शब्द आफैँ लाज लाग्ने र लाज नलाग्ने हुँदैन। प्रयोग गर्ने वक्ताको आशयबाट मात्र लाज लाग्ने र लाज नलाग्ने शब्द छुट्टिन्छन्। वक्ताले त्यस शब्दलाई कुन अर्थमा प्रयोग गर्यो भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ। 'केरा, आलु, दूध, घण्टा, अण्ड, रोटी' जस्ता पवित्र शब्दलाई छाडा अर्थमा प्रयोग गरिएको पाइन्छ।
'केरा फल्यो। केराबारी देखेँ। जहाँ केरा, त्यहाँ बाहुनको डेरा।' आदि प्रसङ्गमा केराले खाद्य फलकै अर्थ दियो। यही केरालाई अश्लील अर्थमा प्रयोग गर्ने गरिएको छ। यदि कसैले 'तेरा बाबुको ... हेरेर बस्या थिस् ?' भन्यो भने त्यही शब्द अश्लील बन्न पुग्छ। केरा, आलु, दूध, घण्टा, अण्ड, रोटी जस्ता शब्द देखिनु वा हेरिनु अर्थमा प्रयोग गरिँदा यस्ता शब्दबाटै अश्लील अर्थ लाग्छ। कुनै–कुनै शब्द एउटा भाषामा शिष्ट हुन्छ भने अर्को भाषामा अशिष्ट वा अश्लील हुन्छ। अङ्ग्रेजी भाषाका गाला, कुखुराको मासु आदि बुझाउने शब्द नेपाली भाषामा अश्लील वा लाज लाग्ने अर्थका हुन्छन्। हिन्दी भाषीले चिल्लो भन्ने अर्थमा प्रयोग गरेको शब्द नेपाली भाषामा अश्लील हुन्छ। एकताक भारतीय टेलिभिजनमा एउटा कम्पनीको नाम नै नेपाली भाषाको लाजमर्दो र आपत्तिजनक शब्दका रूपमा देखिएको थियो। नेपाली भाषाकै कुरा गर्ने हो भने सुदूरपश्चिमका नेपाली भाषीले प्रयोग गरेको शिष्ट शब्द सुदूरपूर्वको नेपालीले सुन्दा लाजले मुख छोप्नुपर्ने हुन्छ। पश्चिम–नेपालतिर छोरीलाई बुझाउने शब्द पूर्वतिर आउँदा लाज लाग्दो सुनिन्छ।
सामान्यतया जननेन्द्रिय वा यौनाङ्गका नाम र तीसँग सम्बन्धित कुरा बुझाउने शब्दहरू अश्लील मानिन्छन्। संस्कृतका 'लिङ्ग, योनि, यौन, कामवासना, कामोत्तेजना, कामुक, योनिरस, वीर्य, अण्डकोष, मैथुन' जस्ता शब्दहरू सजिलैसँग बोल्न सकिन्छ। तिनै शब्दका पर्यायवाची अर्थ बुझाउने ठेट नेपाली शब्द वा एसियाली आगन्तुक शब्द बोल्न वा सुन्न सकिँदैन। संस्कृत भाषा आफैँ नै शिष्ट र सुसंस्कृत भाषा भएकाले त्यस भाषाका शब्दबाट अश्लीलताबोध नहुनु स्वाभाविक हो। तिनै शब्दलाई अङ्ग्रेजीमा प्रयोग गर्दा पनि हामी थोरै मात्र लजाउँछौँ।
गणिका, नगरवधू जस्ता शब्द जति श्रवणीय छन्, रण्डी, बेस्से जस्ता शब्द त्यति नै आपत्तिजनक छन्। 'उहाँ विधुर हुनुहुन्छ।' भन्दा कोही रिसाउँदैन। 'उहाँ राँडो हुनुहुन्छ।' भनियो भने सम्बन्धित व्यक्तिको पारो चढिहाल्छ। 'विधवाका छोरा।' भन्नु र 'राँडीका छोरा' भन्नुमा फरक छ। कामुक वा सेक्सी शब्दलाई ठेठ नेपाली भाषामा बोल्ने साहस सभ्य मानिसले गर्नेै सक्तैन। हामीलाई आमाबाले 'छोरो' भनेको भन्दा 'छोरा' भनेकै मन पर्छ। आदरार्थी शब्द बनाउँदा ओकारान्त शब्दलाई आकारान्त बनाइन्छ। तर श्रीमतीको भाइले चाहिँ 'साला' भनेको भन्दा 'सालो' भनेकै मन पराउँछ किनभने 'साला' भन्ने शब्द गालीका अर्थमा प्रयोग गरिएको छ। 'सालाजेठान' वा 'सालाभिना' जस्ता शब्दमा अर्को शब्द मिसिएकाले यस्ता शब्द पनि पाच्य छन्। धोतीलाई टोपी बनाउन नसकिएजस्तै गरी अश्लील अर्थमा प्रयोग गरिएको शब्दलाई शिष्ट प्रयोगमा ल्याउनु ज्यादै कठिन हुन्छ। केही वर्षअगाडि 'दरबारिया' भन्ने शब्द सम्मानसूचक मानिन्थ्यो, अचेल अपमानबोधक बनेको छ। पहिले 'चिरञ्जीवी भएस् !' भन्दा आशीर्वाद सुनिन्थ्यो, अचेल त्यही शब्द अभिशाप बनेको छ। पारसमणिले छुनेबित्तिकै फलाम पनि सुन बन्छ अरे ! लौह भनेको फलाम हो। गणेशमानजी 'लौहपुरुष' भनिए, तिनलाई 'पारसपुरुष' भन्न थालियो भने सर्वोच्च नेताको अपमान ठहरिन्छ। यसरी शब्दहरू अश्लील र वर्जित हुँदै गएका छन्।
प्रकाशित: ४ पुस २०७१ ०७:५३ शुक्रबार