नपाए फूल भइगयो तिमी रोइदिनु आशमा...
गीतको पार्श्वमा अझै त्यो नायक देखिरहेछु म, जसको पार्श्व आवाजमा ऊ स्वयंको जीवनको अन्त्य चलिरहेको थियो। २७/२८ वर्षको युवा उमेरमा २४/२५ वर्षका गोपाल योञ्जनको संगीतमा स्वयंले गाएको गीतकार रवीन्द्र शाहको यो गीत पार्श्वमा बजिरहेका बेला उसको पार्थिव शरीरमा फूल चढाउनेहरू असंख्य थिए र सँगसँगै रुनेहरूको आँसु एकै ठाउँबाट बगेको भए सम्भवतः त्यो दिन एउटा अर्को बागमती समानान्तर भएर बग्ने थियो।
नारायण गोपालको गायनको लोकप्रियताले धर्तीको धुलो र आकाशको बादल एकैचोटि फाटेको थियो। र, यसरी एउटा नयाँ आकाश भएका थिए नारायण गोपाल!
काठमाडौं त्यो समय अनेक घटनाको इतिहास बनिरहेको थियो। अनेक षडयन्त्रहरूको रात झेलिरहेको थियो। तर काठमाडौं त्यतिमात्र थिएन, प्रेम र साधनाको युग भनेर चिनिने गीत–संगीतको अनुकरणीय इतिहासको साक्षी पनि थियो काठमाडौं। यहाँको यात्राका लागि आकर्षणको एउटा महत्वपूर्ण पाटो थियो त्यस समयका सांगीतिक हस्तीहरूको किंवदन्तीजस्तो कथा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको रहस्यमय लेखन र गोल्डन भ्वाइसका ओजस्वी गायक नारायण गोपालको रहस्यमय गायकीका अनुरागीहरूले भरिएको थियो देश। ती दुवै महारथीहरूको जन्मभूमि यो राजधानी आधुनिक नेपाली साहित्यको मात्र होइन, आधुनिक गीत–संगीतको पनि राजधानी नै थियो।
नातिकाजी, किरण खरेल, माणिकरत्न, रत्नशमशेर आदि विशिष्ट साधकसँग नारायण गोपाल हुर्किरहेका थिए र सँगसँगै हुर्किरहेको थियो, नेपाली गीतको गौरवमय युग। यसरी नेपाली संगीतले अजम्मरी सुर र स्वरको स्वर्णिम इतिहास बनाइरहेको थियो। आजको स्मरणको जग त्यहाँदेखि पूर्वकै हो सेतुराम र मेलवादेवी हुँदै उत्तरोत्तर अघि बढेको। सुमधुर संगीत र गायनका पिता नातिकाजी, अम्बर गुरुङ, गोपाल योञ्जन हुँदै दिव्य खालिङसँगको साहचर्यमा सफलताको शिखर चुमेका नारायण गोपाल जनजनका हृदयमा स्वाभिमान र दृढताका आदरणीय गायक बनिसकेका थिए। यी सबका पछाडि तिनको साधना अर्थात् तपस्या नै थियो। आवाजको दुनियाँमा प्रतीकात्मक प्रस्तुतिको अपार आनन्द थियो। उनी भन्थे पनि 'गीतको पहिलो आनन्द म आफंै लिन्छु र जब म आनन्द महसुस गर्छु अनिमात्र स्रोतामा पुर्याउउँछु।' जीवन्त अनुभूतिका भावहरू छेड्ने साहित्यिक गीतहरूले शब्द र संगीतको बेग्लै गरिमा बनाउँथ्यो। आधुनिक नेपाली गीतको मौलिक धारलाई आफैसँग बगाउने सामर्थ्य भएको त्यही निश्चिन्त आकाशमुनि आजको नेपाली संगीत आफ्नो सांगीतिक इतिहासप्रति गर्व गर्छ। यो इतिहासको खास आरम्भका केही मुख्य विन्दुहरू छन्, एउटा महत्वपूर्ण विन्दु यो पनि थियो– काठमाडौंको किलागलबाट आरम्भ भएको र अन्तहीन इतिहास बनेर रहेको।
आज पनि स्मृतिमा छ त्यो समयको कथाजस्तो उनको सम्झना र २४औं पुण्य स्मृति दिवसका अवसरले झन् ताजा बनेका छन् ती दृश्यहरू। गीत गंगामा यस अवसरमा निकै सुन्दर प्रस्तुति भएका छन्। आधुनिक नेपाली संगीतमा उनीसँग मितेरी साइनो गाँसी लामो सहयात्रा गर्ने महान् साधक गोपाल योञ्जन, उनीसँगै युगल गीत गायकी आधुनिक नेपाली गीतप्रति समर्पित अमृतमय स्वरकी धनी दिलमाया खाती तथा नारायण गोपालसँग २०३६ पछिको पछिल्लो उत्कर्षकाललाई सम्हाल्ने नेपाली संगीतका धरोहरमध्येका एक दिव्य खालिङलाई नारायण गोपाल स्मृति विशेष सम्मान २०७१ बाट सम्मानित गरिएको छ। नारायण गोपालका गीतहरू गाएर उनीप्रति अजस्र सम्मान राख्ने वर्तमान समयका स्थापित युवा गायक गायिकाहरूले उनका गीतमा स्वर्णिम युगलाई ब्युँझाउने प्रयास गरेका छन्।
यसबाहेक स्मृतिमा आइरहने बितेका केही अविष्मरणीय पलहरूको विशेष मनोदृश्यहरू पनि छन् मसँग।
जनआन्दोलन २०४६ को पूर्व तयारी भइरहेको थियो। २०४५ सालको अन्तिम महिना। भारतसँग पटक–पटक बिग्रिरहने पारवहन सन्धिको पीडा खेप्न विवश पदयात्रा थियो। पेट्रोलियम पदार्थको आपूर्ति बन्द हुँदा पनि हार्दिकताको ढोका खुलै थियो। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा मालती मंगले गीतिनाटक हेर्न पुगेकी थिएँ। मंगलेको आवाजको पीडा, अभिव्यक्तिको त्यो हृदय संवेद्य कला आज पनि 'ढोका खोल मालती ढोका खोल हो, ढोका खोल्नु पहिले बोल बोल हो'को अलौकिक प्रतिध्वनिले नारायण गोपालको गायकीको विचित्र सामर्थ्य झल्काउँछ। उनले गीतिनाटक र नाटक गरेर करिब १५ वटामा आवाजको जादु चलाएका छन्। भरतमुनिको नाट्यशास्त्रले नाटकमा गीत–संगीतलाई सहायक वस्तु मानेको छ। शास्त्रीय युगमा मात्र होइन आज पनि त्यसलाई सहायक नै मानिन्छ। अभिनयलाई परिपाक बनाउने एउटा साधनमात्र तर नारायण गोपालको गायकीले कुनै पनि नाटकमा होस् वा गीति नाटकमा, गीत–संगीतलाई केन्द्रीय वस्तु बनाएको छ। उनकै स्वरमा गुञ्जिने गीतका कारण थिएटरमा बढ्ने अनुभूति, आकर्षण, भीड र त्यसको रौनकको आफ्नै स्पर्श हुन्छ। नयाँ पुस्ताले यो गायकीको रहस्य जान्नु जरुरी छ। यसका लागि नारायण गोपाल संगीत विद्यालयको सपनालाई यथार्थमा ल्याउनु आवश्यक छ। स्वर र शैलीका उच्च शिखर, जनजनका गायक नारायण गोपाल गीतमा शब्द र संगीतको एकात्मक आन्तरिक अन्विति र लय भेटेपछि मात्र त्यसलाई आवाज दिने कुरा स्वीकार्थे, उनले गीत लेेखेनन् तर गीत चिन्ने मुटु र मस्तिष्क थियो उनमा। उनको नामबाट खुल्ने संगीत पाठशालाले यही मुटु र मस्तिष्कको प्रत्यारोपण गरी नेपाली संगीतमा हराउँदै गएको साधना र विश्वासलाई फर्काउनुपर्छ।
आजभोलि गीत कसले रचना गर्योग, त्यसलाई मिडियाले उत्ति चासो राखेको पाइँदैन। केही समयदेखि गीतकारको परिचय खस्केको अवस्था छ। तर नारायण गोपालले शब्दलाई छनोट गर्नेमात्र होइन छनोट गरिएका गीतका गीतकारप्रतिको जिम्मेवारी पनि कहिल्यै भुलेनन्। उनले गीत छनोटका लागि गीतैलाई आधार बनाए, गीतकारलाई होइन। तर जसका गीत छाने, तिनका गीतका भावलाई उच्च सम्मान दिए। उच्चारणदेखि उठानसम्म एउटा न्यायपूर्ण गतिले चुलीमा पुर्यानए। उनी गीतमा केही नयाँपन र खास उद्देश्य खोज्थे र गीतको मर्मलाई आत्मसात गर्थे। संगीतमा नयाँ मोड ल्याउन, यसको विकास र विस्तारमा उनले कविता गाउने परम्परा बसाले। बागिना पत्रिका सम्पादन र प्रकाशन गरेर, आफंै पनि लेखरचना लेखेर आधुनिक नेपाली संगीतलाई मञ्चमा सम्मानपूर्वक उभ्याउन सफल भए। उनको एउटै लक्ष्य थियो, उच्चकोटिको नेपाली अर्केस्ट्रा तयार पार्ने। यसरी गीत–संगीत र गायन तीनै पक्षलाई उनको समयले समान गरिमा प्रदान गरेको छ। त्यसैले हो नारायण गोपालको समयलाई स्वर्णिम युग भनिएको। एक्लै कुदेर पहिलो हुने स्वभावका थिएनन् उनी। गुणस्तरीयताका लागि सहकार्यप्रतिको उच्च सम्मान थियो उनमा।
२०४६ साल जेठ ७ गते नारायण गोपाल स्वर्णिम सन्ध्याको प्रत्यक्षदर्शी थिएँ म पनि। हल यसरी भरिएको थियो, मानौं यसपछि हृदयका प्रिय गायकको अर्को कार्यक्रम हेर्ने अवसर पाइनेछैन। भयो पनि त्यस्तै। त्यो सफल प्रस्तुतिको डेढ वर्ष बित्दानबित्दै उनको जीवनको एक पिरियड सकियो। तर त्यस समयले दिएको अनुभूति कहिल्यै सकिएन। उनी दर्शकतिर फर्किएका, पलेटी मारेर बसेका। उनका दायाँबाया थोरै देखिने गरी अदब र सम्मानका साथ दुई गायिका लोचन भट्टराई र मन छुने अभिनयका लागि चर्चामा रहेकी विजया गिरी युगल र कोरस गायनमा साथ दिन बसेका थिए। उनका औंला हार्मोनियममा सहजतापूर्वक नाचिरहेको देखिन्थ्यो।
स्वर्णिम साँझलाई उनले लौ सुन म भन्छु मेरो राम कहानीबाट प्रारम्भ गरे। गोपाल योञ्जनको शब्द–संगीतमा रहेको यस गीतलाई उनले सायद मंगलाचरण माने हुन् किनकि मीतज्यू प्रतिको विशिष्ट आदर केवल मितेरी सम्बन्धको कारणमात्र थिएन, गोपाल योञ्जनको सांगीतिक प्रतिभाका ज्ञाता थिए नारायण गोपाल। त्यसैले जीवनको उत्तरार्द्धमा बचाइका सम्पूर्ण सार खिचे उनले, ...त्यो एक दिनको घाम सयौं दिनको पानी...। तालीको कुनै सीमा थिएन त्यहाँ। क्रमशः उनले रमाइला भनाइहरू राख्दै गायनलाई अघि लगेका थिए। उनको व्यंग्य मिश्रित ठट्टामा जीवनका विसंगति पनि आउँथे तर उनी मासलाई निराश बनाउँदैनथे। गोपाल योञ्जनकै अर्को गीत 'तिम्रोजस्तो मुटु मेरो पनि' गाएपछि हल स्तब्ध भएको थियो। उनले 'मेरो बेहोशी आज' बोलको गीत गाउनुअघि गीतकार ईश्वरवल्लभप्रति सम्मानका केही शब्द पनि राखे— 'जन साधारणले भन्छन् ईश्वरवल्लभका गीत बुझिँदैन तर म भन्छु ईश्वरवल्लभलाई बुझ्यो भने उसको गीत बुझ्न गाह्रो छैन।'
नीर शाहको गीत 'पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो' गाउने क्रममा उनले गीतकार र संगीतकारलाई सम्बोधन गरे— 'गीत भनेको जेठो–कान्छो हुँदैन, नयाँ पुरानो हुँदैन। प्रतिभा पनि त्यस्तै हो, एउटा यस्तै प्रतिभा नीर शाह र अर्को प्रतिभा शम्भुजित बाँसकोटा, जसको एउटा गीत मैले गाएको छु।'
यसरी उनी अग्रज र समकालीनमात्र होइन, नयाँ पुस्ताको प्रतिभालाई पनि चिनेर प्रोत्साहन गर्थे। उनले प्रोत्साहन गरेका ती संगीतकार आज नेपाली संगीतका बलिया हस्ती भइसकेका छन्। नाट्य संगीत एकेडेमीका उपकुलपति बनेका छन्। गीतकार नीर शाहको नेपाली गीत र फिल्मको उत्थानमा विशिष्ट योगदान छ। त्यसैले विशिष्ट परिचय छ। यस्ता धेरै प्रतिभालाई नारायण गोपालले चिनाएका छन्।
स्वर्णिम साँझका अरू प्रस्तुतिमा भूपि शेरचनको 'सानै हुरीमा बैंसको सपना सिमलको फूलझैं झरी गयो', दिव्य खालिङको 'प्रेयसीका यादहरू', दीपक जंगमको शब्द–संगीतमा 'यति धेरै माया दिई मनभरि दुख नदेऊ' हुँदै कालीप्रसाद रिजालको 'केही मिठो बात गर'जस्ता हृदयस्पर्शी संवेदनाका उच्च गीतहरू थिए। अन्तिम गीत थियो, 'एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा'। सायद यो अन्तिम प्रस्तुति थियो, जीवन संगिनी पेमला लामाका लागि। नारायण गोपालको जीवनमा पेमलाको आगमन उनको गायनको प्रेरककै कारणले भएको हो। उनका गीतसँग, उनको आवाजसँग पहिलो प्रेम भएको थियो पेमला लामाको। अनि उनी जीवनभर त्यो गायकीको रागमा अनुरागी भइन्। प्रेरणा– मात्र प्रेरणा दिइन्, उनले नारायण गोपालको गायनलाई। बदलामा केही मागिनन्। स्वर्णिम सन्ध्याको बिट मारिसक्दा हलभित्र निकै गर्मी बढिसकेको थियो। नारायण गोपालका गीतहरूको शक्ति थियो त्यो। उनले स्रोताहरूलाई अन्तिमसम्म पनि स्थिर राखिरहे।
हरेक वर्ष मंसिर १९ गते नारायण गोपालको स्मृति दिवस मनाइन्छ। काठमाडौंको उत्तरी भाग चक्रपथ नजिकै रहेको उनको घर २०४७ मंसिर १९ गतेयता गीत गंगा बनेको छ।
आज पनि गीतकार रवीन्द्र शाहको शब्दमा रहेको गीत उसरी नै पार्श्वमा बजिरहन्छ। उनीसँगै बज्छन् चलायमान प्रकृतिलाई स्तब्ध बनाउने शब्द, संगीत र स्वरहरू। नारायण गोपाल कहिल्यै बित्दैनन्, बित्ने त समयमात्र हो, त्यसैले उनको समय दोहोरिरहेछ। नेपाल नाट्य संगीत एकेडेमी र नारायण गोपाल संगीत कोषका सहकार्यमा केही गहन काम हुन्, नारायण गोपालप्रतिको सच्चा श्रद्धाञ्जली र उनले मागेको श्रद्धाको फूल युगयुगान्तरका लागि त्यही हुनेछ।
प्रकाशित: २० मंसिर २०७१ ००:३३ शनिबार