अन्य

जहानियाँ पुँजीवादको विपक्षमा

‘आँधीबेहरी जस्तै गरी आएको यो अर्थशास्त्रको किताब हो, द इकोनोमिस्टले थोमस पिकेटीको ‘क्यापिटल इन द ट्वेन्टी फस्ट सेन्चुरीलाई यसरी चिनाएको छ।फ्रान्सेली अर्थशास्त्रीले गत वर्ष फ्रेन्चमा निकालेको यो किताब तीन महिनाअघि अंग्रेजीमा अनुवाद भई बजारमा आएको हो। अंग्रेजी संस्करणले अत्यधिक चर्चामात्रै पाएन, धेरैतिर छिट्टै ‘बेस्ट सेलरु को सूचीमा पर्‍यो। किताबले उठान गरेको विषय विश्वव्यापी आर्थिक असमानता बहसको केन्द्रमा आयो। आर्थिक वितरणका सम्बन्धमा नीतिगत परिवर्तनलाई यसले थप बल पुर्‍याउनेछ भन्ने अनुमान गरिएको छ। लेखक पिकेटीलाई इकोनोमिस्टलगायत धेरैले आधुनिक मार्क्सको उपाधि पनि पहिर्‍याइदिएका छन्।
पिकेटी तथा अन्य अनुसन्धानकर्ताका अनुसार ‘पुँजी केही मान्छे र समूहमा आम्दानी तथा सम्पत्तिका रूपमा थुप्रिँदै गएको छ। पिकेटीले औद्योगिक क्रान्ति सुरु भएदेखि यताको तथ्यांक संकलन गरी यो तथ्यलाई पुष्टि गर्न खोजेका छन्। पिकेटीका अनुसार अठारौं तथा उन्नाइसौं शताब्दीमा पश्चिम युरोपेली समाज आर्थिक हिसाबले असाध्यै असमान थियो। केही व्यक्ति र समूहको हातमा राष्ट्रिय पुँजीको ठूलो हिस्सा थियो। औद्योगिक क्रान्तिपछि पनि यसले निरन्तरता पायो। प्रथम तथा द्वितीय विश्वयुद्ध र तीस दशकको महामन्दीले मात्र उक्त संरचनालाई भत्काएको तर्क र तथ्य पिकेटीले प्रस्तुत गरेका छन्। उच्च कर, मुद्रास्फीति, टाट पल्टिने घटना र कल्याणकारी राज्यको अवधारणाले असमानतालाई खुम्चाइदिएको र आय तथा सम्पत्तिका आधारमा समाजलाई समतामूलक बनाउँदै लगेको छ। तर २० शताब्दीको पूर्वार्द्धदेखिको यो प्रवृत्तिमा ब्रेक लागेकोले असमानता बढ्दै गएको दाबी पिकेटीले गरेका छन्। आर्थिक दुनियाँमा पुँजीको महत्त्व निर्विवाद भए पनि असमानता पहिलो महायुद्धभन्दा अघिको अवस्थामा पुगेको छ। 
यो ऐतिहासिक पृष्ठभूमिमा पिकेटीले पुँजी र असमानताको अर्को सिद्धान्त विकास गरेका छन्। उनका अनुसार आर्थिक उत्पादनको वृद्धि दरभन्दा पुँजीको वृद्धि दर उच्च हुन्छ। अन्य कुरा यथावत रहेको अवस्थामा उच्च आर्थिक वृद्धिले समाजमा पुँजीको महत्त्वलाई घटाइदिन्छ भने सुस्त वृद्धिले बढाइदिन्छ। जनसांख्यिक वृद्धिले आर्थिक वृद्धिलाई सुस्त बनायो भने पनि पुँजीको प्रभुत्व बढ्दै जान्छ। पुँजी एकातिर मात्रै थुप्रिने प्रवृत्तिलाई रोक्ने प्राकृतिक शक्ति नभएको चर्चा पिकेटीले गरेका छन्। प्राविधिक विकासमार्फत आर्थिक वृद्धिको विस्फोट वा सरकारी हस्तक्षेपबाट मात्रै ‘जहानियाँ पुँजीवादुलाई रोक्न सकिने ठम्याइ उनको छ। मार्क्सको चिन्ताको विषय पनि यही नै थियो। किताबको अन्तमा पिकेटीले सरकारहरूलाई सम्पत्तिमा अन्तर्राष्ट्रिय कर लगाउन सिफारिस गरेका छन्। यसले आर्थिक तथा राजनीतिक अस्थिरतालाई ऊर्जा दिने असमानता कम गर्न मद्दत गर्ने उनको तर्क छ। 
पुस्तकले चर्को आलोचना पनि कमाएको छ। पिकेटीले विगतलाई हेरेर भविष्य यस्तै हुन्छ भन्ने ठोकुवा कसरी गरे होलान् भन्ने कहीको भनाइ छ। उनको सिद्धान्तले पुँजीको मात्रै प्रतिफल दर उच्च हुने निष्कर्ष निकालेको छ। जबकि वर्तमान विश्वमा धेरै अर्बपति आफ्नो कर्मले धनाढ्य बनेका छन् नकि पैतृक सम्पत्तिबाट। पिकेटीको नीतिगत सिफारिसमा आर्थिक व्यवहारभन्दा राजनीतिक रुझान चर्को भएको आरोप लगाउने पनि छन्। उनको सुझावले राम्रोभन्दा नराम्रो धेरै गर्ने उनीहरूको तर्क छ। तथ्यांक संकलनमा उनले गरेको मेहनतको प्रशंसा आलोचकहरूले पनि गरेका छन्। नीतिगत परिवर्तन गराउन पिकेटी सफल होलान्रनहोलान् तर हजारौं पाठक र अर्थशास्त्रीलाई उनले उठाएको आर्थिक असमानताबारे सोच्न भने बाध्य बनाउनेछन्।
नवउदारवादी कोणबाट पिकेटीको तीव्र आलोचना हुनु नौलो होइन। फोर्ब्स म्यागेजिनका स्तम्भकार लुई उडहिल ती आलोचकमध्ये एक हुन्। उडहिलका अनुसार पिकेटीको दुनियाँमा कसैले अल्जाइमरको औषधि आविष्कार गर्नेछैन। किनभने उक्त औषधिले अविष्कार गर्नेलाई अर्बपति बनाइदिनेछ र समाजमा असमानता बढ्नेछ। उसको सम्पत्तिमा कर लगाएर राज्यले खोसेन भने उसले अरू पनि असाध्य रोगहरूको औषधि पत्ता लगाउनेछ, अनुसन्धाता झन् धनी बन्नेछ र असमानता अझ बढ्नेछ। उडहिलले आफ्नो व्यंगात्मक शैलीलाई जारी राख्दै लेखेका छन्, ‘पिकेटीले नराम्रा भनेको कालखण्डको नाम ‘ला बेल्ले एपोकु ९सुन्दर युग०, ‘द रोरिङ ट्वेन्टीजु र ‘सोरिङ सिक्टिजु छ भने राम्रा भनेको समय फर्स्ट वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वार र द ग्रेट डिप्रेसन हो।
पिकेटी फ्रान्समा परिचित प्राज्ञ हुन्। त्यहाँको वामपन्थी दैनिक लिबरेसनका उनी स्तम्भकार पनि। २००७ को राष्ट्रपति चुनावमा उनले समाजवादी उम्मेदवार सेजोलेन रोयलको आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए। उनको पछिल्लो पुस्तक जति चर्चित भएर बाहिर भयो त्यति फ्रान्समा भएन। किनभने उनले उठाएका विषय फ्रान्सेलीहरूका लागि नौलो होइन। उनी आफैं श्रमिक वर्गीय परिवारका सन्तान हुन्। उनका मातापिता ट्रट्स्कीवादी दल ल्युट ओभि्रराँ ९श्रमिक संघर्ष० मा सक्रिय थिए। १६ वर्षमा सरकारी स्कुले शिक्षा सकेपछि पिकेटीले फ्रान्सकै चुनिँदो कलेजमा पढ्ने छात्रवृत्ति जितेका थिए। २२ वर्षको उमेरमा उनले पिएचडी गरे। सम्पत्तिको पुनर्वितरणमाथि लेखिएको उनको थेसिसले फ्रेन्च इकोनोमिक एसोसिएसनको पुरस्कार जितेको थियो।
पारिवारिक पृष्ठभूमि जस्तो भए पनि उनी अहिले फ्रान्स र विश्वकै अभिजात वर्गसँग उठबस गर्छन्। उनी आफू र आफ्ना वरपरका मान्छे र उनीहरूका पितापुर्खामा धेरै फरक भेट्छन्। यही फरकलाई नै उनले पुस्तकमा उठाएको समीक्षकहरूले लेखेका छन्।
यही कारण उनको शोध पूर्वाग्रही भएको, आफ्नो सुविधाअनुसार तथ्यांकको प्रयोग गरेको आरोप लगाइएको छ। यसलाई केही आलोचकले प्राज्ञिक बेइमानी भनेका छन्। फोर्ब्समै रिचार्ड किलगार्डले पिकेटीको सन्दर्भलाई जोडेर तथ्यांक दुरूपयोगबारे लेखेका छन्। फाइनान्सियल टाइम्सका इकोनोमिक एडिटर क्रिस गेलले पिकेटीले तथ्यांकलाई बंग्याएर आफ्नो सुविधाअनुसारको निष्कर्ष निकालेको आरोप लगाएका थिए। यो प्रसंग पश्चिमा सञ्चारमाध्यममा ठूलो समाचार बनेको छ। दिनहुँ यस प्रसंगमा टिप्पणी र प्रतिटिप्पणी आउने गरेका छन्। यसअघि हार्वाड अर्थशास्त्री मार्टिन फेल्डस्टिनले पिकेटीको तथ्यांक प्रयोगमा धेरै गल्ती औंल्याएका थिए। ‘मान्छे अनन्तकालसम्म बाँचिरहने हो भने पिकेटीले भनेजस्तै राष्ट्रिय आयलाई धनीहरूको सम्पत्ति थुप्रिने अनुपातले जित्दै जाने थियो र समाज असमानताले आक्रान्त हुन्थ्यो, तर त्यसो हुँदैन, फेल्डस्टिनले लेखेका छन्। पिकेटीले सही सैद्धान्तिक धरातलबाट विषयको उठान गरी गलत तथ्यांक प्रयोग गर्दै गलत निष्कर्षमा पुगेको उनको ठम्याइ छ। पिकेटीले भने तथ्यांक प्रयोगमा सुधारको स्थान सधंैं रहने भन्दै आफ्नो बचाउ गरेका छन्।
न्युयोर्क टाइम्समा एकै दिन पिकेटीको पुस्तकबारे कन्जर्भेटिभ डेभिड ब्रुक्स र प्रोग्रेसिभ पल क्रुगम्यानको लेख छापिएको छ। पिकेटीको पुस्तकले ९वञ्चितहरूका लागि० अवसरको विस्तार गर्नेभन्दा शिक्षित वर्गभित्रको वर्गीय संघर्षलाई मात्र प्रकाश पारेको ब्रुक्सले लेखेका छन्। क्रुगम्यानले भने कन्जर्भेटिभहरूले पुस्तकमा के लेखियो भन्दा कसले लेख्यो भन्ने चर्चामात्र गरेको बताएका छन्। ‘पिकेटी मार्क्सवादी हुन्, मार्क्सवादीले आम्दानी र सम्पत्तिको असमान वितरणबारे कुरा गर्नु नौलो होइन भन्दै उनले उठाएको प्रश्नलाई कन्जर्भेटिभहरूले खारेज गर्न खोजेका छन्, क्रुगम्यान भन्छन्। असमानताबारे प्रश्न उठाउने पिकेटी पहिलो अर्थशास्त्री होइनन्। ‘कन्जर्भेटिभहरूलाई पिकेटीले निदान गरेको समस्याको उपचारका लागि कर बढाइएला भन्ने डर छ, क्रुगम्यान लेख्छन्, ‘त्यसैले उनीहरू विचारमा नगएर व्यक्तिमा गएका छन्। कन्जर्भेटिभहरू पैसा नै सबथोक हो भन्छन्, पछिल्लो समय पैसा झनै प्रबल भएर आएको छ। तर, समाजमा हामी कसरी बोल्ने र व्यवहार गर्ने भन्नेबारेमा अझै पनि बुद्धिले महत्त्व राख्छ। यसपालि पिकेटीविरुद्ध खनिएको देख्दा कन्जर्भेटिहरूसँग त्यस्तो बुद्धि रित्तिएको क्रुगम्यानलाई लागेको छ। 

बक्स
पिकेटीका पाँच कुरा 
असमानताः सम्पत्तिमा प्राप्त हुने प्रतिफल आर्थिक वृद्धिभन्दा उच्च भएकाले असमानता बढ्दै जान्छ। अर्थात्, पुँजी भएकाहरूले कमाउने दर समग्र राष्ट्रिय उत्पादनको वृद्धिभन्दा उच्च हुन्छ। कुनै पनि मुलुकमा माथिल्लो १० प्रतिशतमा ९५ प्रतिशत सम्पत्ति थुप्रियो भने लोकतान्त्रिक संस्थाहरूले उचित तरिकाले काम गर्न कठिन हुन्छ।
अनिश्चितताः आय असमानता बढ्नेछ, विश्व जनसंख्या घट्नेछ र सम्पत्ति एकातिर गएर थुप्रिनेछ। पछिल्लो तीन शताब्दीमा १० गुणाको दरले बढेको छ। यस हिसाबले अर्को शताब्दीमा विश्व जनसंख्या ७० अर्ब पुग्लारु कसैले भन्न सक्दैन। मलाई थाहा छैन। जनसंख्या घट्नुपर्छ। 
असन्तुलनः फैलँदो असमानता आफैं सच्चिँदैन। यसलाई प्रोत्साहित गर्ने, दबाउने वा दुवै थोक गर्ने पद्धति रहेसम्म कुनै न कुनै तहको असमानता कायम रहन्छ। त्यसैले धनी मान्छेहरूले सम्पत्ति लुकाउन नसकुन् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सम्पत्ति रजिस्ट्री बनाउनुपर्छ। 

क्षतिपूर्तिः अमेरिकामा उच्च तहका व्यवस्थापक र कार्यकारीहरूको बढ्दो तलब सुविधाले विकृति ल्याएको छ। दस लाखको सट्टा एक करोड डलर तलब दिइयो भने उसको कार्यसम्पादन वा उत्पादकत्व त्यही अनुपातमा बढ्छ भन्ने छैन। त्यसैले उनीहरूलाई औसत तलबभन्दा सय वा दुई सय गुणा बढी दिनुपर्छ भन्ने छैन। 
कटौतीः आर्थिक उत्थानका नाममा गरिने खर्च कटौतीले असमानता अझै बढाउँछ। सरकारी ऋण तिर्नकै लागि शिक्षालगायतका प्राथमिकताका क्षेत्रबाट पैसा झिक्नु बुद्धिमानी होइन। शिक्षाको पैसा कटाउँदा हाम्रो भविष्य के होलारु युरोपले अहिले बुद्धिहीन काम गरिरहेको छ।

प्रकाशित: ३० जेष्ठ २०७१ २२:५१ शुक्रबार