अन्य

मेला आतंक

पोखरामा मेला/महोत्सवको मौसम सुरु भएको छ। यहाँ हप्तैपिच्छे मेला लागिरहेका छन्। महोत्सव गर्न हानथापसमेत सुरु भएको छ यहाँ। मेला भर्न आह्वान गर्दै ठूलठूला माइक जडेका गाडी पोखरा र आसपासका क्षेत्रमा विज्ञापन गर्न दौडिरहेका छन्। नाम चलेका अभिनेता, गायक, हास्य कलाकार आदि आउने र मनोरञ्जनात्मक कार्यक्रम हुने विज्ञापन गर्दै दर्शक लोभ्याइन्छ।
तर, पछिल्लो समय हप्तैपिच्छे मेला/महोत्सव हुन थालेपछि त्यहाँ जानेहरू घट्दै जान थालेका छन्। 'सबै मेला उस्तै लाग्न थाले। उनै कलाकारका दोहोरी गीतबाहेक अरू सुन्न पाइँदैन। एउटामा गएपछि अर्कोमा जान जरुरी छैन,' लेखनाथ महोत्सवमा भेटिएकी वीरसुवा गुरुङ भन्छिन्, 'पहिले पोखराका धेरैजसो महोत्सवमा जान्थेँ। आजभोलि खासै जान्नँ। मेला आतंक नै चलिरहेको छ पोखरामा।'कात्तिक १४ देखि २२ गतेसम्म रंगशालामा चलेको सिटी रेवानको महोत्सवले पोखरामा महोत्सवको सुरुवात गरेको हो। त्यसपछि यहाँ लगातार मेला महोत्सव लागिरहेका छन्। लाग्ने तयारी पनि उत्तिकै भइरहेको छ।
पछिल्लो समय लगातार मेला हुन थालेपछि दर्शक संख्या घट्दो छ। 'पहिले कतै महोत्सव लाग्दा रहर लाग्थ्यो, अहिले एकपछि अर्को लगातार लाग्ने मेला/महोत्सवले वाक्क बनाइसके,' पोखरा औद्योगिक व्यापार मेलामा भेटिएका नवीन श्रेष्ठ भन्छन््।
पोखरामा महिनामा तीनचारवटा मेला/महोत्सव हुन्छन्। प्राचीनकालदेखि चल्दै आएका धार्मिक मेला हुन् वा व्यापार÷व्यवसाय गर्न लगाइने मेला, अनेकन् नाम जुराएर पोखरामा हप्तैपिच्छे मेला हुन्छन्। 'मेलाले दर्शकमा रमाइलो होइन, आतंक सिर्जना गरेका छन्,' नवीन भन्छन्, 'दर्शकका लागि मेला अब नयाँ रहेनन्। पोखरामा लाग्ने हरेक मेला उस्तै प्रकृतिका हुन्छन्। दर्शक दिक्क भइसके। विभिन्न नामका मेला र महोत्सव जुरायो। प्रायोजक खोज्यो। हरेक मेलामा दिउँसो लोकदोहारी गीत, साँझ परेपछि पप गीतको डाङडुङ। नयाँ केही हुँदैन।'
पोखराका कुनै पनि मेलामा छुट्दैनन्, जादु, कर्कश ध्वनि निकाल्ने मोटरसाइकल रेस, फलामे पिङ, बालबालिकाका भुलाउने विभिन्न खेल। यी सबै काम भारतीय नागरिकहरूले गर्छन्।
मेलाकै अवसर पारी किनमेल गर्दा सस्तो समान पाइने आशा हुन्छ। विभिन्न पसल चहार्दै सामान खरिद गर्नुभन्दा एउटै मेलामा चाहेजतिको सामान किन्न खोज्ने पनि धेरै हुन्छन्। तर, दर्शक जे सोचेर मेला जान्छन्, अवस्था उल्टो हुन्छ। महोत्सवमा राखिएका सामग्री यति महँगा हुन्छन् कि छुन पनि सकिँदैन। नयाँ उत्पादन केही हुँदैन। 'मेला भन्ने मात्रै हो, सस्तो होला भनेको त लुट्न बसेका रैछन्,' लेखनाथ महोत्सवका दर्शक तेजबहादुर विक भन्दै थिए, 'लुगा किन्न खोजेको, छोइसक्नु छैन। कति महँगो हो ! बरु बाहिरै सस्तो हुन्छ।'
स्थानीय स्तरमा उत्पादित विभिन्न वस्तुको बजार खोज्नु, कृषिजन्य लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्नु, ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पुर्या उनु आदि मेला/महोत्सवका उद्देश्य बताइएका हुन्छन्। 'तर, यी सबै भन्ने कुरा मात्रै हुन्,' पोखरानिवासी मनबहादुर गुरुङ भन्छन्, 'यस क्षेत्रमा लाग्ने धेरैजसो मेला/महोत्सवको कुनै उपलब्धि छैन। जे नामले गरे पनि आजभोलि लाग्ने मेला फेशन भइसके। यसको फाइदा व्यापारी र कलाकारलाई भएको देखेको छु।'
तर, आयोजकहरू मनबहादुरको तर्कसँग सहमत छैनन्। 'हामीले आयोजना गर्ने मेला नयाँ–नयाँ उत्पादनलाई उपभोक्तामाझ सार्वजनिक गर्ने गतिलो अवसर हो। धेरैले नयाँ उत्पादन मेलामा सार्वजनिक गर्छन् र उपभोक्ताको पहुँचसम्म पुग्छ,' लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मी त्रिपाठी भन्छन्, 'तर, पछिल्लो समय मेलाका नाममा आतंक सिर्जना गर्ने काम पनि भइरहेको छ। यो गलत हो। राम्रा मेला महोत्सवले धेरैलाई फाइदा गरेको छ।'
मंसिर २८ गते लेखनाथ महोत्सव सकियो। 'सडकमै खाऔँ, सडकमै रमाऔँ, सडकमै नाचौँ' भन्ने नाराका साथ पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा महोत्सव हुँदैछ। युनाइटेड क्लब पोखराले पुस ३० देखि माघ ८ गतेसम्म अमरसिंह चौरमा पोखरा महोत्सव गर्ने तयारी गरेको छ। पोखरा आसपासका विभिन्न क्लबले गर्ने मेला/महोत्सवको त गन्ती नै छैन। कास्कीका रमणीय ठाउँहरू सार्दीखोला, स्याक्लुङकोट, सिकलेस, ताङतिङ, याङ्जाकोट, ल्वाङ घलेल, भदौरे, पञ्चासे आदिमा लाग्ने र पोखरा आसपासका विभिन्न क्लबले गर्ने मेलाहरूको गन्ती नै छैन।

प्रकाशित: ३ पुस २०७१ ११:२० बिहीबार