अन्य

कलिलैमा क्यान्सर

चितवन-इरफान अन्सारीको उमेर तीन वर्ष तीन महिनामात्रै भएको छ। पर्सा देउरवानाका इरफान बाबु सैय आलमसहित भरतपुरको बिपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा बस्न थालेको अढाइ महिना हुन थाल्यो। रक्तक्यान्सरपीडित इरफानलाई अझै २८ महिना लगातर उपचार गराउनुपर्ने चिकित्सकहरूको भनाइ छ।झापा काँकडभिट्टाकी १४ वर्षीया अपर्ना निरौला सो अस्पताल धाउन थालेको माघमा तीन वर्ष पुग्छ। पछिल्लो समय असोजदेखि उनी लगातार अस्पतालको बेडमा छिन्। भरतपुर आउनुअघि पनि उनले अनेक अस्पताल धाएकी थिइन्। भरतपुर आएपछि उनलाई रक्तक्यान्सर भएको पत्ता लाग्यो। निको हुने आशमा आमा मनमाया उनको कुरुवा बसेर उपचार गराइरहेकी छन्।
क्यान्सरको उपचार हुने देशको मुख्य अस्पताल भरतपुरको बिपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर भएका बच्चालाई राखेर उपचार गराउने १२ शैऒ्ढया छन्। अन्य विभागको समेत थपथाप गरेर १६ वटा शैऒ्ढयामा क्यान्सर भएका बच्चालाई राख्ने गरिन्छ। तर कहिले शैऒ्ढया खाली होला र भर्ना भएर बसौंला भनेर पालो कुर्ने बिरामी पनि उत्तिकै हुन्छन्।
अस्पतालको बाल क्यान्सर रोग इकाई प्रमुख डा.कृष्णसागर पौडेलका अनुसार नेपालमा बर्सेनि १५ सय जना बालबालिका क्यान्सरबाट ग्रस्त हुने अनुमान छ। त्यसमध्ये धेरै कम अस्पतालसम्म आउँछन्। तर उपचार हुने अस्पताल र शैऒ्ढया कम भएका कारण उपचारमा कठिनाइ भोग्नुपरेको छ। 
भरतपुर अस्पताल र काठमाडौंको कान्ति बाल अस्पतालमा मात्रै क्यान्सर भएका बालबालिकाको उपचार हुन्छ। भरतपुरमा नै जम्मा एक जनामात्रै बालबालिकाको क्यान्सरसम्बन्धि विशेषज्ञ चिकित्सक छन्। नेपालभरमा बाल क्यान्सरको उपचारको क्षेत्रमा काम गर्ने जम्मा तीन–चार जना चिकित्सक भएको डा.पौडेल बताउँछन्।

बिरामीको संख्या 

देशका मुख्य पाँच अस्पतालमा उपचार गराएका क्यान्सरका रोगीहरूको तथ्यांक राख्ने भरतपुर क्यान्सर अस्पतालको क्यान्सर अनुसन्धान, रोकथाम र नियन्त्रण विभागले दिएको जानकारीअनुसार सन् २००३ देखि २०१२ सम्मको १० वर्षको अवधिमा क्यान्सर पत्ता लागेका पुरुष बिरामीमध्ये चारदेखि १४ वर्षसम्मका बालकहरू पाँच प्रतिशत छन्।
त्यस्तै, सोही १० वर्षको अवधिमा क्यान्सर भएका कुल महिलामध्ये चारदेखि १४ वर्षसम्मका बालिकाको संख्या तीन प्रतिशत छ। विभागका प्रमुख किशोरकुमार प्रधानाङ्गले दिएको जानकारी अनुसार यो १० वर्षे अवधिमा चार वर्षसम्मका ४२०, पाँचदेखि नौ वर्षसम्मका ५२० र १० देखि १४ वर्षसम्मका ५७७ गरेर कुल एक हजार ५७७ बालकहरुलाई क्यान्सर भएको छ।
चार वर्षसम्मका बालिकाहरू २४९, पाँचदेखि नौ वर्षसम्मका ३०३ र १० देखि १४ वर्षसम्मका बालिका ३६५ जना रहेका छन्। सन् २००३ देखि २०१२ सम्म चारदेखि १४ वर्षसम्मका कुल ९१७ जना बालिकाहरूको क्यान्सर भएर उपचार गराएको प्रधानाङ्गले जानकारी दिए। उपचारका लागि आउनेको संख्या बर्सेनि बढ्दो छ।
यो १० वर्षे अवधिमा १४ वर्षभन्दा माथि १५ देखि १९ वर्षसम्मका किशोरहरू ६०१ जना र किशोरीहरू ४९३ जनाको उपचार भएको छ । ‘रक्तक्यान्सर भएका बालबालिकाहरू बढी आउने गरेका छन्। उनीहरूको उपचारका लागि न पर्याप्त चिकित्सक छन् न उपयुक्त प्रविधिको व्यवस्था हुन सकेको छ,' डा.कृष्णसागर पौडेल भन्छन्। 

पत्ता लगाउँदै बित्छ समय

भरतपुर क्यान्सर अस्पतालको बालबालिका इकाईमा बिरामीको बारेमा सोधखोज गर्दै चिकित्सकको समूह। तस्बिर : रमेशकुमार पौडेल

अपर्ना भरतपुर आउनुअघि चार ठाउँका अस्पताल धाइकी थिइन्। शरीरमा गाँठागुठी देखा परेपछि सुरुमा उनलाई भारत सिलगुडीको अस्पताल लगियो। त्यहाँ एक हप्ता राखेपछि रोग केही छैन भनेर फर्काइदियो। घर ल्याएर राखे पनि आमा बाबुको मन मानेन। बिर्तामोड लगेर देखाइयो। त्यहाँ पनि केही पत्ता लागेन। फेरि भद्रपुर जाँदा पनि केही पत्ता लागेन।
आमा मनमाया भन्छिन्, ‘गाँठागुठी आउन छाडेन। तर जहाँ गएर देखाउँदा पनि केही रोग होइन भन्छ। हाम्रो मन मान्दै मानेन। एकपटक विराटनगर लगेर पनि देखायौं।' विराटनगरको अस्पतालले भने मनमायालाई छोरीलाई भरतपुर लगेर देखाउन सुझाव दियो। भरतपुर आएर परीक्षण गरेपछि मात्रै उनलाई रक्तक्यान्सर भएको पत्ता लाग्यो। 
क्यान्सर भएको लामो समयपछि बल्ल बालबालिकालाई उपचारका लागि ल्याइने गरिन्छ। ‘सुरुमै आएर उपचार गराए निको हुन्छ। तर क्यान्सर भएको लामो समयपछि उपचारका लागि आउने क्रम देखिएको छ,' क्यान्सर अनुसन्धान, रोकथाम तथा नियन्त्रण विभागका प्रमुख प्रधानाङ्गले भने। विशेषज्ञ चिकित्सकले सुरुमा हेर्न नपाउँदा रोग पत्ता लगाउने समय गुज्रने उनले बताए। 
बालबालिकामा हुने क्यान्सरका केही खास खतराका चिह्नहरू हुन्छन्, त्यसलाई जान्न/चिन्न सके अन्य स्वास्थ्यकर्मीले पनि विशेषज्ञ चिकित्सकलाई भेट्न पठाउँछन्। नभए यताबाट उता जाँदै गर्दा नै समय सकिन्छ। उपचारसमेत हुन नपाउने अवस्था छ। त्यसैले बालबालिकालाई हुने क्यान्सरका खास खतराका चिह्नका बारेमा व्यापक प्रचारप्रसार गर्न आवश्यक छ भन्छन्, प्रधानाङ्ग।
मकवानपुर हाँडीखोलाका छ वर्षीय दीपेन पौडेल भरतपुर क्यान्सर अस्पताल आएको एक महिना पनि भएको छैन। खटिरा र ज्वरो आउनुका साथै शरीर पहेँलो हुन थालेपछि उनले छोरालाई हेटौंडा अस्पताल लगेका थिए। अवस्था हेरेपछि त्यहँका चिकित्सकले तुरुन्त भरतपुर क्यान्सर अस्पताल लैजान सल्लाह दिए।
शरीरमा गिर्खा आएपछि रुपन्देही खैरेनीका अमरबहादुर राना मगरले छोरा शिवलाई बुटवल लगेर देखाए। अस्पतालले तुरुन्तै भरतपुर जान भन्यो। भरतपुर आएर परीक्षण गराए। रक्तक्यान्सर भएको पत्ता लागेपछि उपचार सुरु भएको छ। चाँडै आएर उपचार सुरु गराएमा निको हुने सम्भावना बढेर जान्छ। ढिला भएमा गाह्रो हुने चिकित्सकहरू बताउँछन्। 

‘खतराका यस्ता संकेत देखा पर्दा विशेषज्ञ चिकित्सककहाँ जानुपर्छ। तर, त्यसो नभएर अन्यत्रै जाने परिपाटी ज्यादै छ,' प्रधानाङ्गले भने, ‘जसले गर्दा अलमल हुन्छ। क्यान्सरले गलाएपछि मात्रै बल्ल रोग पत्ता लाग्छ।'
विकसित देशमा क्यान्सर भएका १० बालबालिकामध्ये आठ जना निको हुने गरेको चिकित्सकहरू बताउँछन्। नेपालजस्तो गरिब देशहरूमा क्यान्सर भएकामध्ये दुईदेखि तीन जनामात्रै बाँच्ने गरेको अवस्था छ। ‘त्यसैले समयमै रोग पत्ता लगाएर उपचारको प्रबन्ध मिलाउन हामीले अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ,' उनी भन्छन्। 
बालबालिकामा क्यान्सर हुनुको खास कारणबारे अझै पत्ता लागेको छैन। धेरैलाई जन्मजात नै क्यान्सर हुने गरेको छ। यो वंशाणुगत कारणले हुने डा.कृष्णसागर पौडेल बताउँछन्। त्यसैले बालबालिकालाई क्यान्सरबाट जोगाउन नसकिए पनि समयमै खतराका संकेत चिनेर उपचारतर्फ लाग्न डा.पौडेल सुझाउँछन्। 

उपचारमा अभावै अभाव

बिरामीको संख्यालाई आधार मान्दा नेपालमा क्यान्सर भएका बालबालिकाका उपचार गर्न प्रत्येक विकास क्षेत्रमा कम्तीमा एउटा अस्पताल हुनुपर्ने डा. कृष्णसागर पौडेल बताउँछन्। भरतपुर र काठमाडौंको कान्तिमा मात्रै उपचार सेवा छ। भरतपुरका १६ र काठमाडौंका १२ शैऒ्ढया बिरामीका लागि साह्रै अपुग छ भन्छन् पौडेल।
‘बिरामीको चाप हेर्दा कम्तीमा पनि ५०/६० जना चिकित्सक र ठाउँ–ठाउँमा गरेर क्यान्सर भएका बालबालिका राख्ने पाँच सय शैऒ्ढया भए उपचार सहज हुने सम्भावना छ। ‘तर हामी निकै सीमित स्रोत साधनमा निर्भर छौं,' डा.पौडेलले भने, ‘बिरामीको उपचार सहज बनाउने सामान्य उपकरणको पनि अभाव छ।'
रक्तक्यान्सर भएका बिरामीका लागि रगतको प्लेटलेट अति आवश्यक हुन्छ। फेलेसिस प्लेटलेट नामक उपकरण भए त्यसबाट झिकेको रगतले बिरामीलाई चाहिने प्लेटलेट आपूर्तिमा सहज हुन्थ्यो। तर, सो उपकरण नहुँदा आवश्यक प्लेटलेट लिन छ पोका रगत खर्च गर्नुपरेको अवस्था रहेको डा.पौडेल बताउँछन्।
बिरामीका आफन्तले ठूलो आर्थिक भार खेप्नुपरेको छ। क्यान्सर भएका १५ वर्षसम्मका बच्चाको उपचार निःशुल्क हुने भनिएको छ। तर निःशुल्क भनिएका औषधिहरू आवश्यक परेका बेलामा पाइँदैन। बाहिर किन्दा महँगो पर्छ। ‘अहिले नै सात–आठ लाख रुपैयाँ सकियो। ऋण खोजेर हैरान भइयो,' मनमाया दुखेसो पोख्छिन्, ‘बाँकी उपचार के कसरी गर्ने हो, सम्झँदा कहाली लाग्छ।'

प्रकाशित: ४ पुस २०७१ २१:०८ शुक्रबार