अन्य

एथलेटिक्सले चार राष्ट्रिय प्रतियोगिता गर्ने

काठमाडौं– नेपाल एथलेटिक्स संघले यस वर्ष चार राष्ट्रियसँगै क्षेत्रीय र जिल्लास्तरका प्रतियोगिता गर्ने भएको छ। चार महिनाअघि निर्वाचित नयाँ कार्यसमितिको हालै सम्पन्न दोस्रो बैठकले प्रतियोगिता आयोजनासहित अन्य विविध विषयमा निर्णय गरेको छ। वार्षिक कार्यक्रम सार्वजनिक गर्दै संघले मंसिर पहिलो साता जुनियर एथलेटिक्स र पुसमा खुला एथलेटिक्स प्रतियोगिता गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय खेलसामग्री उत्पादक कम्पनी एडिडासको प्रायोजनमा असोज/कात्तिकमा एडिडास १० किलोमिटर रोड रेस र गोल्डेन स्पि्रन्ट मिट आयोजना गर्नेछ।
संघले कात्तिक १६ र १७ गते क्षेत्रीय प्रतियोगिताको मिति तय गरेको छ। क्षेत्रीय प्रतियोगिता गर्न संघले हरेक क्षेत्रलाई ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ। त्यसअघि भदौ तेस्रो सातादेखि असोज पहिलो सातासम्म जिल्ला प्रतियोगिता सम्पन्न गरिसक्ने संघको योजना छ। संघमा ४० जिल्ला संघ आबद्ध छन्। 
११ बूँदे निर्णय सार्वजनिक गरेको संघले दक्षिण कोरियाको इन्चोनमा यसै वर्ष हुने १७औं एसियाली खेलकुदलाई मध्यनजर गर्दै एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणाको अध्यक्षतामा ५ सदस्यीय खेलाडी छनोट समिति गठन गरेको छ। 
विवादका कारण स्थगित नेपाल–जर्मन एथलेटिक्स प्रोजेक्ट पुनः सञ्चालन गर्न संघले जर्मन सरकारसँग पहल थालिसकेको छ। सम्भवतः यही वर्षबाट केही कार्यक्रम सुरु हुने संघका उपाध्यक्ष एवं मुख्य प्रशिक्षक राणाले जानकारी दिए।

प्रकाशित: २८ जेष्ठ २०७१ १९:३१ बुधबार