यो फिल्ममा पहिलोपटक डैनी डेन्जोग्पाले टिपी डेन्जोग्पा नामबाट अभियन गरेका थिए चरित्र अभिनेतामा। यस फिल्ममा नायकको रूपमा अभिनय गरेका जग्गनाथले बम्बईमा फिल्म जगतमा संघर्ष गर्न छोडेर नेपाल आए।

नेपालमा शाही नेपाल चलचित्र संस्थानबाट बनेको पहिलो श्यामश्वेत चलचित्र 'मनको बाँध'मा उनले खलनायकको अभिनय गरेर ख्याति कमाए भने दोस्रो रंगीन फिल्म सिन्दूरमा अभय नामको एक पात्रको भूमिकामा अभिनय गरेर ख्याति कमाए। सिन्दूरमा उनको कम्बाइन्ड स्टडीवाला संवाद र उनीसित अभिनय गर्ने महिला कलाकार सुवर्ण पोखरेल त्यो बेला निकै चर्चामा थिइन्। सिन्दूरपछि नेपालमा निजी क्षेत्रबाट फिल्म बन्न सुरु भएपनि जग्गनाथलाई चिन्ने र चलचित्रमा लिने फिल्म निर्माता र निर्देशक देखिएनन्।

नेपाल बैंकको जागिर छोडेर अभिनय पढ्न पुना गएका तिमिल्सिना नेपाली जातिमा अभिनय पढ्न जाने पहिलो कलाकार हुन्। यद्यपि उनले यसअघि प्रचारप्रसार डिभिजनबाट निर्मित चलचित्र हिजो आज भोलिमा एक्स्ट्राको रूपमा अभिनय गरिसकेका थिए।

प्रकाश थापा निर्देशित पहिलो फिल्म मनको बाँधका खलनायक शिव र सिँदूरका चरित्र अभिनेता अभयजस्ता चरित्रलाई जीवन्त रूपमा पर्दामा उतार्न सक्ने तिमिल्सिना पछिल्लो चरणमा बागबजारस्थित एकाडेमी अफ पफर्मिङ आर्टस्मा आफैं अभिनयका गुरु भए। चलचित्र नायक विश्व बस्नेतद्वारा सञ्चालित सो अभिनय स्कुल नेपालमा चल्दा अर्को स्कुल खुलेका थिएनन्। तर त्यति बेला हरिहर शर्माले नेपाल थिएटर, कुमार दर्शनधारीले कलाकार प्रशिक्षण केन्द्र र चलचित्रकर्मी प्रताप सुब्बाले घरैमा अभिनय तालिम दिन थालिसकेका थिए । तिमिल्सिनाको यो अभिनय स्कुल पनि केही समयपछि शटर बन्द भयो। उनी पर्दाबाट हराएजस्तै बिस्तारै पर्दापछाडि ओझेल पर्न थाले ।

भारतमा उनका समकालीन शत्रुघ्न सिन्हा, डैनी डेन्जोग्पा, जया भादुरी चम्किँदै थिए भने उनी यहाँ सेलाउँदै थिए।

अभिनयको प्रसंगमा उनले जानेसिकेको कुरा पर्दामा देखाउन नै पाएनन्। फिल्म इन्स्टिच्युटका गोल्ड मेडलिस्ट जग्गनाथका निम्ति अभिनयको अवसर यहाँ उपलब्ध नै हुन सकेन। के कारणले हो उनी बिस्तारै मद्यपानका सिकार हुँदै गए, अत्यधिक मदिरा सेवनले उनको शरीरमा प्राण र अनुहारमा तेज हराउँदै गयो। उनलाई चलचित्रमा भन्दा ओमबहाल, झोँछे, लगन, न्युरोडको बाटोमा ठूलो कोटमा ख्याउटे शरीर लिएर लखरलखर हिँडेको मात्र देखिन थाल्यो।

अनुशासनको कमी वा हार्दिकताको अभाव के ले गर्दा हो नेपालमा बनेका नयाँनयाँ सिनेमामा जग्गनाथ तिमिल्सिना देखिन छोडे। उनका चर्चा पनि हुन छाड्यो। समय क्रमसँगै उनका समकालीनहरू हिमालय लोहनी, राजनसिंह बस्न्यात, गौतमरत्न तुलाधार, वर्षा सुब्बा, शशी पाठक, बलमान सिंह स्वाँर पनि हराउँदै गए। उनीसित नायकका रूपमा आएका शैल्यान केसी र विश्व बस्नेतमध्ये शैल्यान बितिसके भने विश्व बस्नेतले उनलाई सम्झेर कहिलेकाहीँ अभिनय गराएको देखिन्थ्यो।

भारतमा जन्मेर हुर्केर नेपाली चलचित्रमा लागेका नेपालीलाई नेपालमा आएर सिनेमामा काम गर्दा कति लाभ भएको देखिन्छ तर जग्गनाथलाई भारतमा भएका अवसर छोडेर नेपाल आउँदा शाही नेपाल चलचित्र संस्थानको सामान्य जागिरबाहेक केही हुन सकेन।

काठमान्डूमै विक्रमाब्द १९९९ मंसिर २६ मा जन्मेका जग्गनाथका पिता गोविन्दप्रसाद तिमिल्सिना लामो समयसम्म सांस्कृतिक संस्थानमा कामु महाप्रबन्धक भए। त्यही समय जग्गनाथ चलचित्र संस्थानमा सहायक निर्देशककमा रूपमा करारमा थिए।

उनले नेपालमा छायांकन भएको देव आनन्दको हिन्दी फिल्म हरे रामा हरे कृष्णमा देवआनन्दको निर्देशन सहायक भएर पनि काम गरे। चलचित्र संस्थानमा कार्यरत रहँदा उनले हरियो वन देशको धन नामक वृत्तचित्र पनि बनाए। उनले यो वृत्तचित्र बनाउँदै गर्दा सहकर्मी चक्रबहादुर कार्कीले आत्महत्या गरेको घटनाले उनी भावविह्वल भएका थिए भने उनका अर्का सहकर्मी अभिनेता निर्देशक नवीन केसीको असामयिक मृत्यु हुँदा उनी नयाँ चलचित्रको निर्देशनको तयारीमा थिए।

२०४१ सालमा कलाकार हिमालय लोहनीले निर्माण गर्ने भनेर घोषणा गरिएको राम जंगल नामक सिनेमाका उनी सम्भावित निर्देशक थिए। ढोकाटोलस्थित लोहनी निवासमै मुहूर्त भएको यो सिनेमा दस्यु सुन्दरी फूलन देवीको नेपाल प्रवासका बारेमा रचिएको कथामा आधारित थियो। यसका लागि उनी पटकथा लेखनमा आबद्ध हुँदै थिए।

मुहूर्त भएर घोषणा नभएको यो सिनेमा पछि जग्गनाथ पूर्णतः शाही नेपाल चलचित्र संस्थानमै निर्भर रहे। काठमान्डू पुरानो भन्सारबाट उनी पैदलै पञ्चायत प्लाजामा रहेको शाही नेपाल चलचित्र संस्थानसम्म हिँडेरै पुग्थे ।

भारतको पुनास्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट अभिनयमा गोल्डमेडल लिएर आएका तिमिल्सिनासित अभिनय सिक्ने त्यति बेलाका कलाकारले आज पनि भारतीय फिल्म उद्योगको खम्बा धानेका छन्, ती चाहे दक्षिण भारतका हुन् वा उत्तरभारतका।

गिरीश कर्नाड, रामेश्वरी, विजेन्द्र घाटगे, मिथुन चक्रवर्ती, डैनी, शत्रुघ्न सिन्हा, शबाना आजमी, सुरेश ओवेराय, ओम पुरी आदि कुनै न कुनै रूपमा पर्दामा सक्रिय छन् भने हाम्रा एकमात्र गोल्ड मेडलिस्ट अभिनेताले आफ्नो गुमनाम जिन्दगीको ७२ औं अध्याय मौनतापूर्वक सकाएका छन्।

हरियो वनजस्तो डकुमेन्ट्री बनाएर नाम आर्जन गरेका तिमिल्सिना ढलेको त्यो बुधवार काठमान्डूमा किम्फको वृत्तचित्र महोत्सवको वृत्त घुमिरहेको थियो तर त्यही दिन तिमिल्सिना जीवन वृत्तको समाप्तिको संघारमा पुग्यो।

नेपालमै नक्कली सर्टिफिकेट लिएर उच्चाकर्षणमा पुगेका मान्छे सफल छन् भने भारतको त्यस्तो सम्मानित अभिनय संकायबाट स्वर्णपदक पाएर आएका तिमिल्सिनाको सर्टिफिकेटमा के खोट थियो त? वा उनलाई दिइएको प्रमाणपत्र नै गलत थियो कि? वा उनी यहाँ फर्कनु नै गलत थियो? यी धेरै प्रश्नका बीच सन् १९८२ मा महान् फिल्मको सुटिङमा बलिउडबाट आफ्ना पतिसित काठमान्डू आएकी जया बच्चनले होटल अन्नपूर्णमा किशोरराज पाण्डेले दिएको रात्रिभोजमा जग्गनाथ तिमिल्सिनालाई चिनाउँदै भनेकी थिइन्, 'ये हमारे इन्स्टिच्युट के सबसे बेहतरीन एक्टर है, गोल्ड मेडलिस्ट जे एन तिमिल्सिना।'

यो परिचय सुनेर अमिताभ बच्चन आश्चर्यास्पद भएका थिए। सायद यो परिचय नै गलत ठाने कि?

अभिनयमा फूल मार्क्स पाएका जग्गनाथलाई जीवनमा फूल मार्क मिलेन।

प्रकाशित: ५ पुस २०७१ ००:१८ शनिबार