चिकित्सकहरूले भन्दै आएका छन्– आधुनिक जीवनशैलीका नाममा विश्वभर तयारी खानेकुराप्रति बढ्दो निर्भरताले घातक रोगको संक्रमण बढिरहेको छ। खानपान सात्विक बनाउन नसक्दा मुटुरोग, मधुमेह, क्यान्सर, उच्चरक्तचाप लगायत रोगले जनस्वास्थ्यमा गम्भीर असर पारेको छ। हामीले खाएको खाना जीवनदायी शक्तिमा रूपान्तरण हुनुपर्नेमा यो आफैंमा रोग बन्दै गएको छ। आहारशैली विज्ञ डा. राजु अधिकारीले ‘खाने कसरी पिउने कसरी (द आर्ट अफ इटिङ)' किताबमा खान–पिउन नजान्दा त्यसले निम्त्याएको समस्या औल्याउँदै सम्यक आहार, जीवनशैली र सोच अपनाउन सुझाएका छन्।
शरीरमा विजातीय पदार्थको संकलनलाई नै प्राकृतिक चिकित्साले ‘रोग' मानेको छ, जुन तामसिक भोजनबाट सिर्जना हुन्छ। घातक रसायन प्रयोग गरिएका खानेकुरा, फास्टफुड तथा जंकफुड, कोकाकोलालगायत बोतलबन्द पेय पदार्थले क्रमिक रूपमा शरीरलाई विषाक्त बनाई मृत्युको मुखतिर धकेलिरहेको छन्। सन् २०१० मा सार्वजनिक गरिएको ‘हेल्दी इटिङ इन्डेक्स' का अनुसार अमेरिकामा हरेक १० जनामध्ये पाँचजनाको मृत्युको कारण गलत खानपानका कारण भएको पाइयो। वैभवशाली मानिने अन्य मुलुकमा पनि यस्तै समस्या छ। संयमता अपनाउन नसक्दा आयु र औषधी बन्नुपर्ने खाना रोगको भण्डार बनेको ठम्याइ छ अधिकारीको।
मैदाबाट खानेकुरा, प्रशोधित चामल, चिनी, नुन र तेल शरीरका लागि घातकसिद्ध हुने निचोड प्रस्तुत गरिएको छ किताबमा। चिकित्सकले उपचार गराउन आएको बिरामीको रोगको मूल कारण खोज्नेभन्दा पनि नियन्त्रण गर्न औषधि दिने हुनाले समस्या ज्यूँकात्यूँ हुन्छ। च्याउसरि अस्पताल, नर्सिङ होम, क्लिनिक खुले पनि जतासुकै बिरामीका संख्या घटेको छैन। कस्तो खानेकुरा खाने, कति खाने, कसरी खाने भन्ने आधारभूत जानकारी नहुँदा स्वास्थ्य समस्या विकराल बन्दै गएको र खान नपाएर भन्दा पनि बढी खाएर बिरामीको हुनेको संख्या बढ्दै गएको अधिकारीको भनाइ छ। ‘हाम्रो खानाको चार भागको एक भागले शरीरलाई पोषण दिन्छ र बाँकी तीन भागले डाक्टरी पेसा चल्छ,' उनले व्यंग्य गरेका छन्।
‘मानव चेतना र योगविज्ञान' मा देव संस्कृति विश्वविद्यालय हरिद्वार, भारतबाट विद्यावारिधि अधिकारीले खानपानलाई मानवीय चेतना निर्माण गर्ने आधारस्तम्भको रूपमा प्रस्तुत गरेका छन्। खानपिन शरीर तन्दुरुस्त राख्नको लागि मात्र हो भन्ने मान्यता छाडी मन र संस्कार शुद्धीकरणमा समेत यसको भूमिका हुन्छ भन्ने कुरा आत्मसात गर्नुपर्ने उनको धारणा छ। ‘गलत खानपानबाट शरीरमा हुने परिवर्तन ‘जीन'मा जम्मा हुन्छ, त्यसले दम, मुटुरोग, मधुमेहलगायत रोगहरू एउटा पुस्ताबाट अर्कोमा सर्न मद्दत गर्छ,' उनले उल्लेख गरेका छन्, ‘खानपान बदलेर मात्र पनि रोगको संक्रमण घटाउन सकिन्छ।'
खानेकुरामा ८० प्रतिशत क्षार र २० प्रतिशत अम्ल हुनुपर्नेमा यसको ठिक उल्टो भएकाले पाचनप्रणाली तथा सम्पूर्ण शारीरिक संरचनामा असर पर्दै आएको छ। अम्लीयपन बढी हुँदा पेट असन्तुलित र विषाक्त हुने र परिणाम स्वरुप कब्जियत, अपच, एसिडिटीजस्ता रोग बढ्छन्। खाने तरिकामा भएका दोषहरूलाई पनि उनले औंल्याएका छन्। खानेकुरा पटक–पटक तताउने, बोक्रा रेसा निकाल्ने, जति बेला पायो त्यति बेला खानेकुरा राम्ररी नचपाइकन खाने जस्ता स्वच्छन्द प्रवृत्तिले समस्या देखिएको छ।
बाहिर आकर्षक देखिए पनि प्रशोधित, रिफाइन्ड र कृत्रिम रङ लगाइएका खाद्यवस्तुलाई ‘ज्यानमारा' नै मान्छन् उनी। चिया–कफीलाई सामाजिक सभ्यताभित्रको असभ्य विष ठान्ने उनले चिप्स, बिस्कुट, कुकिज, दुनट, चाउचाउलगायत जंकफुडलाई मृतप्रायः खानाको संज्ञा दिएका छन्। खानेकुरा स्वादिलो बनाउन प्रयोग गरिने ‘अजिनोमोटो' लगायत कृत्रिम खाद्य संघटकले मन्दविषका रूपमा स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेकाले यसविरुद्ध अभियानै छेड्नुपर्ने उनको तर्क छ।
वैज्ञानिक दृष्टिकोणबाट पनि साकाहारी जीवनशैली उत्कृष्ट भएकोले माछा, मासु, अन्डाजस्ता भोजन मानिसका लागि अप्राकृतिक र अस्वाभाविक भएको उनको ठहर छ। ‘साकाहारीहरूको आयु मांसाहारीको तुलनामा निकै बढी हुन्छ र उसको मुटुको स्वास्थ्य पनि उत्तम हुन्छ। माछा, मासु र अन्डाको सेवन पूर्ण रूपमा घटायो भने हृदय रोग हुने सम्भावना न्युन हुन्छ,' ब्रिटिस मेडिकल एसोसिएसनको प्रतिवदेन उद्धृत गर्दै उनले लेखेका छन्। अमेरिकी चिकित्सकहरूको समूह ‘फिजिसियन फर रेस्पोन्सिबल मेडिसिन'ले सुझाएको धर्तीमा उब्जने अन्न, दाल, टुसा पलाएका गेडागुडी, तरकारी, सागपात र फलफूललाई उपयुक्त ठहर्याइएको छ।
उनले स्वस्थ जीवनका लागि शारीरिक श्रम, उचित विश्राम, योग–व्यायाम, प्राकृतिक नियमको पालना, सादा जीवनजस्ता उपाय अपनाउन सल्लाह दिएका छन्। त्यसैगरी ऋतु, काल, समय, मौसम, स्थानविशेष र शारीरिक प्रकृतिअनुसार खानपान (ऋताहार), हितकारी, प्राकृतिक, सन्तुलित र रोगनाशक खानपान (हिताहार) र मात्रा, रुचि र मनोभावनाअनुरूपको सन्तुलित खानपान (मिताहार) मा जोड दिँदा सबैको कल्याण हुने किताबको निष्कर्ष छ।
किताबलाई प्रामाणिक र तथ्यपरक बनाउन लेखकले थुप्रै सन्दर्भ सामग्री प्रयोग गरेका छन्, जुन सराहनीय छ। तर, कतिपय ठाउँमा अनुसन्धाता, मिति स्पष्ट नखुलाएकाले विश्वसनीयतामा प्रश्न उठ्न सक्छ। जस्तोः पृष्ठ २ मा पनि अमेरिकाको युनिभर्सिटी अफ टेक्सास, हेल्थ साइन्स सेन्टरले गरेको सर्वेक्षण भनिएको छ। कसले र कहिले गर्यो भन्ने छैन। पृष्ठ २६ मा लन्डन क्वीनमेरी युनिभर्सिटीका वैज्ञानिकहरूले भनिएको छ, को–को वैज्ञानिकले कहिले अनुसन्धान गरे भन्ने छैन। पृष्ठ २८ मा द न्युयोर्क टाइम्समा प्रकाशित एक ताजा रिपोर्टका अनुसार भनिएको छ, के रिपोर्ट सदाबहार ताजा रहने चिज हो र, पक्कै होइन।
२ सय ५६ पृष्ठको यो मोटो किताबमा विषयवस्तु व्याख्याका क्रममा केही विषयवस्तु दोहोरिएका छन्। सम्पादनमा अलि मेहनत गरेर यसलाई चुस्त र छरितो बनाउन सकिने ठाउँ छ। किताब सरल, प्रामाणिक र उपयोगी छ। आवरण र भित्री सज्जा सुन्दर छ। किताबमा सुझाइएका उपाय अपनाएको खण्डमा डाक्टरको ढोका चहार्दै हिँडनुपर्ने अवस्थाबाट छुटकारा मिल्छ। यसलाई खानपान कला अर्थात् ‘आर्ट अफ इटिङ'को ‘गाइड' नै मान्दा फरक पर्दैन।
लेखकः डा. राजु अधिकारी
प्रकाशकः मानव उत्कर्ष नेपाल, काठमाडौं
पृष्ठः २५६
मूल्य : रु. ३००
प्रकाशित: ३० जेष्ठ २०७१ २३:०४ शुक्रबार