मुगुका महिला फुटबल खेलाडीमाथि पत्रकार भोजराज भाटले बनाएको वृत्तचित्र ‘सुनकली’ विश्वकपताका खूब चर्चित भयो। यसपल्ट काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्वस (किम्फ)मा ओपनिङ फिल्मका रूपमा देखाइनुका साथै यसले नेपाल पानोरमा बेस्ट माउन्टेन फिल्म इसिमोड अवार्ड र स्पेसल जुरी मेन्सन अवार्डसमेत जित्यो। एक हजार डलर पुरस्कार पाएको फिल्मलाई २९ ठाउँमा च्यारिटी गर्ने गैरसरकारी संस्था इसिमोडले घोषणा गरेको छ। कर्णालीका दुःखदर्दमाथि धेरै वृत्तचित्र बने पनि सम्भावना र सुन्दरतालाई लिएर बनाइएको सम्भवतः ‘सुनकली’ पहिलो वृत्तचित्र हो। यसको निर्माण अनुभव निर्देशक भाटले डिबी खड्कालाई सुनाएका छन्।
संयोग एउटा
मेरो घर कैलाली नै हो। कामको मौका पारेर बंगलादेशबाट पढेर आएको साथी प्रकाश केसीलाई ‘सुदूरपश्चिम घुम्न जाऔँ’ भनेँ। घरनजिकै महिला फुटबल भइरहेको रहेछ। हेर्न गयौँ। मुगु र हुम्लाका खेलाडीहरू हेर्दा हामीलाई एउटा सानो डकुमेन्ट्री बनाउनुपर्छ जस्तो लाग्यो। मुगुका होचा र बोल्दै नबोल्ने भएकाले हुम्लालाई फोकस गर्यौँ। उनीहरू बलिया पनि थिए। उनीहरूले जित्छन् जस्तो लागेको थियो। तर, मुगु पो लगातार जित्न थाल्यो। मुगुका खेलाडीका लागि हरेक कुरा नयाँ थियो र काठमाडौँको टिमसमेत खेल्न गएको ठाउँमा उनीहरू पनि त्यहाँका मान्छेका लागि नयाँ थिए। मुगुको टिमले पहिलो खेल तीन गोलसहित जित्यो। जसमा तीनटै गोल सुनकली बुढाले गरिन्। उनलाई फोकस गर्दै खिच्यौँ, पछिल्ला खेलमा पनि सुनकलीकै गोलले मुगु जित्न थाल्यो। त्यसपछि मुगुले हारे पनि, जिते पनि एउटा सानो डकुमेन्ट्री बनाउनुपर्छ भन्दै फाइनलसम्म पछ्यायौँ।
निर्देशक भोजराज भाट।
बिनायोजना कर्णाली
हामीले यतिमै डकुमेन्ट्री सिध्याउने योजना बनाएका थियौँ। यही क्रममा सुनकलीको उनकी आमासँग फोन भयो। फोन संवादमा ‘विमानस्थलसम्म घोडासहित स्वागत गरिँदैछ, रेडियोले खेलको लाइभ गरेका थिए’ भनिन्। त्यसपछि हामीलाई त्यहाँसम्मै पछ्याउनुपर्छ जस्तो लाग्यो। काठमाडौँबाट थप दुइटा क्यामेरा झिकाएर सीधै मुगु पठायौँ। हामी सुनकलीसँगै त्यतातिर लाग्यौँ। मुगुको ताल्चा विमानस्थल पुगेपछि अचम्ममा परियो। वल्र्डकप जितेभन्दा ठूलो सम्मान छ, पूर्वमन्त्री आएका छन्। जिल्लाका गन्यमान्य सबै छन्। बाजागाजासहित आएका छन्। ती दृश्य खिच्दै जहाँ ती खेलाडीले प्य्राक्टिस गरेका थिए, त्यही मैदानसम्म पछ्याएर डकुमेन्ट्री सिध्यायौँ। २० मिनेटको डकुमेन्ट्री हुने भयो। हामी काठमाडौँ आयौँ।
जिज्ञासामाथि जिज्ञासा
फुटेज हेरेपछि मनमा जिज्ञासा जाग्यो। त्यो भिरालो जमिन भएको ठाउँमा कसरी जन्मियो फुटबल ? सन् २०११ देखि हरेक वर्ष हुम्ला र मुगुको फुटबल हुने रहेछ। तीन महिनापछि फेरि उनीहरूको त्यही सेड्युल पछ्याउँदै मुगु पुग्यौँ। कोदाको रोटीसँग हिउँ खाँदै प्य्राक्टिस गर्दै गरेका खेलाडी भेटिए। घाँस काट्न जाँदा सँगै बल लिएर हिँडेका दृश्य देखिए। यस्ता दृश्यले झन्–झन् ऊर्जा थप्दै गयो। घरपरिवार खिच्यौँ। ‘सुनकली कस्ती, मेस्सी जस्ती’ भन्ने नारा घन्किएको थियो। उनको घरमा पुग्यौँ। सानो घर, चुलोको एकातिर बाआमा अर्काेतिर सुनकली र अलिकति पर दुई भाइ सुत्ने रहेछन्। त्यो अभावग्रस्त जीवनबाट निस्किएको प्रतिभा देखेर आँखा रसाए। फेरि उनीहरू हिउँ छिचोल्दै हुम्लातिर लागेका दृश्य खिच्यौँ। बिदाइका दृश्य खिच्यौँ। हुम्लासँग मुगु हार्यो। कैलाली जानुअघि पनि हुम्लासँग मुगुले हारेको रहेछ।
आँशु बगाउने पालो मेरो
जब ती दृश्यहरू ल्याएर काठमाडौँ आएँ, एकएक गरी हेरेँ। त्यसपछि मेरा आँखा रसाउन थाले। कर्णालीमा अभाव छ तर धनी मनहरू देखेर रोएँ। आफ्ना सन्तानको प्रगतिमा हर्षाश्रु झारिरहेका अभिभावक देखेर रोएँ। त्यो सफलताका लागि खेलाडीहरूले गरेका संघर्ष जब महसुुस गरियो, दृश्यहरूसँग हामी रुन थाल्यौँ। किनभने, त्यो अभावमा पनि नचिनेका केटीहरू कतै यात्रामा हिँड्दै गरेको देखेर घर पोत्दै गरेका महिलाहरू बाटोमा खाजा पुर्याउन आएका दृश्य थिए। मैले यही डकुमेन्ट्रीका लागि कमाएको पैसा सकेँ। तलब पनि यसैका लागि खर्च गरेँ। किनभने, एउटा प्रभाव छाड्ने राम्रो डकुमेन्ट्री तयार पार्नु थियो। पछि अभावले मेरो श्रीमतीसमेत रोइन्। किम्फमा देखाएपछि अन्तिमपल्ट रोएँ। ती हर्षका आँशु थिए। मलाई दर्शक रुवाउने चाहना थियो, धेरै दर्शक आँशु पुछ्दै निस्किए। विदेशी फिल्ममेकरले समेत भावुक भएको बताए।
सुनकली अर्थात् गोल्डेन गर्ल
फुटबल टिम गेम हो। किन सुनकली फोकस ? भन्ने प्रश्न धेरै झेलेँ। मुख्य कुरा त त्यो खेलमा सबै गोल सुनकलीले गरेकी थिइन्। धेरै गोल गर्ने खेलाडीले गोल्डेन बल पाउँछ। सुनकली हिरो हो। उसको नाम आफैँमा एउटा विम्ब थियो। सुन अर्थात् गोल्ड, कली अर्थात् गर्ल। यसकारण नाम सुनकली राखियो।
कर्णालीका सम्भावना
कर्णालीलाई गरिबीको विम्बका रूपमा धेरैले प्रयोग गरे। त्यहाँको अभाव बेचेर समृद्ध हुनेहरू कति छन्, कति। अवसर पाए भने गरेर देखाउने क्षमता भएका प्रतिभासमेत जन्मिन्छन् भन्ने देखाउनमात्रै खोजेको हुँ। कर्णालीका चेलीले गरेको प्रयास र देखाएको क्षमताले यो प्रमाणित गरिसक्यो। दृश्यहरूमा त्यहाँको सुन्दरता पनि देखिएको छ। छोरीचेली घरबाहिर पठाउनु हुन्न भन्ने समाज पनि उनीहरूको सफलताबाट बदलिँदै गएको छ। तर, छ महिना उनीहरूको हाई– हाई भयो। पछि बिस्तारै यो सफलताको कथा सेलाउँदै गएको छ।
सपना सुनकली स्टेडियमको
ती विजेताको फुटबल टिम बन्ने सम्भावना छैन। यही विजेता टिमका तीन जनाले विवाह नै गरिसके। उनीहरूको प्रचलनअनुसार क्याप्टेन जानदेवी बुढाले १६ वर्षको उमेरमा, खेलाडीहरू पुस्तिका बोहोराले १६ वर्षको उमेरमा र कुसुम बुढाले १५ वर्षकै उमेरमा विवाह गरे। कर्णालीका चेलीहरूले अवसर पाए भने धेरै सुनकली जन्मिने विश्वास छ। अबको मेरो सपना कर्णालीमा सुनकली स्टेडियम बनाउने छ।
प्रकाशित: ४ पुस २०७१ ०७:१२ शुक्रबार