अन्य

ड्राइभरको दिमाग पाइलटको भन्दा बढी हुनुपर्छ : रंगवीर श्रेष्ठ, बस चालक

के छ गुरुजी?
हल्का टेन्सन छ।
 
केको टेन्सन?
दुर्घटनाका खबर धेरै आउन थाले।
साँच्ची, किन होला दुर्घटना बढेको?
पहिलो कारण ड्राइभरको लापरबाही। त्यसपछि सडक र ट्राफिक व्यवस्था झुर भएर।
 
ड्राइभर किन लापरबाही गर्छन् होला?
दिमाग छैन। ड्राइभरको दिमाग पाइलटको भन्दा बढी हुनुपर्छ। बुद्धि नभएकाहरू धेरै भएपछि दुर्घटना बढेका हुन्।
 
तपाईंको छ त?
मेरो त दह्रो दिमाग छ। दुई महिनामात्र खलासी गरेर लाइसेन्स पाएर गाडी हाँक्न थालेको हुँ। अचेलका खलासी दुईचार वर्षमा पनि राम्रोसँग गुडाउन जान्दैनन्।
 
कुन रुट हो?
काठमाडौँ–बाह्रबिसे।
 
यो रुटमा गाडी चलाउन कत्तिको गाह्रो छ?
त्यति गाह्रो छैन। तर, गाडी र शरीर दुइटैका नटबोल्ट खुस्किने रुटमा पनि चलाइयो। दिमाग भएरै त अहिलेसम्म जस्ता रुटमा पनि ढुक्कले हाँकियो।
 
घर कहाँ हो?
सिन्धुपाल्चोक, इर्खु।
 
कति भयो गाडी चलाउन थालेको?
१८ वर्ष पुग्न लाग्यो।
 
गाडी साहू नबन्ने?
एकपटक बनेर पनि दुइटा गाडी खाइवरी उडाइसकियो। अब नबन्ने साहू।
 
किन?
ड्राइभरकै जिन्दगीमा रिल्याक्स छ। साहू भएपछि टेन्सन धेरै हुँदो रै'छ।
 
मापसे गरिन्छ?
गरिन्न।
 
कहिल्यै गरिएन?
नेवारको छोरो। रक्सी नखाए भीमसेन रिसाउँछ भन्छन्। भीमसेनलाई पहिला जवानी छञ्जेल धेरै खुशी पारियो। स्टेरिङ समाउँदा चाहिँ कहिल्यै रक्सी छोइएन।
 
जवानी गइसक्या हो र?
आधा उमेर ख्यालख्यालमै बितिसक्यो नि। गए अब रमाउने दिन।
 
ट्राफिकसँग कस्तो छ सम्बन्ध?
दुश्मनको जस्तो। उनीहरूको मनपरी कारबाहीको नाटक देखेर पारो चढ्छ।
 
किन हुन्छ तपाईंहरूको दुश्मनी?
नियम पालना गराउनेभन्दा पनि मनपरी धेरै गरेपछि कसलाई चित्त बुझ्छ?
 
कति पढियो?
६ कक्षा पास।
 
गाडीमा यात्रुका कुन कुरा मन पर्दैन?
च्याप्प अँगालो हालेर अर्कालाई मतलब नगरी जे पायो त्यही गर्ने जोडी देखेर रिस उठ्छ। त्यस्तालाई 'झरेर जे गर्छौ गर, भित्र नाटक नदेखाऊ' भन्दिन्छु।
 
तपाईंको सपना?
विदेश गएर टन्न कमाएर राजधानीमा घर बनाउने।
 
यहीँ पनि टन्न कमाइ हुन्छ भन्छन् त केही गुरुजीले?
मेरो त छैन। दैनिक पाँच सयजतिमात्र हुन्छ। त्यतिले आफ्नो खर्च टार्नु कि परिवारको?
 
कस्ता गीत सुनिन्छन्?
जस्ता बजे उस्तै। रोज्ने नै हो भने पहिला लोक, त्यसपछि आधुनिक, अनि हिन्दी।

प्रकाशित: २६ मंसिर २०७१ ०६:१६ शुक्रबार