रोबर्ट पावलले पृथ्वी र त्यसको शक्तिलाई अभिव्यक्त गर्न बनाएको पानी रङको चित्रपुस्तकमा मुस्ताङको घोडा संस्कृतिमाथि कोरिएका चित्रहरु देखेर सोफीलाई यसमाथि फिल्म बनाउने प्रेरणा जागेको थियो। चारपटक नेपाल आएकी भए पनि फिल्म बनाउने विचार फुरेपछि उनले पहिलोपटक मुस्ताङ यात्रा गरेकी थिइन्।
हर्सफ्लाई फिल्मस् संसारभरका घोडा संस्कृतिबारे फिल्म बनाउने संस्था हो। यसअघि विभिन्न देशका घोडासंस्कृतिमाथि फिल्म बनाइसकेको यस संस्थाले यसपटक नेपालको उत्तरीभेगको जनजीवनमा अभिन्न अङ्ग बनेको विषय उठाएको हो।
महिनौंसम्म मुस्ताङ घुमेपछि उनी निष्कर्षमा पुगेकी थिइन्, 'घोडाबिना मुस्ताङमा मानिसको जीवन सम्भव छैन।' यही कुराले उनलाई फिल्म बनाउन प्रेरित गर्योष। घोडादौडमा घोडचडीलाई हावासँग कुरा गर्न प्रोत्साहित गरिन्छ भन्ने विषयलाई समेत उनले जोड दिएकी छन्। सोफीले घोडाको अनौठो संस्कृतिमाथि यसअघि 'गड्स एन्ड किङस्' र 'पाथ टु ग्लोरी' निर्देशन गरिसकेकी छन्।
'युवाहरुले देशभित्रको संस्कृति बुझ्नुपर्छ,' निर्मात्री मिरान्डा मोर्टन यापसँगै आइपुगेकी उनले भनिन्, 'तिनले संस्कृति बुझ्न र संरक्षण गर्न सकेनन् भने संस्कृति र सम्पदा मासिएर जान्छन्। त्यसैले युवाहरुले आफ्नो संस्कृति जोगाउन सिक्नुपर्छ।'
मुस्ताङमा गत वर्ष १० दिनको सुटिङमा जाँदाको अनुभव रोचक भएको मिरान्डाले बताइन्। 'मुस्ताङ पुग्न १४ वटा गाडी बदल्नुपरेको थियो। धन्न यार्तुङ महोत्सवमा सहभागी हुने अवसर पाइयो। मनसुनपछिका दृश्यहरु एकदम रोचक भेटिए। धेरैलाई क्यामेरामा कैद गर्न सफल भयौं। त्यसको परम्पराबाट मोहित भएर नयाँ फिल्म निर्माणमा प्रोत्साहित गर्यो।,' मिरान्डाले निर्देशक सोफीलाई हेर्दै भनिन्।
घोडाले जमिनमा भएको मानिसलाई उचालेर दौडिनेदेखि लिएर घोडाको बथानले निकाल्ने धुनहरुले आफूलाई भावुक बनाएको र यो कल्पना गर्न नसकिने किसिमको भएको उनले बताइन्। 'घोडामाथि अध्ययन गर्न चाहनेहरुलाई यो फिल्म स्रोतको रुपमा प्रयोग हुनसक्छ,' उनले दाबी गर्दै भनिन्, 'प्रायः फिल्ममा उतार्न अप्ठ्यारो हुने इन्द्रेणीका विभिन्न दृश्यलाई समेत हामीले समेटेका छौं।'
हिमाल एसोसियसनको आयोजनामा १२ औं किम्फ काठमाडौंको कुमारी सिनेमाहलमा भइरहेको छ। पाँचदिने किम्फ सोमबारसम्म चल्नेछ।
प्रकाशित: २७ मंसिर २०७१ २०:५८ शनिबार