चार वर्ष सँगै बिताएकी धनु अहिले छोरीको अधिकार खोज्न प्रहरी तथा अन्य निकाय धाइरहेकी छन्।
धुनु मात्र हैन, राजधानीमा कानुनी प्रक्रिया नपुर्याकई वैवाहिक जीवन बिताएका थुप्रै महिला पीडित बनेका छन्। राष्ट्रिय महिला आयोगका अनुसार पछिल्ला वर्ष बिहेको आश्वासनमा पीडित बनेका मासिक औसत ७ वटा यस्ता उजुरी पर्छन्। प्रहरी महिला सेलमा भने गोपनीयताको समस्याले उजुरी कम आउने गरेको सेलकी प्रमुख सुशीला प्रधान बताउँछिन्। उनका अनुसार प्रहरी सेलमा मासिक दुईवटा यस्ता घटना आउने गरेका छन्।
नेपालमा यस्ता घटनाको यकिन तथ्यांक भने छैन। यस्ता घटना ‘घरेलु हिंसा'का रूपमा उजुरी पर्ने गरेको आयोगका अधिकारीहरू बताउँछन्।
आयोगकी कानुनी परामर्शदाता तारा महर्जनका अनुसार २०६६ सालमा ‘घरेलु हिंसा ऐन' बनेपछि महिला ठगीका उजुरी बढी दर्ता हुन थालेका हुन्। दुईतीन वर्षयता यस्ता उजुरी दोब्बर पुगेको महर्जनले बताइन्।
महर्जनका अनुसार महिलाहरू बिहे नै हुने आश्वासनमा यस्तो सम्बन्धमा पुग्ने गरेको देखिन्छ। पुरुषले भने महिलाबाट आर्थिक र यौन फाइदा उठाउने गरेका छन्। ‘यो सम्बन्धबाट महिला नै प्रताडित हुन्छन्,' महर्जनले भनिन्, ‘गर्भवती बनेको थाहा पाएपछि छोड्छन्, अनि महिलाहरू आयोगमा नाता कायमको अधिकार खोज्न आउँछन्।'
कसरी फस्छन् त महिला? महिला प्रहरी सेल कालिमाटीकी इन्सपेक्टर सुशीला प्रधान भन्छिन्, ‘पुरुषले आसक्ति देखाउनेबित्तिकै कोमल हुने महिलाको कमजोर संवेदना प्रमुख कारण हो।'
कानुन नहुँदा यस्तो उजुरीमा न्याय दिलाउन कठिन हुने आयोग अध्यक्ष शेष चाँदतारा बताउँछिन्। ‘सँगै बसेको हुन्छ, तर बिहे गरेको कुनै प्रमाण हुँदैन,' उनले भनिन्।
आधुनिकीकरण, सूचनाप्रविधि, मानवअधिकारको वकालत जस्ता पक्षका कारण परम्परागत विवाह प्रक्रिया पूरा नगरी बस्ने चलन बढ्दै गएको आयोग अध्यक्ष चाँदताराको तर्क छ। ‘बिहेअघि यसरी बस्ने प्रक्रियालाई अहिलेको पुस्ताले सामान्य रूपमा लिने गरेको छ,' उनले भनिन्।
नेपाली समाजमा बिहेअघि नै सँगै बस्ने र सम्बन्ध राख्ने चलन जनजाति समाजमा पहिलेदेखि नै अस्तित्वमा रहे पनि आधुनिक समाजमा अन्य समुदायका जोडीले समेत अनुकरण गर्ने गरेको आयोग सदस्य उर्मिला विश्वकर्मा बताउँछिन्। ‘सम्बन्धको यो उदारतालाई पुरुषहरूले ठग्ने नियतमा प्रयोग गरेको देखिन्छ,' विश्वकर्माले भनिन्।
राम्रोसँग नामठेगाना नखुलेका पुरुषलाई बिनाप्रक्रिया सम्बन्ध नबढाएको खण्डमा महिलाहरु यस्ता घटनाबाट बच्ने प्रधानको सुझाव छ। ‘जीवनमा कोही यसरी आउँदा केही न केही प्रक्रियामा जानुपर्छ,' उनले भनिन्।
प्रकाशित: ३ असार २०७१ २०:२० मंगलबार