अन्य

'मलाई मान्छे रुवाउनु छैन'

तामाङ समुदायले रोज मोक्तानलाई दुई दशकअघि नै चिनेको हो। उनका तामाङ भाषाका गीत निकै चर्चित छन्। विसं २०६४ मा 'कलकत्ते काइँयो' गीतलाई रिमिक्स गाएपछि रोज बहुचर्चित भए। उनका 'हेलम्बुको बजारमा', 'झिम्क्याइदेऊ परेली', 'यानी माया' जस्ता गीत लोकप्रिय छन्। छवटा तामाङ भाषाका र तीनटा नेपाली भाषाका एल्बम निकालिसकेका छन् उनले। उनीसँग सजना बरालले गरेको अन्तरंग कुराकानी :
 

डान्सिङ नम्बरका मात्रै गीत गाउनुहुन्छ। किन होला?
अरू प्रकारका गीत गाउने अरू गायकगायिका छँदै छन्। मैले सुरुदेखि नै नचाउने खालका गीत गाएँ। रोज मोक्तान भन्नासाथ 'यसले डान्सिङ नम्बरका गीत गाउँछ' भन्ने छाप परिसक्यो स्रोतालाई। अब यो छाप मेटाउनतिर लाग्यो भने मेरो शैली मासिन्छ। अरूभन्दा फरक भए पो रोज मोक्तान, रोज मोक्तान हुने हो। उही अरूले जस्तो गायो, मैले पनि उस्तै गाएँ भने म र अरूमा के फरक? दशर्कले किन मलाई सुन्ने? मेरो परिचय, मेरो शैली भनेकै डान्सिङ नम्बर हो। यस्तै गाउँछु।
 
नेपालीहरू अहिले हासखेल गर्ने, रमाउने मुडमा छैनन्। सबै निराश छन्, उदास छन्। सबैलाई आ–आफ्नै सुर्ता छ। तपाईं चाहिँ डान्सिङ नम्बरका गीत गाउनुहुन्छ।
टेन्सन, पिर, चिन्ता त जहिले पनि जसलाई पनि र जहाँ पनि हुन्छ। यिनै चिजबाट छुट्कारा पाउन त मान्छेले मनोरञ्जनको सहारा लिने हो। उसै त टेन्सन भइराको बेला, झन् टेन्सन हुने गीत सुन्यो भने मान्छेको मन झनै भरंग हुन्छ। मलाई मान्छे रुवाउनु छैन। मेरो गीत सुनेर कसैलाई पाँच मिनेट भए पनि नाचौँ, नाचौँ लाग्यो भने त्यो नै मेरा लागि काफी हुनेछ। तर, यसो भन्दैमा मैले अरू प्रकारका गीतै नगाउने भन्ने होइन। मेरो पछिल्लो एल्बम 'मौलिकता' मा नौवटा गीत छन्। ती नौ थरीकै छन्। सेन्टिमेन्टल, आधुनिक, पप सबै विधाका गीत गाएको छु।
 
नेपाली भाषामा गाउँदा मज्जा आउँछ कि तामाङ भाषामा?
मज्जा त दुइटामै उस्तै हो। हामीले गाउने भनेको फ्रेममा बसेर हो। तामाङ, नेपाली, मैथिली जे भाषामा गाए पनि गीतको फ्रेमिङ जानेपछि भाषा भनेको त स्वस्थानी पढेजस्तो न हो। विदेशी गायकगायिकाले नेपाली गीत गाउने पनि त्यसरी नै हुन्। तर, भाषा जानेको छ भने गीतका लागि प्लस प्वाइन्ट हुन्छ। उच्चारण शुद्ध हुन्छ। गीतको मर्म थप स्पष्ट हुनेगरी गाइन्छ।
 
तपाईंले सँधै लोक (तामाङ सेलो) गीत गाउनुभयो। तिनै गीतबाट आफ्नो पहिचान पनि बनाउनुभएको थियो। तर, पछिल्लो समय रिमिक्सतिर लाग्नुभयो। रिमिक्स गाउन आवश्यक थियो र?
म तामाङ समुदायमा मात्रै चिनिएको थिएँ। मेरो दोस्रो एल्बम 'को मेन्दो' २ लाख १३ हजार प्रति बिक्री भा'थ्यो। तर, मलाई तामाङ समुदायभन्दा बाहिर पनि पुग्नु थियो। त्यसका लागि नेपाली भाषाका गीत गाउन थालेँ। त्यही क्रममा 'डम्फुरे' एल्बमको काम हुँदै थियो। एल्बममा जयनन्द लामा दाइको एउटा नयाँ कम्पोजिसन राख्ने रहर जाग्यो। यसै विषयमा कुरा गर्न उहाँको घर गएँ। दाइले 'म त फिल्मको काममा व्यस्त छु, अरू केही गर्न भ्याउँदिनँ' भन्नुभयो। खिन्न भएर बसिरहेको थिएँ, दाइले नै 'अहिले रिमिक्सको जमाना छ, तिमी पनि गाइदेऊ न एउटा रिमिक्स' भन्नुभयो। मलाई उहाँकै गीत रिमिक्स गर्ने जुक्ति फुर्योन। भनेँ। 'जुन गीत गाउन मन छ, गाऊ' भनेपछि 'कलकत्ते काइँयो' रोजेको थिएँ। यो गीत चलेपछि अरूले पनि रिमिक्स गाइदिने अफर गरे। तर, जति पनि रिमिक्स गाएको छु, सबै वैधानिक तरिकाले गाएको छु। रिमिक्स गाएर चर्चा कमाउने सस्तो लोभले गाएको होइन।
 
'कलकत्ते काइँयो' निकालिसकेपछि जयनन्द लामाले के भन्नुभयो?
'यो गीत पहिले पनि हिट थियो, अहिले रोजले गाएर फेरि हिट बनाइदियो' भन्नुभाथ्यो, एउटा कार्यक्रममा। म मक्ख परेको थिएँ। तर, गीत निकाल्नै सास्ती भा'थ्यो मलाई। शब्द काटकुट पारेर यसलाई एकोहोरी गीत बनाएँ। अरेन्जमेन्टका लागि पनि दिएँ। गीत रिमिक्स्ड हुने भयो। तर, त्यो बेला र्‍याप मिसाउने चलन थियो। त्यसका लागि त्यो बेलाका चर्चित र्याभपर सुदिन पोखरेल, किरण श्रेष्ठहरूसँग सल्लाह गरेँ। कुरा मिलेन। दिक्क लागिसकेको थियो, सञ्जय बराल भाइले अविनाश घिसिङको नाम दिए। अन्ततः अविनाशले नै गाए। राम्रो पनि भयो।
 
आजकल तामाङ भाषाका गीत गाउन छोड्नुभयो। किन?
छोडेको होइन। गाइरा'छु। तर, धेरै चाहिँ नेपाली भाषाका गीत गाउँछु। सारा नेपालीले बुझ्ने, धेरै चल्ने भएकाले नेपाली भाषालाई प्राथमिकता दिएको हुँ। तर, भाषा नेपाली भए पनि मेरा अधिकांश गीत सेलो–पप फ्लेभरमै हुन्छन्।
 
अहिलेका सेलो गीत च्याङ्बा र मैच्याङमा मात्रै सीमित भए भन्ने लाग्दैन?
एकदम लाग्छ। च्याङ्बा र मैच्याङ शब्द राख्दैमा त्यो ठेट तामाङ सेलो वा सेलो शैलीको गीत हुन्छ भन्ने छैन। सेलो गीत हुनलाई यी दुई शब्द नभए पनि हुन्छ। तर, आजकल च्याङ्बा र मैच्याङ शब्द राख्नासाथ सेलो गीत गाएको भन्दै हिँड्नेहरू पनि छन्। तामाङ सेलोको त आफ्नै ट्युनिङ छ। आफ्नै वाद्ययन्त्र छन्। डम्फु, टुङ्ना, बाँसुरी र सम्भव भए मुर्चुङ्गाको धुनमा गाइन्छन् सेलो गीत। तिनमा च्याङ्बा र मैच्याङको जुहारीबाहेक पनि गाउनलाई विषय धेरै हुन्छन्।
 
गीत गाउन थालेको निकै भयो है?
दुई दशक नाघिसक्यो। विसं २०४८ देखि गाउन थालेको हुँ। त्यही साल रेडियो नेपालमा भ्वाइस टेस्ट दिएर नाम निकालेको थिएँ। म र बुवा अमर तन्डुकार दाइको घरमा बस्थ्यौँ। अमर दाइकै संगतले मलाई गायनमा रस बसाल्यो। दाइले त्यो बेला पुतलीसडकमा रहेको प्रायघाट भजन मण्डलमा लग्नुहुन्थ्यो। पछि, गोपाल योञ्जन सरसँग चिनजान भयो। उहाँसँग संगीत सिकेँ। उहाँ बितेपछि टुहुरोजस्तो भएको थिएँ। त्यही बेला प्रकाश गुरुङ सरसँग चिनजान भयो। उहाँ र गुरुदेव कामतसँग शास्त्रीय संगीतबारे ज्ञान लिएँ।
 
रामेछापमा छँदा चाहिँ कत्तिको नाच्ने/गाउने गर्नुहुन्थ्यो?
स्कुलका कार्यक्रममा नाचिन्थ्यो। तर, गाउँमा छँदा म अर्कै काममा व्यस्त हुन्थेँ। आठ कक्षा पुगुञ्जेल मैले हजार/बाह्र सयवटा मुरली बनाएको थिएँ। मुरली बनाउँदै साथीभाइलाई बाँड्ने गर्थें। घरछेउको बाँसघारीमा पसेर बाँसको टुप्पो काट्दै मुरली बनाउँथेँ। खुर्पा यस्तरी उद्याएको थिएँ कि त्यसले दारी नै खौरिन मिल्थ्यो। एकदिन छेमा (आमाकी बहिनी)को घर जाँदा उहाँको घरछेउ मुरली बाँसको घारी देखेँ। माग्दा नदेलान् भनेर बेलुका–बेलुका बाँस चोर्दै मुरली बनाउँदै गर्न थालेँ। बाँस पातलिँदै गएपछि चोरको खोजी हुन थाल्यो। म समातिएँ। बुवाले दुई/चार थप्पड लाउनु भा'थ्यो।
 
पछि, संगीतमै लाग्दा चाहिँ के भन्नुभयो?
सुरुमा त 'पढाइमै ध्यान दे, राम्रो जागिर खा' भन्नुहुन्थ्यो। उहाँ भवन विभागको जागिरे हुनुहुन्थ्यो। मलाई पनि सरकारी जागिरमै लगाउन चाहनुहुन्थ्यो। उहाँको मन राख्न पाँच वर्षजति त ठेक्कापट्टाको काम पनि गरेँ। तर, 'डम्फुरे' एल्बम निकालेपछि सबथोक छोडेर संगीतमै लागेँ। 'कलकत्ते काइँयो' निकालेपछि चाहिँ 'नाम त चलाइस्, अब जीविका पनि चला, तँलाई हाम्रो आशीर्वाद छ' भन्नुभा'थ्यो।
 
कसरी बित्दै छ दिनचर्या अहिले?
बिहान उठेर आधा/एक घण्टाजति रियाज गर्छु। त्यसपछि बौद्ध (स्तुपा)मा दुई फन्का लगाउँछु। उतै वाङ्जी भन्ने फ्रुट टी, साग र तिब्बती जाउलो खाएर फर्किन्छु। दिनभरि भेटघाट, रेकर्डिङ, प्रोग्रामतिर व्यस्त भइन्छ।
 
खानपिनको सोखिन हुनुहुन्छ रे नि?
नयाँ–नयाँ टेस्ट चाख्न मन पर्छ। गाउँठाउँमा पुग्दा गीतका नयाँ–नयाँ भाका खोज्न र नयाँ–नयाँ स्वाद चाख्न मन पराउँछु। विदेश जाँदा पनि थरीथरीका खाना खाइरहेको हुन्छु। मैले खान बाँकी भनेको हात्ती, गैँडा मात्रै हुन्। किरा–फट्यांग्रा सबै खाइसकेको छु।
 
तपाईंको नाम आधुनिक खालको छ...
म सानैदेखि खाइलाग्दो खालको थिएँ रे। जन्मिँदै पौने चार किलोको भएकाले 'छोरो त रोजेकै खालको पाइछौ' भनेर फुपू, दिदीहरूले आमालाई जिस्काएछन्। पछिसम्म पनि 'रोजेकै जस्तो' भन्दाभन्दै 'रोजेको'बाट रोज नाम राखिएको रे।

प्रकाशित: २६ आश्विन २०७१ ०७:०६ आइतबार