अन्य

मर्द सिंह अर्थात् अमृता

सन् ८० को दशकमा बलिउडका ठूला स्टार आफ्ना छोराछोरीलाई फिल्मी पर्दामा ल्याउने ध्याउन्नमा थिए। धर्मेन्द्र जेठा छोरा सनी देओललाई अभिनयको अखडामा उतार्ने तरखरमा थिए। उनका लागि अभिनेत्रीको खोजी भइरहेको थियो। उनलाई एकदमै 'फ्रेस अनुहार' चाहिएको थियो। एकजनालाई छानियो।
तर, पछि थाहा भयो, उनले एउटा फिल्ममा सानो भूमिकामा खेलिसकेकी छिन्। यो कुराले धर्मेन्द्रलाई रिस उठ्यो र उनले ती अभिनेत्रीलाई फिल्मबाट निकाले। फिल्म 'बेताब' का लागि नयाँ अभिनेत्रीको खोजी अमृता सिंह पुगेर टुंगियो। खाइलाग्दा ज्यानका सनीका लागि उस्तै अभिनेत्रीको आवश्यकता थियो। अमृताले त्यो आवश्यकता पूरा गरिन्। अमृता अरू अभिनेत्रीजस्तै सुन्दर र नाजुक थिइनन्। फिल्म रिलिज हुँदा कतिपय फिल्म समीक्षकले उनको उपहास पनि गरेका थिए। समीक्षकले अमृताको नाम नै 'मर्द सिंह' राखिदिएका थिए। तर, उनको सफलताले सबैको मुखमा बुजो हालिदियो। एउटा फिल्म हिट भएपछि कलाकारका घरअगाडि निर्माताका लाइन लाग्ने दृश्य बलिउडमा प्रायः देखिन्छन् नै। अमृताका हकमा पनि यस्तै भयो। सन् १९८५ मा मनमोहन देसाई अमिताभ बच्चनलाई लिएर फिल्म 'मर्द' बनाउने योजनामा थिए। फिल्म 'बेताब' बाट डेब्यू गरेकी अमृतामा उनको ध्यान तानियो। र, फिल्म 'मर्द' पनि उनको पोल्टामा पर्‍यो। अमिताभसँग काम गर्ने सपना हरेक अभिनेत्रीको हुन्छ। त्यसैले उमेरको अन्तरलाई पनि अमृताले वास्ता गरिनन्। करिअरको प्रारम्भमै बलिउड महानायकसँग काम गर्न पाउँदा उनी मक्ख थिइन् भने अरू धेरै अभिनेत्रीको तारो बनिसकेकी थिइन्। अमृताको कामबाट खुशी भएर मनमोहन देसाईले सन् १९८९ मा उनले फिल्म 'तूफान'मा उनलाई दोहोर्‍याए।
'साहेब', 'चमेली की शादी', 'नाम' जस्ता फिल्मले उनलाई मनग्गे सफलता दिलायो। त्यतिखेरका स्टार अभिनेतासमेत अमृतासँग काम गर्न उत्सुक हुन थाले। एकातर्फ उनले युवा अभिनेता सनी देओल, सञ्जय दत्त, अनील कपुरसँग काम गरिन् भने अर्कातर्फ आफूभन्दा उमेरमा पाका अभिनेता शत्रुघ्न सिन्हा, जितेन्द्र, अमिताभ बच्चन, विनोद खन्नासँग समेत काम गरिन्। जुनसुकै उमेरका अभिनेतासँग तालमेल बसाउन सक्ने उनको खूबीले उनको पोल्टामा धेरै फिल्म परे। एक समय थियो जब धर्मेन्द्र र सनी देओल बाबुछोरा दुवै अलग–अलग फिल्ममा मुख्य अभिनेताका रूपमा देखिन्थे। बलिउडमा धर्मेन्द्रको चमक सनीभन्दा बढी थियो नै। धर्मेन्द्रलाई रिटायरमेन्टबारे सोध्दा, उनी भन्थे– 'अहिले त म जवान छु। सनीका अभिनेत्रीको हिरो बन्न सक्छु।' नभन्दै उनी फिल्म 'सच्चाई की ताकत' र 'वीरु दादा' मा अमृताका हिरो बने।
अभिनेत्रीप्रधान फिल्म बलिउडमा कमै बन्छन्। अभिनेत्रीले आफ्नो भरपूर क्षमता देखाउने किसिमका भूमिका नै लेखिँदैनन्। अमृताले पनि कतिपय यस्ता फिल्म गरिन्, जसमा उनको भागमा केही गीत र केही दृश्य परे। सीमित घेरामा बाँधिए पनि उनले आफ्नो अभिनयको जादुमा कुनै कमी आउन दिइनन्। 'साहेब' मा उनी चञ्चले केटीको भूमिकामा देखिइन्। फिल्म 'नाम'मा सञ्जय दत्त र कुमार गौरवजस्ता अभिनेता हुँदाहुँदै पनि सबैको ध्यान अमृतातिर गयो। 'आइना' मा उनी घमण्डी केटीको भूमिकामा देखापरिन्, जो घमण्डकै कारण प्रेमी गुमाउन पुग्छे। बहिनीले तिनै प्रेमीलाई मन पराउँदा आरिसले मुर्मुरिन्छे। यस भूमिकालाई अमृताले आफ्नो उम्दा अभिनयबाट सम्झनयोग्य बनाइन्। 'राजु बन गया जेन्टलम्यान' मा पनि उनी नकारात्मक भूमिकामा देखापरिन्।
क्रिकेटर रवि शास्त्रीसँग उनका प्रेमका किस्स बलिउडमा अहिले पनि चर्चित छन्। तर, क्रिकेटर र एक्टरको प्रेम सम्बन्ध लामो समयसम्म टिक्न सकेन। यसपछि विनोद खन्नालाई अमृताले मन पराउन थालिन्। भनिन्छ, विनोद र अमृताले कोर्ट म्यारिजका लागि आवेदन पनि दिएका थिए। अन्तिम क्षणमा कुनै कारणले यी दुईको बिहे हुन सकेन। पछि उनको जीवनमा सैफ अली खान आए। उमेरमा उनीभन्दा दश वर्ष कान्छा थिए सैफ। यी दुईको बिहेले बलिउडलाई नै अचम्ममा पारिदियो। उनीहरूको बिहे लामो समयसम्म टिक्दैन भनी धेरैले अनुमान पनि गरेका थिए। भयो पनि त्यस्तै। केही वर्ष माया–प्रेममा बिते पनि पछि सैफ र अमृताले छुट्टिने निर्णय गरे। त्यो अवधिमा उनीहरू एक छोरा र एक छोरीका अभिभावक बनिसकेका थिए। सैफले अमृतालाई सार्वजनिक रूपमा खुलाएनन्। त्यो मौनता अहिलेसम्म पनि कायमै छ। पछि, सैफ करिना कपुरको प्रेममा परे। र, अमृता चाहिँ बच्चा हुर्काउन व्यस्त भइन्।
सनी देओलको होम प्रोडक्सन '२३ मार्च १९३१ शहीद' बाट अमृता फेरि फिल्ममा फर्किइन्। महेश भट्टले 'कलयुग' मा उनलाई सशक्त भूमिका दिए। अमृताले टेलिसिरियल 'काव्याञ्जली' मा पनि काम गरिन्। 'पैसाका आवश्यकता परेर उनी काममा फर्किएकी हुन्' भन्ने हल्लाले बलिउड तात्यो। तर, उनले यसको बेवास्ता गरिन्। काममा लागिरहिन्। पछि उनले यशराज फिल्म्सको 'औरंगजेब'मा काम गर्ने अवसर पाइन्। सन् २०१४ मा आएको फिल्म 'टू स्टेट्स' मा उनी अर्जुन कपुरको आमाको भूमिकामा देखापरिन्।

प्रकाशित: २६ मंसिर २०७१ ०५:५० शुक्रबार