लक्की। पूरा नाम– लक्की उपाध्याय।
‘मेरा बाबु सामान्य लेखपढ गर्न जान्दछन्। आमालाई त कालो अक्षर भैंसीबराबर!' एक दिन उसले मसँग भनेकी थिई।
‘त्यसो भए यो नाम तिमी आफैंले राखेको हुनुपर्छ।तिम्रा बाबुआमाले तिम्रो नाम सीता, सरस्वती, इन्दिरा, कमला वा निर्मला यस्तै केही राखिदिएको हुनुपर्छ,' मैले उसको सुकोमल गालामा प्याट्ट हिर्काउँदै भनेको थिएँ। सार्वजनिक ठाउँमा उसको शरीर पहिलोपटक स्पर्श गर्दै थिएँ म। मेरो स्पर्शलाई उसले सहर्ष स्विकारेकी थिई।
तर, उसले मेरो अनुमान स्विकारिन। भनी, ‘पत्याउनुस् वरिष्ठ पत्रकार महोदय! यो मेरो नाम मेरा बाबुआमाले नै राखिदिएका हुन्। बाबु या आमामध्ये कसले राख्यो? योचाहिँ म भन्न सक्दिनँ। मेरोे नाम म आफैंले राख्या भन्ने तपाईंको जुन आशंका छ त्यो भने आजैका मितिदेखि मनबाट हटाइदिनुस्।'
कुरा गर्ने उसको शैली निकै आकर्षक लाग्थ्यो मलाई।
म त्यसबखत ‘गन्तव्य' दैनिकको समाचार सम्पादक थिएँ। पत्रकारहरूलाई समयमा तलब ख्वाउनसक्ने पत्रिकामध्ये एक थियो, गन्तव्य दैनिक। यसको मतलब पत्रिका राम्रै चलेको थियो। विज्ञापन प्रशस्त पाउँथ्यो। कविताको पारिश्रमिक पनि दिन्थ्यो। र, पारिश्रमिक तोक्ने जिम्मेवारी मेरो थियो।
लक्कीको कोठामा पुग्दा रातको एघार बजिसकेको थियो। ऊ र म यसरी कोठामा पहिलोपटक भेटिरहेका थियौं। मेरो मुटुको धड्कन यसरी बढिरहेको थियो, मानौं अब केही बेरमै यो विस्फोट हुँदै छ। एउटी उमेरदार केटीको कोठामा राति एक्लै जाँदै थिएँ म। करिब तीन मिनेटको बाटोको दूरी पार गर्दा तीसचोटि झस्किएको थिएँ। वरिपरि चिनेको मान्छे भेटिने हुन् कि! कसैले चियो पो गरेको छ कि! तर रातको समय कोटेश्वरको बाटोमा हिँड्ने कोही थिएन। बेकारमा मेरो मनमा डर पैदा भएको थियो।
अफिसको गाडी कोटेश्वर चोकमा पुगेपछि मैले ड्राइभरलाई रोक्न भनेको थिएँ। सधैं चाबहिलमा ओर्लन्थेँ म। अचानक कोटेश्वरमा रोक्न अनुरोध गर्दा ड्राइभर र अन्य कर्मचारीले अनौठो मानेका थिए। दुई–तीन जनाले एकै स्वरमा भनेका थिए, ‘सर आज किन नि कोटेश्वर?'
उनीहरूको प्रश्नले मलाई तर्साइदिएको थियो। ‘कतै यिनीहरूले म लक्कीको कोठामा जान लागेको थाहा त पाएनन्?' मलाई शंका लाग्यो। लक्की अफिसमा धेरैपटक आएकी हुनाले कतिपय सहकर्मीले उसलाई चिन्न सक्थे। केहीले त उसलाई र मलाई कफी स्टेसनमा धेरैचोटि भेटेका पनि थिए। ‘तर लक्की कोटेश्वरमा बस्छे भनेर कसरी यिनीहरूले थाहा पाउनु?' बित्थाको शंका! मैले आफैंलाई आश्वस्त पारेँ।
‘मेरी सानिमा यहाँ एक्लै बस्नुहुन्छ, उहाँलाई सन्चो छैन क्या! आजको रात उहाँलाई मैले कुर्नुपर्छ,' सबैलाई ढाँट्दै म गाडीबाट ओर्लेको थिएँ। राति सडक सुनसान थियो। मैले लक्कीलाई घरको तल ओर्लन भनेको थिएँ, मोबाइलमा फोन गरेर। र, उसैले मलाई आफ्नोे कोठामा लिएर गएकी थिई।
गन्तव्यले शनिबार साहित्य–संस्कृतिलाई आठ पृष्ठ दिने गरेको थियो। त्यही दिन लक्कीको कविता छापिएको थियो। पत्रिका उसको हातमा परेदेखि नै मलाई फोन गर्न थालेकी थिई। बिहान छ नबज्दै उसको पहिलो फोन आएको थियो। त्यसपछि झन्डै सातपटक फोन गरी। उसैको अनुरोधमा भेट गर्न म उसको कोठामा पुगेको थिएँ।
अफिसमा शनिबार निकै कम स्टाफ हुन्छन्। तर काम त उही सदाझैं बाह्र पृष्ठका लागि नै गर्नुपर्थ्यो। शनिबार निस्कने पत्रिका भने सोह्र पृष्ठको हुन्थ्यो। काम गर्ने मान्छे कम भएकाले मैले धेरै काम गर्नुपर्थ्यो प्रायः शनिबार।
शनिबार छापिएको उसको कविता आठ लाइनको थियो। कविता उसलाई कन्ठै थियो। पत्रिका टेबुलमा हुत्याएर उसले मलाई अँगालोमा कस्दै कविता भट्याउन थाली :
यो पानीजस्तो जिन्दगानी
कहिले तलबाट बग्छ
कहिले माथिबाट बग्छ
तर मेरो तिर्खा उस्तै छ!
पानीले नमेटिने यो तिर्खा
खोइ केले मेट्ने हो!
कसले मेटिदिने हो?
कतै तिमी त होइनौ त्यो!
–पानीजस्तो जिन्दगानी!
अन्त्यमा उसले कविताको शीर्षक भनेकी थिई।
मलाई साहित्यमा रुचि थियो। कविताको त म पारखी नै थिएँ। साहित्यका राम्रा पुस्तक पाउँदा म निकै उत्साहसाथ पढी सिध्याउँथेँ। म आफूलाई साहित्यको एउटा असल पाठक र राम्रो–नराम्रो छुट्याउन सक्ने मान्छे ठान्दछु।
वास्तवमा मलाई लक्कीको कविता भित्रबाट मन परेको थिएन। तर पनि मैले ‘वाहवाह' भनिदिएँ। भनिदिएँ मात्रै के र! चल्तीको दैनिक पत्रिकामा छापिदिएँ। एक हजार रुपैयाँ पारिश्रमिक पनि दिलाइदिएँ। एक प्रकारले पदको दुरूपयोग नै गरेँ। त्यो दिन गन्तव्यमा उसको कविताभन्दा पनि ठूलो फोटो छापिएको थियो। कवितासँगै सुन्दर इल्युस्ट्रेसन पनि थियो। मलाई राम्ररी थाहा थियो, लक्कीले कविता छाप्नका निम्ति मलाई भर्याङ बनाएकी थिई। म उसको भर्याङ बन्न तयार थिएँ। ऊ मलाई औधी मन परेकी थिई।
उमेरले चौंतीस वर्ष टेकिसकेको त्यो समयमा म प्रेम खोजिरहेको थिएँ। मलाई यस्तो लाग्थ्यो, मेरो प्रेम यतै कतै दोबाटो, चौबाटो, सहर वा गाउँमा हराएको छ। र, म त्यसलाई हरपल खोजिरहेछु! लक्कीलाई पाएपछि मैले आफूलाई ‘लक्की' महसुस गरेको थिएँ। अर्थात्, हराएको प्रेम पाएको ठानेको थिएँ। हरेक मान्छेलाई आफूलाई खुसी पार्ने अधिकार छ र म प्रेम खोजेर आफूलाई खुसी पारिरहेको छु– मेरो बुझाइ थियो।
अघिल्लो वर्ष आमाको निधन भयो। बाबु त मैले देख्नै पाएको थिइनँ। एक प्रकारको गर्भेटुहुरो भने पनि हुन्छ मलाई। परिवारका कोहीबाट पनि माया पाएको अनुभूति थिएन। श्रीमती त मैले पैसा कमाउन नसकेकोमा निकै चिन्तित थिई।
‘सामान्य रिपोर्टरले पैसा कमाएर काठमाडौंमा घरघडेरी जोडिसके। तपाईं त वरिष्ठ पत्रकार! यस्तै पाराले के उन्नति होला खै! बालबच्चाले दुःख पाउने भए!' ऊ मलाई यसो भनेर बारम्बार घोचिरहन्थी।
उसले मसँग होइन मेरो कमाइसँग बिहे गरेकी थिई। मैले पैसालाई कहिल्यै महत्त्व दिइनँ। म प्रेमको भोको थिएँ। र, कसले आफूलाई प्रेम गर्ला भनी खोज गरिरहेको थिएँ। यस्तो बेलामा आफूभन्दा झन्डै एक दशक कम उमेरकी केटीसँगको सान्निध्यले जिन्दगी प्रेमिल बनेको अनुभूति भएको थियो। म अन्तरमनले लक्कीलाई प्रेम गरिरहेको थिएँ। निश्छल प्रेम।
उसँग मेरो पहिलो भेट मोबाइलमा भएको थियो। थाहा छैन, उसलाई मेरो मोबाइल नम्बर कसले दियो! त्यसबखत ऊ आफ्नै गृहजिल्ला अर्थात् गोरखामै थिई। जिल्लाको विकट गाउँबाट गोरखा बजारमा बसाइँ सरेको रे उसको परिवार!
मोबाइल सम्पर्क भएको एक महिनामै ऊ काठमाडौं आई र पहिलोपटक मलाई नै भेटी। त्यसअघि ऊ दुईपटक राजधानी आएकी रहिछ। पहिलोचोटि स्कुल पढ्दा र अर्कोचोटि कलेज पढ्दा। दुवै शैक्षिक भ्रमण थिए। काठमाडौंमा भेटेको पहिलो व्यक्ति म नै थिएँ भन्ने उसको दाबी थियो। ‘मलाई काठमाडौंका मान्छेमा मन हुँदैन भन्ने लाग्छ सर! कहाँबाट सरजस्तो मनकारी भेटेँ? यो मेरो अहोभाग्य हो,' उसले मसँग भनेकी थिई। उसका मिठासपूर्ण वाक्यले म फुरुंग परेको थिएँ।
कोटेश्वरमा उसका आफन्त डेरा गरी बस्दा रहेछन्, ऊ त्यहीँ बस्थी। उसकै भनाइअनुसार, कलेजबाट शैक्षिक भ्रमण आउँदा आफन्त बस्ने घर देखेकी रहिछ।
लक्की निकै राम्री थिई। त्यही ‘राम्री'को पछि म मुग्ध थिएँ। पहिलो नजरमै ऊ मलाई मन परेकी हो। त्योभन्दा अघि उसको आवाजले मलाई प्रभाव पारिसकेको थियो। पहिलोपटक भेट्दा उसका शरीरमा असुहाउँदा कपडा थिए। भद्दा देखिएको थियो उसको पहिरन। तर प्राकृतिक रूपमा भने ऊ निकै सुन्दर थिई। ‘यसले आधुनिक कपडा लगाउन पाई भने काठमाडौं उल्टाउँछे' मैले आफैसँग भनेको थिएँ।
ऊ मलाई भेट्न गन्तव्यको कार्यालय थापाथली आउँथी। र, म उसलाई लिएर ‘कफी स्टेसन' जान्थेँ। अघिपछि पाँच बजेतिर अफिस जाने म लक्कीसँगको चिनापर्चीपछि एघार बजे नै जान थालेको थिएँ। लक्कीलाई भेट्नु, मिठामिठा कुरा गर्नु, कम्तीमा दुई कप कफी खानु र केही प्रेम दर्शाउनु मेरो लगभग दैनिकी बनिसकेको थियो। एउटा नसाजस्तै दैनिकी!
साँच्चै त्यो नसालाई म प्रेम देखिरहेको थिएँ। म उसलाई प्रेम गर्न थालिसकेको थिएँ। उसकै कोठामा पहिलोपटक रात बिताएपछि मेरो प्रेम झनै गाढा हुन थालेको थियो।
लक्की जति राम्री थिई, उसका कविता त्यति राम्रा थिएनन्। उसका कविता मलाई प्रलापजस्ता लाग्थे। न कला, न विचार, न कुनै सन्देश, न कुनै कथा नै! वाहियात कविता लेख्थी ऊ। कहिलेकाहीँ त दिनमा दस वटा पनि लेखिदिन्थी। ती कविता मलाई सुनाउन चाहन्थी। ऊ मेरो मोबाइलमा ‘मिस्डकल' गर्थी। म तत्कालै ‘कलब्याक' गर्थें। हरेक कवितालाई केके विशेषण दिनु! म हैरान हुन्थेँ। न्यूनतम शुल्क पनि नलाग्ने मेरो मोबाइल महिना दिनमै एकतर्फी भइसकेको हुन्थ्यो।
म भ्याएसम्म र बुझेसम्म उसका कविता मिलाइदिन्थेँ। सम्पादन गरिदिन्थेँ। कविताका विभिन्न पुस्तक किनेर पढ्ने सल्लाह दिन्थेँ। तर ऊ ती पुस्तक पढ्दैनथी। केवल कोठामा तिनलाई सजाउँथी।
गन्तव्यमा छापिएको उसको कविताको चर्चा त्रिभुवन विश्वविद्यालयसम्म पनि पुग्यो। एक जना अंग्रेजीका प्राध्यापकले त उसको त्यो एउटा कवितामाथि सिंगो समालोचना नै लेखे। र, बिल्ला लगाइदिए ‘उत्तरआधुनिक कविता' भनेर। त्यसपछि लक्कीले भुइँ टेक्नै छाडी। ‘तपाईंमात्रै मेरो कविता मन पराउनुहुन्न, त्यत्रा ठूला प्रोफेसरले त मेरो प्रशंसा गरेका छन्,' ऊ मसँग भन्न थाली।
बिस्तारै उसका कविता अन्य पत्रिकामा पनि छापिन थाले। गन्तव्यमा छापिएपछि अन्यत्र छापिने ढोका नै खुल्थ्यो। उसको पहिलो कविता नै गन्तव्यमा छापिएको थियो। त्यसो त गोरखाबाट प्रकाशित हुने स्थानीय पत्रिकामा उसका कविता निकै छापिएका थिए। तर राजधानीबाट प्रकाशित हुने मूलधारका राष्ट्रिय पत्रिकामा छापिएका थिएनन्। त्यो काम मैले नै गरिदिएको थिएँ, र त ऊ मसँग खुसी थिई।
एक दिन हामी कफी स्टेसनमा बसिरहेका थियौं। घनघोर पानी परिरहेको थियो। त्यसै बेला रेस्टुराँअघिल्तिर एउटा कालो गाडी रोकियो। गाडीबाट एक पुरुष ओर्लिएर सरासर कफी स्टेसनभित्र पसे। ‘जय नेपाल! पत्रकार महोदय,' मलाई सम्बोधन गर्दै भने। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अग्नि सिटौला रहेछन्। उनी म बसेकै टेबुलमा आए। र, लक्कीसँग परिचय गर्दै हात मिलाए। उसले लक्कीसँग हात मिलाएको मलाई पटक्कै चित्त बुझेको थिएन। मैले सकेसम्म कसैसँग पनि लक्कीको परिचय गराएको थिइनँ। म चाहन्नथेँ उसलाई राजधानीमा अरू कसैले चिनून्! तर अग्निले आफैं अघि सर्दै लक्कीसँग परिचय गरेको थियो।
‘मेरो साथी हो, कविता लेख्छिन्। गोरखाबाट आजमात्रै आएकी! मैले अमिलो मुख बनाउँदै लक्कीको थप परिचय दिएको थिएँ। लक्की आएको निकै दिन भइसकेको थियो, तर मैले ती नेतालाई ढाँटेर ‘आजमात्रै आएको' भनिदिएको थिएँ।
‘यस्तो साहित्यकार मान्छे त राजनीतिमा आउनुपर्छ। अनपढ मान्छेको बाहुल्य हुनाले राजनीतिमा जनताको विश्वास कम हुँदै गएको छ। हाम्रो पार्टीलाई तपाईंजस्तो कविता लेख्ने भावुक मान्छेको खाँचो छ। लक्कीजी पार्टी अध्यक्षसँग तपाईंको कुरो म राख्छु,' अग्नि निरन्तर बोलिरहेको थियो।
छुट्टिने बेला उसले लक्कीलाई आफ्नो भिजिटिङ कार्ड दियो। र, थप्यो, ‘यो काठमाडौं हो है लक्कीजी! यहाँका मान्छेको विश्वास हुँदैन। तपाईंजस्तो भावुक र सुन्दर मान्छेलाई फसाउने प्रयत्न गर्ने धेरै हुन्छन्। होस् गर्नुस्!'
लक्कीको हातबाट कार्ड थुतेर च्यातचुत पारेर मिल्काइदिउँ जस्तो लागेको थियो। तर मैले आफूलाई सम्हालेँ। अग्निसँग चिनजान भएपछि लक्कीको हौसला निकै बढेको थियो।
‘यी नेताहरूको विश्वास हुँदैन है लक्की!' यतिचाहिँ मैले भनेको थिएँ त्यो दिन।
‘तर मलाई त अग्नि सिटौला निकै मन परे। सबै नेता खराब हुन्नन् नि!' उसले अग्निको प्रशंसामा बोलेकी थिई।
लक्कीको झुर कवितालाई उत्तरआधुनिक भनेर समालोचना लेख्ने प्राध्यापकलाई तिनै अग्निले परिचय गराइदिएका रहेछन्। ती प्राध्यापक पनि कांग्रेस समर्थक। अग्निको घरमा खुब धाउँथे। त्रिविको उपकुलपति पद पाउन अग्निको चाकरी गरेको धेरै वर्ष भइसकेको थियो।
लक्कीसँगको भेटमा प्राध्यापकले उपन्यास लेख्न सुझाव दिएको रहेछ। प्रकाशक आफूले खोजिदिने वचन पनि दिएछ। त्यो उपन्यास आफैंले सम्पादनमात्रै होइन पुनर्लेखन नै गरिदिने र पाठ्यक्रममा समेत राखिदिने आश्वासन दिन पनि चुकेनछ!
प्राध्यापकसँगको हेलमेलपछि लक्कीले मलाई आफ्नो रचना देखाउन र ‘मिलाइदिनुस्' भन्न चटक्कै बन्द गरी। कहिलेकाहीँ म नै उसलाई नयाँ कविता सुनाउन अनुरोध गर्थें। ऊ व्यंग्य गर्दै भन्थी, ‘के सुन्नुहुन्छ हामीजस्ता लेख्न नजान्नेका कविता? जसले मन पराउँछ उसैलाई सुनाउँछु!'
क्रमशः उसको मिस्डकल आउने क्रम कम हुँदै गयो। मभित्र भने बेचैनी र छटपटी उग्ररूपले बढ्न थाल्यो। ऊ मलाई बेवास्ता गर्न थाली। मेरो आँखाअघिल्तिर भने उसको अनुहार हरदम नाचिरहन्थ्यो। उसको पहिलो कविता छापिनु, सोही दिन गहिरो प्रेम हुनु सबै सपनाजस्ता लाग्न थाले मलाई। अब ऊ मैले भेट्न नसक्ने मान्छे बन्न थाली।
उसका कविता, अन्तरवार्ता, जीवनी विभिन्न पत्रपत्रिकामा निरन्तर आउन थाले। ऊ नयाँ पुस्ताको प्रतिनिधि साहित्यकार बनी।
छोटो समयमै उसको उपन्यास बजारमा आयो। शीर्षक थियो ‘भर्याङ'। विमोचनको निम्तोको कार्ड मेरो अफिसमा कसैले ल्याएर छाडिदिएको थियो। नेपाली कांग्रेसका सभापतिले ‘भर्याङ' विमोचन गरे। उनले पुस्तकबारे एक शब्द पनि खर्च गरेनन्। कार्य व्यस्तताका कारण पढ्न नभ्याएको र चाँडै पढ्ने जानकारी गराए। ‘लक्की आजकै मितिदेखि कांग्रेसको सदस्य भएको म घोषणा गर्दछु,' उनले भने। तालीको गडगडाहट निकै लामो समयसम्म गुन्जिरह्यो। दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको केही दिनमात्रै भएको थियो। कांग्रेस ठूलो पार्टी बनेको थियो।
उनै प्राध्यापकले उक्त उपन्यासको अंग्रेजी अनुवाद सुरु गरिसकेको घोषणा गरे। उनी र अर्का एक नेपाली विषयका समालोचकले मदन पुरस्कार पाउनलायक उपन्यास भनी ठोकुवा गरे। फेरि तालीको गड्गडाहट सुनियो।
‘कति कृतघ्न मान्छे रहिछे लक्की, सुरुका दिनमा मैले त्यत्रो मद्दत गरेँ। मेरो त नाम पनि लिइन। धन्यवाद पनि भनिन। अग्नि, प्राध्यापक, चैतन्य दैनिकको सम्पादकलगायतको नाम लिई उसले। मेरो सहयोग त फुस्सा!' आफैसँग कुरा गरेँ।
पुस्तक विमोचनको भोलिपल्ट एउटा अनौठो समाचार गन्तव्यको राजनीतिक बिटबाट मेरो टेबुलमा आएको थियो। ‘लक्की उपाध्याय कांग्रेसको मनोनीत सभासद्' शीर्षक थियो समाचारको।
म समाचार हातमा उठाएर हेरिरहेँ।
रिपोर्टरले सोध्यो, ‘सर! लक्की उपाध्यायको फोटो त तपाईंसँग होला नि हैन?'
‘छैन,' मैले हठात जवाफ दिएँ, ‘अब म कसैको पनि भर्याङ बन्दिनँ।'
प्रकाशित: ३० जेष्ठ २०७१ २३:१० शुक्रबार