सशस्त्र प्रहरीको टोलीले विराटनगरमा महेन्द्रा डिष्टीब्युटर्स प्रालिका म्यानेजिङ डाइरेक्टर बताइएका रंजितकुमार चौधरी र उनका अंगरक्षक संजय राय अन्य तीन सहयोगी सहित पक्राउ परेका हुन्।
सशस्त्र मुख्यालयका अनुसार बीआर ११ टी २४६५ नम्बरको टोयटा गाडीमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला प्रहरी टोलीले विराटनगर २१ स्थित विराटनगर भन्सार कार्यालय रानीको २ नम्बर ढाटमा उनीहरुलाई पक्राउ गरेको थियो।
उनीहरुको साथवाट पेस्तोल र १० राउन्ड गोली फेला परेपछि सशस्त्र प्रहरीले जोगवनीवाट भारतको पुणिया विहारका रंजितकुमार ,संजय सँगै पटना विहारका विवेक सिंह र आशिष गुप्ता तथा भारतको कटियारका शक्तिपुर महतोलाई पक्राउ गरेको हो। पक्राउ परेका शक्तिपुर महतो सो गाडीका चालक हुन। प्रहरी स्रोतका अनुसार पक्राउ परेका रञ्जितकुमारले आफू महेन्द्रा डिस्ट्रिबुटर्स प्रालिको मेनेजिङ डाइरेक्टरको रुपमा चिनाउँदै हतियार वैध भएको र आफ्नो सुरक्षाको लागि अंग रक्षकले बोकेको बताएका थिए।
एपीएफ टोलीले उनीहरुको साथवाट ०७२९८/२००४ नम्बरको ७ प्वइन्ट ६५ एमएम इटालियन पेस्तोल र गोली, खोका र म्यागजीन फेला परेको जानकारी दिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरीले उनीहरुको साथबाट १ लाख ११ हजार भारतीय रुपैयाँ समेत फेला पारेका थिए।
पक्राउ गरे पनि कारवाही र मुद्धा प्रकृया अगाडि बढाउने अधिकार नभएकाले सशस्त्रले पक्राउ आरोपी र फेला परेको हतियार स्थानीय प्रहरीलाई बुझाएको छ।
प्रकाशित: २५ जेष्ठ २०७१ ०२:५८ आइतबार