अन्य

बक्रासन : सार्कपछिको लालपुर्जा

सार्क शिखर सम्मेलन सम्पन्न भयो। बडो तामझामसाथ, बडो उमंगसाथ सम्पन्न भयो। र, सम्पन्न भए केही मान्छे। कोही नव धनाढ्य भए, कोही थप धनाढ्य भए। 'शान्ति र समृद्धिका लागि गहिरो एकता' भन्ने नारालाई नेपाली शिखर तथा फेदी पुरुषहरूले अक्षरशः पालना गरे।
अत्यन्त गहिरो एकता कायम गर्दै समृद्धि बाँडचुँड गरियो। अनि, समृद्धहरूले शान्ति प्राप्त गरे। शान्ति यसै पनि समृद्धहरूको विलासिता हो। अनि अशान्ति नि ? अशान्ति विपन्नहरूको विरासत हो। उनीहरू अशान्तिसँग बाँच्न अभ्यस्त छन्, अभिशप्त छन्।सार्क सम्मेलन सकिएको भोलिपल्टै शक्तिकुमार मालपोत कार्यालय पुगेको थियो। त्यति विशाल अन्तर्राष्ट्रिय सम्मेलन भव्यतापूर्वक सम्पन्न गरेको खुशी र गर्वले उसको अनुहार अत्यन्त कान्तिमय थियो। अनि तेजले धपक्कै बलेकी थिई उसकी श्रीमती। उसको हातमा भव्य बंगलाको फ्रेस लालपुर्जा थियो। र, शक्तिकुमार दम्पती हर्षविभोर थियो। हर्षविभोर भन्नु कि सार्कविभोर ?
शक्तिकुमार सत्ताको मान्छे हो। उसको थर, गोत्र, वर्ण, पहिचान, वर्ग जे भने पनि यही हो। पार्टी पोलिटिक्समा उसलाई तिल जति पनि अभिरुचि छैन। ऊ कांग्रेस, एमाले, माओवादी, राप्रपा कसैको मान्छे होइन। ऊ केबल सत्ताको मान्छे हो। त्यसैले ऊ सबैको हो। त्यसैले ऊ कसैको होइन। कथम्कदाचित् भोलि भैँसीहरू सत्तामा पुगे भने ऊ भैँसीहरूको सबैभन्दा निकट मान्छे हुनेछ। निकटमात्र होइन, ऊ स्वयम् भैँसी हुनेछ।
एउटा बिहेभोजमा शक्तिकुमारसँग मेरो भेट भएको थियो। उसलाई छल्न खोज्दै थिएँ, तर सकिनँ। मदिरा निलेपछि उसको मुखबाट निस्कने बकवासको लेदोमा मलाई कुनै दिलचस्पी थिएन।
हातमा गिलास बोकेर ऊ म भएको कुनामा आइपुग्यो। म बेहुलीलाई खाममा हालेर दिएको दुई सय रुपैयाँ उपहारबापत पुलाउ, मासु र एक पेग भोड्का इन्जोय गरिरहेको थिएँ। शक्तिकुमारलाई सर्वसाधारणको इन्जोयमेन्ट सह्य हुँदैन। इन्जोय गर्ने काम केबल शक्तिकुमारहरूको हो। र, मेरो मग्नता र मज्जा बिथोल्न आई त हाल्यो ऊ।
'खोइ, सम्मेलनभरि कता हराउनुभो, बन्धु ?' उसले सोध्यो, 'त्यत्रो भव्य समारोहमा कतै देखिनुभएन ?'
'मलाई हाम्रो सञ्चारगृहले त्यहाँ खटाएको थिएन,' मैले भएको कुरा गरेँ, 'फेरि पास लिन पनि साह्रै गाह्रो थियो।'
'मलाई खबर गर्नुपथ्र्याे नि। त्यस्ता पास त कति दिलाइदिन्थेँ, दिन्थेँ,' शक्तिकुमारले चुट्की बजाउँदै तुजुक देखायो।
म उसलाई बेवास्ता गर्न चाहन्थेँ। ऊबाट छुटकारा चाहन्थेँ। भनेँ, 'मलाई यसै पनि त्यो अन्तर्राष्ट्रिय वक्तृत्व कला प्रतियोगितामा कुनै रुचि थिएन।'
'के रे ? के प्रतियोगिता रे ?' शक्तिकुमार तिलमिलायो।
'अन्तर्राष्ट्रिय वक्तृत्व कला प्रतियोगिता।'
शक्तिकुमारले आँखीभुइँ तन्कायो।
'लेखक अच्युत वाग्लेले सार्क सम्मेलनलाई के भन्या छन् थाहा छ ?' मेरो उसलाई चिढाउने अभिप्राय थियो नै। मलाई बिथोल्न आएबापत।
'के भन्या छ उसले ?'
'अन्तरदेशीय पिकनिक। तपाईं पत्रिका पढ्नुहुन्न कि क्या हो ?'
'किन पढ्नुपर्यो। ?' उसले रिसाउँदै भन्यो, 'पत्रिका कसले निकाल्छ, पत्रिकामा कसले लेख्छन्, कसले पढ्छन् ? हाम्लाई था' छैन र ?'
मदिराले राँकिएको उसको अनुहार आक्रोशले झन् रातो भयो। उसको लबज लरबरियो, 'देश र जनताको प्रतिष्ठासँग गाँसिएको कुरालाई त्यसरी उडाउन मिल्छ ? के भन्या त्यो अन्तरदेशीय पिकनिक रे ? अन्तर्राष्ट्रिय वक्तृत्व कला प्रतियोगिता रे।'
'देश र जनताको प्रतिष्ठासँग गाँसिएको कुरा त भात हो,' मैले ठट्टा गरेँ, 'लौन, एउटा भात सम्मेलन गर्नुप¥यो। सार्कभन्दा पनि भव्य भात सम्मेलन !'
शक्तिकुमार झन् उत्तेजित भयो, 'सार्क हल्काफुल्का विषय हो ? मजाक गर्ने विषय हो ? रातारात कत्रो काम गरेर देखायौँ। सडक चिल्लो बनायौँ। राति झलमल्ल बत्ती बाल्यौँ। सडकपेटीमा फूलसहितका गमला राख्यौँ। छोटो समयमा शहरको नाकनक्शा नै बदलिदियौँ। हामीले कम्ता पसिना बगाएका छौँ ?'
'पैसाको पनि त खोलै बगाउनुभो नि ? रेकर्डतोड हिनामिना र अपव्यय भएको छ रे त।' म पनि आक्रामक मुडमा थिएँ।
'तपाईं पत्रकारहरूको जातै खराब ! जेमा पनि शंका गर्नुहुन्छ। शंकाले लंका जलाउँछ भन्ने थाहा छैन ?' शक्तिकुमार भएभरको शक्ति लगाएर कुर्लियो।
'तपाईंजस्ता हनुमानहरूले सदासर्वदा पुच्छरमा आगो बोकेर हिँड्न थालेपछि शंका गर्नुपरेन ?' म पनि चर्किएँ, 'रंगरोगन, फूल, सोलार प्यानल, लट्ठा, बाटो, केमा मात्रै घोटाला भएको छैन ?'
शक्तिकुमार अतीव आवेगले कामिरहेको थियो। 'मलाई था थेन, तपाईं यति नेगेटिभ दिमागको हुनुहुन्छ भन्ने ?'
'जसले श्रीमतीका नाउँमा नयाँ बंगला जोड्छ, सकारात्मक सोचको जिम्मा त्यसको हो,' यो अन्तिम प्रहार गरेर जुरुक्क उठेँ र पार्टीस्थलमा चहार्न थालेँ। शक्तिकुमारको प्रतिक्रियासँग मलाई केही लिनुदिनु थिएन। म त्यसको आकलन भने गरिरहेथेँ।
त्यही पार्टीमा एउटा समाचार मेरो कानमा ठोक्किन आइपुग्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तीक्ष्ण आँखा गमला बनाउने कुमालेहरूमा परेका छन्। अख्तियारलाई शंका छ– सडकमा राखिएका गमला बनाउँदा कुमालेहरूले भयानक भ्रष्टाचार गरेका छन्। ठूलो छानबिन हुँदैछ। कुमालेहरूको दोहोलो काढिँदैछ।
तय छ– शक्तिकुमारले आफ्नो नयाँ बंगलाको कौसीबाट सार्कपछिका फूलजस्ता निस्तेज कुमालेहरू दण्डित भएको हेर्नेछ। र, खूब इन्जोय गर्नेछ।

प्रकाशित: १८ मंसिर २०७१ १२:१३ बिहीबार