दिनानाथ शर्माको व्यक्तिगत चरित्रप्रति मलाई शङ्का छैन। विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा नेपाली वर्णविन्यासको अराजकतालाई सरकारी टाँचा लगाएर वैध बनाउने मन्त्री उहाँ नै हुनुहुन्छ। वर्णविन्यासको शोधार्थीका नाताले मैले उहाँलाई समयमै बिन्ती बिसाएको थिएँ। अर्काको शुभ सल्लाह मान्दा मानहानि हुन्थ्यो, उहाँले मेरो सुझाव मान्नुभएन।शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट जारी गराइएको सुनियोजित प्रकाशन–शैली–पुस्तिकालाई उहाँले मन्त्रिपरिषद्मै प्रस्तुत नगरी सुटुक्क टाँचा लगाउनुभएको थियो। उहाँको वर्णविन्यासका कारण नेपाली विषय पढ्ने र पढाउने शिक्षकहरूले भोग्नुपरेको पीडा पत्रपत्रिकाहरूबाट छताछुल्ल पोखिएका छन्।
परदेश र प्रदेश पनि शुद्धसँग बोल्न नजान्ने मन्त्रीको तोक आदेश कतिसम्म आधिकारिक होला भन्ने जान्नका लागि उहाँकै मन्त्रालय–अन्तर्गतका निकायले गरेको अवज्ञा नै पर्याप्त हुन्छ। त्रिभुवन विश्वविद्यालयले पाविकेको प्रकाशन–शैली–पुस्तिकालाई लोप्पा खुवाइसक्यो। उच्च माध्यमिक शिक्षा परिषद्ले टेरपुच्छरै लाएन। नेपालकै सबैभन्दा जेठो तथा नेपाल सरकारको मुखपत्रका रूपमा रहेको पत्रिका गोरखापत्र र सिङ्गो गोरखापत्र संस्थानले मन्त्रीज्यूको आदेशको अवज्ञामात्रै गरेन। समानान्तर शैली नियम बनाएर ठाडो चुनौती नै दियो। नेपाल सरकारका कुनै पनि निकायहरूमा शिक्षामन्त्रीको आदेशले वैधता पाएन।
भूतपूर्व मन्त्रीज्यू, नरिसाईकन आजको एउटा पाठ पढिदिनुभयो भने भविष्यमा लज्जित भइरहनुनपर्ला। 'देश' मूल शब्दमा 'प्र' उपसर्ग लागेर 'प्रदेश' भन्ने शब्द बनेको छ। प्रदेशको पर्यायवाची शब्द संघ पनि हो। देशको अङ्गलाई प्रदेश भन्ने गरिन्छ। 'पर' उपसर्ग होइन। पराई वा अर्को भन्ने अर्थ दिने स्वतन्त्र शब्द हो। परको देश=परदेश, यहाँ तत्पुरुष समास भएको छ। अर्काको देशलाई 'परदेश' भन्दछन्। 'प्र' यस अक्षरमा 'प' आधा वर्ण हो। 'र' चाहिँ सिङ्गो अक्षर हो। र्±अ=र। यहाँ अकारको उच्चारण रकारसँग हुनुपर्छ, पकारसँग होइन। प्±र=प्र हुनुपर्ने हो, मन्त्रीज्यूको नयाँ नियम अनुसार। आधा 'प्'लाई बोक्नुपर्दाको भारले 'र' उल्टिएर 'प्र' यस्तो आकारमा परिणत भएको हो। प्रदेशको उच्चारण 'प्रदेश् वा प्रदेस्' हुन्छ। आधा 'प्'को उच्चारण 'र'सँगै हुन्छ। तपाईंंका गुरुले अक्षर राम्ररी चिनाएनछन् क्यारे! यसैले संयुक्त अक्षरलाई फुटाएर 'बुद्ध'लाई 'बुद्ध' अनि 'विद्या'लाई 'विद्या' बनाउन लगाउनुभएको होला। समासको पाठ पक्कै पढ्नुभएको थियो होला। समासको पाठ बिर्सिनुभएछ। समास भएर बनेका सिङ्गा शब्दलाई पनि अक्षर गनेर टुक्रा–टुक्रा पार्न हुकुमी आदेश दिनुभयो। समासको मर्म र भावनालाई ठनक्कै भाँचिदिनुभयो। रिसाए पनि रिसाउनुहोला मन्त्रीज्यू, नेपाली भाषा शुद्धसँग बोल्न र लेख्न जान्नुभयो भने भाषण गर्दा काम लाग्ला। ठुलाबडालाई उपदेश दिँदा दण्डित हुनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। तपाईं फेरि पनि राजनीतिकै बुईमा चढेर उच्च ठाउँमा पुग्नुहुनेछ। त्यस बेला म जस्ता उत्ताउलाहरूको दिन सकिएको हुनेछ, सरकारी दण्ड त मेरा लागि अम्मल भइसकेको छ। उत्तरदायी पदमा आसीन मातृभाषी शिक्षितले सार्वजनिक सञ्चारमाध्यमबाट आपत्तिजनक अशुद्ध शब्द प्रचार गराउन पाइँदैन।
प्रकाशित: १ कार्तिक २०७१ ०८:३७ शनिबार