अन्य

झड्केलो छोरा हत्या गर्ने पक्राउ

इलाम-पूर्वी गोदकमा अघिल्लो साँझ धारिलो हतियार प्रहार गरी झड्केलो छोराको ज्यान लिने यामबहादुर राई बिहिवार बिहान ४ बजे घटनास्थलबाटै पक्राउ परेका छन्। इलाम नगरपालिका–६ सिंहवाहिनी घर भई गोदकमा डेरा गरी बस्ने राई पहिलेदेखि बस्दै आएको भाडाको घरबाट पक्राउ परेका हुन्।


अघिल्लो साँझ १९ बर्षीय झड्केलो छोरा टासी शेर्पालाई टाउकोमा धारिलो हतियार प्रहार गरेर ज्यान लिएका राईलाई घरधनीकै सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको भोलिपल्ट साँझ खुसुक्क भाडाको कोठामा आएर सुतेको थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका हुन्।
बिहिवार बिहान ४ बजे पक्राउ परेका उनलाई अहिले फिक्कल चौकीबाट पशुपतिनगर लगिँदैछ। पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका इन्सपेक्टर गौतम थापाले हत्या अभियोगमा पक्राउ परेका राईमाथि म्याद थपेर अनुसन्धान गरि सजायका लागि जेल पठाइने बताए।
४९ बर्षीय राईले बाटोको आफूसँगै गोदक–५ मा भाडाको घरमा बस्ने झड्केलो छोरा शेर्पालाई स्थानीय नासपाते चोकमा धारिलो हतियार प्रहार गर्दा मृत्यु भएको थियो। टाउकोको पछिल्लो भागमा गहिरो चोट लागेका १९ बर्षीय शेर्पाको सदरमुकामस्थित जिल्ला अस्पतालमा मृत्यु भएपछि हत्यारा राईको खोजी तीव्र पारिएको थियो।

प्रकाशित: २९ जेष्ठ २०७१ ०३:४० बिहीबार